जापानी समाजसेवी योजीको सहयोगमा ३०२ जना नेपालीले आँखा देखे 


काभ्रे। 

काभ्रेको  भुम्लु गाउँपालिका वडा नं ८ स्थित प्रकाश उच्च माध्यमिक विद्यालयमा जापानी समाजसेवी योजी माचुदाको सहयोगमा यही मंसिर १ र २ गते संचालित २ दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।  उक्त शिविरमा ९ बर्षदेखि ८७ वर्ष सम्मकाबिरामीले आँखा परीक्षण गराएका थिए । 

शिविरमा ३ सय २ जनाको आँखा परीक्षण गर्दा ८० जनामा नजिकको देख्ने समस्या भएको र १ सय ७० जनाको टाढा देख्ने लगायतका समस्या देखिएको थियो ।

 उक्त शिविरमा नजिकको देख्न समस्या हुनेले (रिडिङ) परीक्षणकै क्रममा चस्मा लिएका थिए ।  टाढा देख्न समस्या भएकालाई यही मंशिर ८ गते शनिवार योजी माचुदाको समूहले चस्मा उपलब्ध गराउने भएका छन् । 

आँखा शिविरमा पालिकाका अध्यक्ष प्रेम बहादुर भुजेल, प्रकाश उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि नारायण साह, समाजसेवी  प्रेम लामा, ८ नं वडाका वडा अध्यक्ष मोतिलाल तामाड., समाज सेवी तथा फोटो पत्रकार दिवाकर मास्के, विद्यार्थी, स्वयमसेवक, स्थानीय बासिन्दा लगायतको समूहले जापानी समाज सेवीको समूहलाई प्रकाश उच्च माध्यमिक विद्यालयमा भब्य स्वागत गरेका थिए । 

नेपालीको मायाले ओतप्रोत भएका जापानी समाजसेवी योजी माचुदा आफू उमेरहदका कारण सेवाबाट अवकाश भएपनि नेपालीहरुप्रतिको माया र सद्भावलाई निरन्तरता दिन सकियोस भन्दै साथमा मेघानेनो माचुदा कम्पनीका मेनेजर अर्थात् आफ्नै छोरा तासिकी माचुदालाई लिएर आएका थिए । उनको साथमा समाजसेवी किकुची योसिए पनि सहभागी भएका थिए । माचुदाको सेवा भावको पालिका अध्यक्ष भुजेल, प्रधानाध्यापक साह र वडा अध्यक्ष तामाङले मुक्तकण्ठले प्रशंसा गर्दै जापान र नेपाल बीचको सम्बन्धलाई निरन्तर रहिरहने विश्वास व्यक्त गरे । 

तस्बिरहरु : दिवाकर मास्के