पाटनमा रक्तदान गरेर मनाइयो हरिवंशको जन्मदिन


काठमाडौं ।

ख्यातिप्राप्त हास्यव्यग्यकार हरिवंश आचार्यको ६८औँ जन्मदिन सोमबार ललितपुरको पाटन दरबार क्षेत्रमा मनाइएको छ।
पाटनका शुभेच्छुकले आचार्यको सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै नेवारी परम्पराअनुसार सगुन खुवाएका थिए।

हरिवंशका जोडी अर्का ख्यातिप्राप्त हास्यव्यग्यकार मदनकृष्ण श्रेष्ठका साथमा किरण केसी, नरेन्द्र कंसाकार, शिवहरि पौडेललगायतको सहभागितामा सम्पन्न कार्यक्रममा हरिवंशलाई खादा ओढाई सगुण दिइएको थियो।

सो अवसरमा ललितपुर महानगरपालिका–१६ वडा कार्यालयको तर्फबाट वडाअध्यक्ष निर्मलरत्न शाक्यले आचार्यलाई सम्मानपत्र प्रदान गरे। खुल्ला ठाउँमा आचार्यको जन्मदिन मनाइरहँदा दरबार क्षेत्रमा घुम्न पुगेका विद्यार्थी तथा पर्यटकले समेत आचार्यलाई जन्मदिनको शुभकामना दिए।

वडाले तीन वर्षअघि कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिन मनाएको थियो। सोही अवसरमा रोटरी क्लब अफ ललितपुर, नेपाल अर्बुदरोग निवारण संस्था ललितपुर शाखा, मदनदेवी फाउन्डेसन, वडाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो। कलाकार आचार्यद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै रक्तदानको शुभारम्भ गरिएको थियो।