मौका नगुमाऔँ


राष्ट्रिय परीक्षा बोर्डले २१ वर्षपछि १३ लाख ३२ हजार विद्यार्थीलाई परीक्षा दिन पाउने व्यवस्था गरेपछि ठूलो राहत भएको छ। विभिन्न कारणले परीक्षा दिन छुटेका विद्यार्थीका लागि यो राम्रो मौका हो। विद्यार्थीले यस्तो मौका गुमाउनुहुँदैन । बोर्डले रोकिएका कक्षा ११ र १२ का सबै परीक्षा एकैपटक लिने भएको छ।

तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद् र त्यसपछि बनेको राप बोर्डले अन्तिम मौकास्वरुप एकैपटक परीक्षा सञ्चालन गर्न लागेको हो । राष्ट्रिय परीक्षा बोर्डको दुई साताअघि बसेको बैठकले परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। यो निर्णयपछि देशैभरका कक्षा ११ र १२ अध्यापन गराउने विद्यालयले उत्तीर्ण हुन नसकेका विद्यार्थीलाई खोजी–खोजी सम्पर्क गर्न थालेका छन्।


१२ कक्षा उत्तीर्ण हुन नसकेका कतिपय विद्यार्थीले रोजगारी गुमाएका छन्। सरकारी जागिरको माथिल्लो तहमा पुग्न बढुवा रोकिएको छ। कतिले त ११ र १२ को नक्कली प्रमाणपत्र पेस गरेर जागिर खाँदा जागिर गएको घटना दोहोरिएको छ। त्यसैले अब बोर्डले लिने परीक्षामा सुवर्ण मौका गुमाउनुहुँदैन। त्यसको लागि अनुत्तीर्ण भएका वा विभिन्न कारणले परीक्षा दिन नपाएका विद्यार्थीले परीक्षामा सहभागी हुनुपर्छ । बोर्डले मंसिर २७ गतेसम्म आवेदन दिन सूचना जारी गरिसकेको छ।

परीक्षा माघमा सञ्चालन गर्ने गरी तयारी गरेको छ । त्यसअघि आवेदन दिने परीक्षार्थीको संख्याको आधारमा परीक्षाको दिन तोक्ने तयारी बोर्डको छ। बोर्डले कुन सालमा कति विद्यार्थी अनुपस्थित वा अनुत्तीर्ण थिए भन्नेलगायतका विषयमा सबै तथ्याङ्क तयार गरिसकेको छ। तर सो तथ्याङ्क आवेदनको आधारमा घटबढ हुने आँकलन गरिएको छ। २०५६ देखि २०७७ सालसम्म १३ लाख ३२ हजार विद्यार्थीले परीक्षा दिन पाउने अनुमान बोर्डको छ।

परीक्षार्थीको संख्याको आधारमा चरणबद्धरुपमा परीक्षा दिन पाउने गरी तयारी थालेको छ। थोरै विद्यार्थी सहभागी भए एकै चरणमा र धेरै भए चार चरणमा गरी परीक्षा लिने तयारी बोर्डको छ । बोर्डले प्रश्नपत्र बैंकबाट प्रश्न तयार गरेको छ। सबै केन्द्रमा अनलाइनबाट प्रश्नपत्र पुग्नेछ । प्रश्न बैंक राखेको कारण दुई दशक पुरानो परीक्षा लिन सहज भएको बोर्डको भनाइ छ।

बोर्डका अनुसार २०५६ देखि २०७७ सालसम्मका विद्यार्थीले परीक्षा दिन पाउनेछन् । २०७८ सालदेखि परीक्षामा सहभागी विद्यार्थीले तीन वर्षसम्म पुनः परीक्षा दिन पाउने व्यवस्था छ। नयाँ पाठ्यक्रम लागू भएअघि सबै विद्यार्थीले परीक्षा दिन पाउने गरी व्यवस्था मिलाइएको छ।

कक्षा १२ का लागि रजिस्ट्रेसन नम्बरको शुरुका दुई अङक ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम तथा कक्षा ११ का लागि ५६ वा सोभन्दा बढी अनि ७६ वा सोभन्दा कम भएकालाई अन्तिम एकपटकको मौका परीक्षाको व्यवस्था गरेपछि सबैलाई राहत मिलेको छ। परीक्षा दिन नपाएका वा अनुत्तीर्ण भएका विद्यार्थीले मौका चुकाउनुहुँदैन। सरकारलाई धन्यवाद दिनै पर्छ।