ललितपुर ।
प्रधानमन्त्री के.पी शर्मा ओलीले धर्मका नाममा कुनै विभाजन हुन नहुने बताउनुभएको छ । ललितपुरका बहाःबहीहरूको छाता संगठन बौद्ध विहार संघ ललितपुरको शनिवार पुल्चोकस्थित अक्षयेश्वर महाविहारमा आयोजित ४९औं वार्षिकोत्सव तथा स्वर्ण जयन्ती वर्ष शुभारम्भ कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले भारतमा अहिले पनि हिन्दु कट्टरवादीका कारण बौद्ध धर्मावलम्बीहरूले कष्ट व्यहोर्नुपरेको भन्दै नेपालमा त्यस्तो नभई सहिष्णुता कायम रहेकाले यसलाई कामय राख्दै अहिंसा, शान्ति र एकता कायम राख्नुपर्नेमा जोड दिनुभयो । ‘धर्मका नाममा कुनै विभाजन हुनुहुँदैन, धर्म एकता र शान्तिका लागि हो, बुद्धको दर्शन नै शान्ति, अहिंसा र मानवता हो, कुनै जीवन प्रतिहत्या हिंसा नगर भन्ने हो’ –प्रधानमन्त्रीले भन्नुभयो । उहाँले बुद्ध धर्मका शिष्यहरू नै यस धर्मको रक्षक हुन् भन्दै हामीले बुद्ध दर्शनका लागि युवाहरूलाई शिक्षादीक्षा दिनुपर्छ भन्नेमा जोड दिनुभयो ।
‘२ हजार छ सय वर्षअगाडि त्रिपिटक बनाएकाले बुद्धको शिक्षालाई अमर बनायो, आज पनि त्यही बेलाको परम्पराको संवाहकका रूपमा अगाडि बढिरहेको छ, हामी बुद्धिजम प्रतिकूलतासँग पनि जुधेर आएका छौं, यसलाई राजनीतिसँग जोड्नुहुँदैन, वैरभावमा बुद्धिजम छैन, करुणामा छ, जात र धर्मका नाममा छुट्टाउनु हुँदैन । हामी सबैले निःस्वार्थ भावले बुद्धका विचारलाई अवलम्बन गरौं’ –प्रधानमन्त्री ओलीले भन्नुभयो ।
उहाँले विभिन्न कार्यक्रममा वर्षैभरि बुद्धका शिक्षा, दर्शनहरू अगाडि बढाउन आग्रह गर्नुभयो । ‘पाँच वर्षअघि सन् २०१९ भियतनाममा भएको बुद्धिस्ट सम्मेलनमा भाग लिएको थिएँ, कोरोना नलागेको भए संयुक्त राष्ट्रसंघको समन्वयमा बौद्ध सम्मेलन नेपालमा हुन्थ्यो, तर त्यो अवसर टुटे पनि हामीले आगामी दिनहरूमा बुद्ध जन्मस्थलमा विभिन्न कार्यक्रमहरू गर्छौं’ –उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले मायादेवी मन्दिरभन्दा डेढ किलोमिटर पर बुद्ध जन्मस्थलमा ध्यानस्थल छैन भन्दै लुम्बिनीको संरक्षण भएन भनेर युनेस्कोले प्रश्न उठाउन थालेको छ भन्नुभयो । उहाँले लुम्बिनीको हामी संरक्षण गर्छाै भन्ने प्रतिबद्धतासहित आफू विश्व शान्तिको पक्षमा भएको मान्छे हुँ भन्नुभयो । ‘म बुद्धवादको अध्येता हैन, मन पर्ने व्यक्ति हुँ । विश्व शान्तिको पक्षमा भएको मान्छे हुँ’ –प्रधानमन्त्रीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले ४९औं वार्षिकोत्सवका अवसरमा बौद्ध क्षेत्रमा शिक्षालगायतका कार्यमा योगदान दिनुहुने डुडबहादुर वज्राचार्यलगायतका व्यक्तित्वहरूलाई सम्मानसमेत गर्नुभएको थियो । बौद्ध विहार संघ ललितपुरका अध्यक्ष नानीकाजी शाक्यले पुर्खाहरूले सिर्जना गरेको बुद्ध धर्मसम्बन्धी सम्पदाले पर्यटनमा उल्लेख्य योगदान दिएको बताउनुभयो ।
उहाँले राजनीतिक परिवर्तन र शासनसत्ताका कारण परम्परागत बौद्ध अभ्यास र अध्ययनमा ध्यान जान नसकेको भन्दै संघले सांस्कृतिक जागरण, वहाबहीहरूको संरक्षणमा विहार संघले काम गर्दै आइरहेको जानकारी गराउनुभयो । बौद्ध विहार संघको स्थापना वि.सं. २०३२ मंसिर १ गते हिरण्यवर्ण महाविहारमा भएको हो । संघमा ललितपुरका ३० वटा वौद्ध विहारहरूको प्रतिनिधित्व रहेको जानकारी अध्यक्ष शाक्यले दिनुभयो ।
प्रतिक्रिया