तयारी तीव्र, विगतमा भएका सम्झौता कार्यान्वयनमा जोड दिइने

सन्दर्भ प्रधानमन्त्रीको चीन भ्रमण

2.07k
Shares

काठमाडौं ।


आसन्न चीन भ्रमणको तयारीमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणलाई फलदायी र उपलब्धिमूलक बनाउन सरकारका सबै निकायले तीव्र रूपमा एजेन्डाहरू तय गर्न थालेका छन् ।


प्रधानमन्त्री ओलीको भ्रमणमा के के एजेन्डा उठाउने भन्ने विषयमा परराष्ट्रमन्त्री डा.आरजु देउवाले नेपालस्थित चिनियाँ राजदूत छन सोङसँग भेटवार्ता गर्नुभएको छ । परराष्ट्रमन्त्री देउवा र राजदूत छनबीच भएको भेटवार्ता आसन्न प्रधानमन्त्रीको चीन भ्रमणलाई लक्षित गरी भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।


अहिले परराष्ट्र र अर्थमन्त्री भ्रमणलाई फलदायी बनाउन विभिन्न मन्त्रालयका सचिव तथा मन्त्रीसँग भेटघाट गरी नेपालले भ्रमणका दौरानमा उठाउने एजेन्डाको बारेमा छलफलमा व्यस्त रहनुभएको नेकपा एमालेका नेता विष्णु रिजालले जानकारी दिनुभयो । विगतमा नेपाल र चीनबीच भएको सहमतिहरूको अवस्थाका बारेमा गम्भीर रूपमा छलफल भइरहेको तथा चीनले विगतदेखि नै आर्थिक रूपमा सहयोग घोषणा गरेको तर कार्यान्वयमा नआएकाले त्यस विषयमा समेत यसपटक कुराकानी हुने नेता रिजालले नेपाल समाचारपत्रसँगको कुराकानीमा बताउनुभयो ।


चीनले प्रथम राष्ट्रपति डा. रामवरण यादवदेखि पछिल्लोपटक चीन भ्रमण गर्नुभएका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमणका दौरानमा प्रतिबद्धता व्यक्त गरिएको झन्डै ८५ अर्ब नेपाली रुपियाँ अहिलेसम्म प्राप्त नभएकाले त्यस विषयमा समेत यसपटक एजेन्डा हुन सक्ने रिजालले जानकारी दिनुभयो । चीनले नेपालको विकासमा सहयोग पु¥याउन विभिन्न परियोजना सञ्चालन गरेको भए पनि त्यसको कार्यान्वयनको अवस्था भने सन्तोषजनक नभएकाले प्रधानमन्त्रीको भ्रमणको दौरानमा एजेन्डा बन्न सक्ने आँकलन गरिएको छ ।


चीन सरकारले नेपालको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा परियोजना नै बनाएर सहयोग गर्नुका साथै चीन–नेपाल जोड्ने रेलमार्ग, काठमाडौं उपत्यकाको चक्रपथको बाँकी निर्माणलगायतका विषयमा समेत भ्रमणका दौरानमा एजेन्डा बनाउन सरकारका विभिन्न तहले छलफल गरिरहेको छ ।


यसपटकको चीन भ्रमणका दौरानमा नेपालले चीन सरकारको ऋण सहयोगमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सहयोगमा परिणत गरिदिन आग्रह गर्ने भएको छ । यस विषयमा औपचारिक रूपमा निर्णय नभए पनि अनौपचारिक रूपमा भने नेपाल सरकारले चिनियाँ पक्षलाई जानकारी गराइएकाले पनि यो भ्रमणको एजेन्डा बन्न सक्ने बताइएको छ ।

नेपाल र चीनबीच सम्झौता भएको बीआरआई परियोजनालाई कसरी अघि बढाउने भन्ने विषयमा समेत यसपटकको भ्रमणमा छलफल हुने नेता रिजालले जानकारी दिनुभयो । सन् २०१७ मे १२ मा नेपाल र चीनबीच बीआरआई परियोजना नेपालमा लागू गर्ने सम्झौता भएको थियो । तत्कालीन प्रधानमन्त्री ‘प्रचण्ड’ले उक्त परियोजना लागू गर्ने विषयमा सम्झौता गर्नुभएको थियो ।
यसपटकको भ्रमणका दौरानमा के कस्ता विषय उठान गर्ने भन्नेबारे अर्थमन्त्री विष्णु पौडेलले विभिन्न सरोकारवाला निकायसँग छलफल गर्नुभएको छ ।

भ्रमणको दौरानमा नेपालले उठान गर्ने विषयमा चिनियाँ पक्षले स्वाभाविक रूपमा चासो राख्ने भएकाले नेपालस्थित चिनियाँ दूतावासका इकोनोमिक्स काउन्सिलर र अर्थमन्त्री पौडेलबीचसमेत भेट भएको अर्थ मन्त्रालयले जनाएको छ ।
नेपालले विगतमा भएका सहमति कार्यान्वयनमा यसपटक जोड दिने भएको छ । चीनले पनि नेपालसँग केही विषयमा साथ खोज्ने भएकाले त्यसको तयारी पनि तीव्र रूपमा भइरहेको बताइएको छ ।

अहिले मिडियामा आएजस्तो प्रधानमन्त्रीको चीन भ्रमणको कुनै तयारी नभएको भन्ने विषयमा नेता रिजालले असहमति जनाउनुभयो । उहाँले भन्नुभयो– ‘भ्रमणको विषय भनेको दुई देशबीच हुने सम्झौता हो यसलाई मिडिया अघि राखेर गर्ने विषय होइन अहिले तयारी हेर्दा भ्रमण फलदायी हुनेमा कुनै शंका छैन ।’