कसरी जोगाउँछ प्रि–हस्पिटल तथा आकस्मिक सेवाले बिरामीको ज्यान ?

470
Shares

आकस्मिक स्वास्थ्य सेवा भन्नाले आकस्मिक घटना वा आपतकालीन अवस्था परी जीवन जोखिमयुक्त अवस्थामा रहेका व्यक्तिहरुको जीवन जोखिममुक्त गर्न, जीवन वा अंग गुम्नबाट बचाउन आवश्यकताअनुसार दिनुपर्ने प्रारम्भिक तथा तत्काल सेवा हो । यस्तो सेवा कुनै पनि व्यक्तिलाई, कुनै पनि समयमा र कुनै पनि स्वास्थ्य समस्यामा चाहिन सक्छ, जसका लागि अस्पतालहरु आकस्मिक स्वास्थ्य उपलब्ध गराउन चौबीसै घण्टा सक्रिय रहन्छन् ।


बिरामीलाई अस्पताल पु¥याउनुअघि स्वास्थ्य सेवा आवश्यक पर्न सक्छ, जसलाई ‘प्रि–हस्पिटल केयर’ भनिन्छ । यसमा बिरामीहरु जुन ठाउँमा छन्, त्यहीँ नै आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराइन्छ । जस्तो– सडक दुर्घटनामा परेकाहरुलाई पीडा कम गर्ने, रगत रोक्नेजस्ता सेवा घटनास्थलमै दिने र त्यहाँबाट एम्बुलेन्स या हेलिकोप्टरबाट अस्पतालसम्म ल्याइन्छ ।
इमर्जेन्सी केयरमा अन्य अस्पतालको तुलनामा नर्भिकको ठूलो सबल पक्ष नै यहाँको टिम हो ।

एमडी तहका चिकित्सक, मेडिकल अफिसर, नर्सिङ तथा सिनियर प्यारामेडिक टिम इमर्जेन्सी सेवामा हुनुहुन्छ । विभागभित्रको समन्वय र एक–अर्काको इशारालाई बुझ्ने उत्कृष्ट क्षमता टिममा छ, जुन नर्भिकको ठूलो सबल पक्ष हो, जसलाई अरु विभागका चिकित्सकले सहयोग गर्ने भएकाले काम गर्न सजिलो छ र बिरामीको स्वास्थ्यमा पनि चाँडो सुधार हुने गरेको पाइएको छ ।


आकस्मिक विभाग पनि छुट्टै सब–स्पेसियालिटी क्षेत्रको रुपमा विकास भइसकेको छ, जहाँ एमडी तथा फेलोसिप गरेका, इमर्जेन्सीमै डीएम गरेका चिकित्सक, मेडिकल अफिसरहरु, नर्सिङ तथा दक्ष प्यारामेडिक कार्यरत हुन्छन् । इमर्जेन्सीमा गरिने प्राथमिक उपचारपछि अन्तरविभाग समन्वय जस्तो– मुटु, नसा, हाडजोर्नी, रेडियोलोजीजस्ता विभागको एकदमै राम्रो समन्वय र सहयोग चाहिने हुन्छ ।

बिरामीमा कति चाँडो सुधार आउने, नआउने भन्ने विषय यस्तै कुरामा निर्भर रहन्छ ।
प्रि–हस्पिटल तथा आकस्मिक सेवा:
हामी फोन आएकोे १० मिनेटभित्र एम्बुलेन्ससहितको टिम बिरामी भएको ठाउँमा पुगिसकेका हुन्छौं । त्यहाँ पुगेपछि टिमले पहिले बिरामीको अवस्था कस्तो छ भनेर हेर्छ । बिरामीलाई स्थिर (स्टाबलाइज) बनाउँछ र अस्पतालको आकस्मिक (इमर्जेन्सी) विभागमा जानकारी गराउँछ । त्यसो हुँदा कस्ता खालका बिरामी आउँदै छन्, कस्तो खालको तयारी गर्नुपर्छ, कुन विभागका जानकारी गराउनुपर्छ र आईसीयुमा कस्तो खालको सपोर्ट सिस्टम चाहिन्छ भन्ने समन्वय गर्न समय हुन्छ र सजिलो पनि हुन्छ । त्योभन्दा महत्वपूर्ण कुरा प्रि–हस्पिटल केयरले बिरामीको ज्यान जोगाउँछ । यस्तो महत्वपूर्ण समय–गोल्डेन आवरमा दिने स्वास्थ्य सेवा महत्वपूर्ण हुन्छ र अस्पतालसम्म सुरक्षित साथ पु¥याउन सकिन्छ ।
हेलिकोप्टर उद्धार सेवा:
प्रि–हस्पिटल केयरअन्तर्गत नर्भिकले हेलिकोप्टर उद्धार सेवा पनि सञ्चालन गर्दै आएको छ । गतवर्ष हामीले १ सयजनाको हेलिकोप्टर उद्धार ग¥यौं, जुन समग्र उद्धारको करिब १५ प्रतिशत हुन आउँछ । यस्तो उद्धारमा डाक्टर, प्यारामेडिक तथा नर्सको टिम, भेन्टिलेटर तथा कार्डियाक मनिटरजस्ता आवश्यक उपकरण, अस्पताल व्यवस्थापनको समन्वय र हेलिकोप्टर कम्पनी सबैको सहयोग उत्तिकै महत्वपूर्ण हुन्छ ।
हेलिकोप्टर उद्धारको सेवा लिन इमर्जेन्सी सेवामा फोन गर्न सकिन्छ । यस्तो बेला बिरामीको परिचय, अवस्था, बिरामी उद्धार गर्न सकिने अवस्थामा हो कि होइन, बिरामीलाई अस्पतालसम्म पु¥याउँदा जोखिम छ कि छैन जस्ता आधारभूत सूचना भने आवश्यक हुन्छ । साथमा हेलिकोप्टरको उपलब्धता, मौसमको अवस्था, समयजस्ता कुरा महत्वपूर्ण हुने नै भए । हामीले प्रायः साँझ परेपछि भने विमानमार्फत उद्धार गर्ने गरेका छौं ।
कस्ता बिरामी आउँछन् ?
आकस्मिक विभागमा सबै खालका बिरामी आउँछन् । फोक्सो, मिर्गौलालगायतका कारणले श्वास फेर्न गाह्रो भएकाहरु, मुटु, स्ट्रोक, न्युरो, स्त्री तथा प्रसूति तथा मौसमी बिरामी (डेंगी, ज्वरोलगायत) हरु आउने गर्छन् । सबैभन्दा बढी सडक दुर्घटनाका बिरामी आकस्मिक विभागमा आएका हुन्छन् । हामी बिरामीको गम्भीरताअनुसार उपचारको प्राथमिकता निर्धारण गर्ने गर्छौं । तर, कुनै पनि स्वास्थ्य समस्या भए, आफूलाई अप्ठेरो भए, अस्पतालको इमर्जेन्सी सेवा लिन ढिला गर्नुहुँदैन ।
(डा. प्रधान नर्भिक अस्पतालको आकस्मिक सेवाका कन्सल्टेन्ट हुनुहुन्छ ।)