काठमाडौं।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शंखधर साख्वाः लोककल्याणकारी र परोपकारका शिखर पुरुषका रुपमा रहेको उल्लेख गरेका छन् ।
वाग्मती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको आयोजना र राष्ट्रिय विभूति शंखधर साख्वाःप्रतिष्ठान मध्यपुर, थिमीको संयोजनमा मंगलबार राष्ट्रपति निवासमा भएको शंखधर दिवस रजत वर्ष समारोहको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्।साख्वाःको योगदानको स्मरणले सबैलाई सामाजिक सेवामा लाग्ने प्रेरित गर्ने पनि राष्ट्रपति पौडेलको भनाई रहेको छ ।
नेपाल र नेपालीको ऐतिहासिक, धार्मिक, सांस्कृतिक सामिप्यसंग जोडिएको नेपाल संवत् देशको मौलिक तथा गौरवपूर्ण संवत् रहेको बताउँदै राष्ट्रपति पौडेलले सो संवत्को प्रयोगलाई व्यापक बनाउनुपर्ने खाँचो औँल्याए । बहुभाषिक, बहुसांस्कृतिक नेपालको विविधता समेटिएको राष्ट्रिय एकता प्रवद्र्धन गर्न पनि नेपाल संवत्को महत्वपूर्ण भूमिका रहेको राष्ट्रपति पौडेलको भनाई रहेको छ ।
सो अवसरमा वाग्मती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शंखधर साख्वाःले १ हजार १ सय ४५ वर्ष अघि नेपाल संवत् चलाउनु अघि गरिब किसान, मजदुरको ऋण तिनुभएकोले उहाँ महान क्रान्तिकारीको संज्ञा दिए। साख्वाःऋणले थिचिएका, दुःखीहरूको घाउमा मल्हम लगाउन महामानव रहेको उल्लेख गर्दै प्रदेश प्रमुख देवकोटाले विविधता बोकेको नेपालमा नेपाल संवत् इतिहासकै गौरवपूर्ण संवत रहेको बताए। सो अवसरमा उनले नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिन र शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गर्ने अभियान चलाउन सबै अभियन्ताप्रति आभार प्रकट गरे।
वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले राष्ट्रिय विभूति शंखधर साख्वाःको योगदानलाई फैलाउन सरकारले चालू आर्थिक वर्षमा विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको बताए। उनले चालू आर्थिक वर्षमा मध्यपुर शंखधर पार्क र प्रतिष्ठानको लागि ४० लाख, रामघाटमा शंखधरको सालिक निर्माणको लागि २० लाख र हेटौडामा शंखधर पार्कको लागि ७५ लाख रुपैयाँ विनियोजित गरेको पनि मन्त्री लामाले बताए। वाग्मती प्रदेशभित्र अमूर्त संस्कृति, सम्पदाको संरक्षण र प्रवद्र्धन, नेपाल भाषा र तामाङ भाषाको विकासको लागि सरकारप्रतिबद्ध रहेको पनि उनले बताए।
वाग्मती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले राष्ट्रिय विभूति शंखधर साख्वाःको योगदानलाई फराकिलो बनाउनुपर्ने खाँचो औंल्याए। साख्वाःले काठमाडौंका जनताको ऋणमोचन गरी नेपाल संवत् प्रचलनमा ल्याएको इतिहासको स्मरण गर्दै मन्त्री ठकुरीले भने ‘ सामाजिक न्यायको इतिहासमा अविस्मरणीय साख्वाःको योगदानलाई फराकिलो बनाउन उहाँको नाउँमा राष्ट्रिय गौरवको आयोजना र विभिन्न परियोजना सञ्चालन गर्नुपर्दछ ।’
वाग्मती प्रदेश सरकारले साख्वाःको देनलाई व्यापक बनाउने विभिन्न नीति तथा योजना ल्याउने पनि मन्त्री ठकुरीले उद्घोष गरे। सामाजिक समानता र एकताको लागि साख्वाःले पुर्याउनुभएको योगदानको स्मरणले सबैलाई सामाजिक सेवा लाग्न उत्प्रेरित गर्ने पनि मन्त्री ठकुरीको विश्वास रहेको छ ।
सो अवसरमा प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले शंखधर दिवस तथा नेपाल संवत् नयाँ वर्प मनाउने कार्य तीन वटै सरकार गर्नुपर्नेमा जोड दिए। शंखधरको योगदान फैलाउने कार्यले मानिसमा सामाजिक भावना वृद्धि गर्र्न र नेपाल संवत्ले राष्ट्रियता वृद्धि गर्ने बताउँदै अध्यक्ष श्रेष्ठले यस कार्यमा संघ, प्रदेश र स्थानीय सरकारले अग्रसरता देखाउनुपर्ने खाँचो औँल्याए।
प्रतिक्रिया