नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभागको आयोजनामा बुधबार कलाकार इन्द्रप्रसाद शिल्पकार र रविता शिल्पकारसँग ललितकला संवाद सम्पन्न भएको छ।
संवाद मुख्यतः युनेस्कोले प्रदान गर्ने रेकोजिनेशन फर सस्टेनेबल डेभलपमेन्ट अवार्ड २०२३ जित्न सफल भक्तपुरस्थित सिकमी छेमा केन्द्रित रह्यो।
कलाकारद्वय इन्द्रप्रसाद र रविताले परम्परागत नेवारी वास्तुकलाअन्तर्गत मौलिक शिल्पकला तथा आधुनिक प्रविधिको सर्वोत्तम उदाहरणका रूपमा लिन सकिने यस सिर्जनाको प्राविधिक र कलात्मक पक्ष निर्माण गरिनुको उद्देश्यलगायत विषयमा जानकारी गराएका थिए।
कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ललितकलाभित्र मुख्यरूपमा ध्यानाकर्षण कम हुने वास्तुकला क्षेत्रप्रति प्रतिष्ठान र राज्यले ठोस कार्यक्रम ल्याउनुपर्ने बताए। प्रतिष्ठानका वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले शिल्पकार परिवारले वास्तुकलाको नमुनाका रूपमा बनाएको घर वास्तवमै नमुना रहेको चर्चा गरे।
कार्यक्रममा प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काप्mले ‘थुम्केली’, परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामा, लोककला विभाग प्रमुख प्रदीप अधिकारी, समसामयिक चित्रकला विभाग प्रमुख सञ्जय वान्तवा राई, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य त्रैलोक्यमान बनेपाली, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्यद्वय प्रदीप शाक्य, चन्द्रकुमार राई, अग्रज कलाकार गौतमरत्न तुलाधरलगायत सहभागी थिए।
प्रतिक्रिया