काठमाडौं ।
भैँसेपाटीको हनी ट्र्याप घटनाको दोषी देखिएपछि फरार तत्कालीन भैंसेपाटी प्रभागका प्रहरी निरीक्षक विनुकुमारी शाहीले घटनालाई अन्तै मोडदिन विभिन्न क्रियाकलाप गर्न गर्न थोलेकी छिन्। प्रहरीलाई नै चक्मा दिँदै फरार प्रहरी निरीक्षक शाहीले आफूमाथि अन्याय परेको भन्दै गृह मन्त्रालयमा उजुरी दिएकी थिइन्।
घटनामा शाहीको प्रत्यक्ष संलग्नता देखिएपछि असोज १८ मा निलम्बन गरिएको थियो । लगत्तै पक्राउ पुर्जी जारी गरेपछि उनी फरार छिन् । तर, शाहीले प्रतिवेदनमा खोट देखाउँदै ३ जना उच्च अधिकारीमाथि कारबाही हुनुपर्ने भन्दै उजुरी दिएकी थिइन्।
उजुरी दिएकामध्ये हनी ट्र्यापमा दोषी ठहर गर्दै प्रतिवेदन बुझाउने समितिका संयोजक एवं जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरहरि अधिकारीलाई समेत कारबाही गर्नुपर्ने माग गर्दै गृह मन्त्रालयमा उजुरी दिएकी थिइन्।
सोही उजुरीका आधारमा प्रहरीले केही सोधपुछ गरेको थियो।
आपराधिक क्रियाकलापमा संलग्न प्रहरी निरीक्षक शाहीले त्यसअघि दशैअघि बाडेगाउँमा आयोजना भएको एक रात्रिभोजमा समेत केही प्रहरीमाथि आफूलाई दुव्र्यवहार गरेको आरोप लगाउँदै उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा प्रहरी प्रधान कार्यालयले कार्यक्रममा सहभागी सबैलाई सोधपुछ गरिसकेको छ।
फरार सूचीमा रहेकी शाहीले आफू निर्दोष भएको साबित गर्न हुँदै नभएको विषयमा उजुरी दिएको खुलेको छ। उच्चस्रोतका अनुसार प्रहरी निरीक्षक शाहीले विभिन्न व्यक्ति परिचालन गरी आफू निर्दोष भएको प्रमाणित गर्न लागिपरेकी छन्। त्यसैले जिल्लाले दिएको प्रतिवेदनका आधारमा पक्राउ गर्न छाडेर गृह मन्त्रालयको निर्देशनमा थप छानबिन गर्न ललितपुर परिसरमा समितिले बुझाएको प्रतिवेदन केन्द्रीय अनुसन्धान ब्युुरो सीआईबीमा पठाइएको छ।
सीआईबीले अनुसन्धानमा लापरबाही गरेको हो वा होइन भन्ने विषयमा फेरि अनुसन्धान शुरू गरेको छ। घटनाले फरक मोड लिने गरी फेरि अनुसन्धान गर्न लागेको हो कि भन्ने आशंका उब्जिएको छ। परिसर ललितपुरले उक्त घटनाको अनुसन्धान मिसिल र पक्राउ गरिएका चारजना आरोपितलाई गएको बुधबार सीआईबीमा हस्तान्तरण गरिसकेको छ।
जस्तोसुकै सूक्ष्म घटनाको अनुसन्धान गरी तत्काल दोषी पक्राउ गर्न सफल भएको प्रहरीले शाहीलाई पक्राउ नगरी फेरि छानबिन शुरू गर्नु घटनालाई अन्तै मोड्न खोजिएको हुनसक्ने आशंका गरिएको छ। नत्रभने पक्राउ पुर्जी जारी भइसकेको शाहीलाई एकमहिना बितिसक्दा पनि किन पक्राउ गर्न सकेन ? भन्ने विषय प्रहरीवृत्तभित्रै प्रश्न उठेको छ। ललितपुर प्रहरीले सो घटना जिल्लाले मात्र हेरेर नपुग्ने भएपछि सीआईबी पठाएको जनाएको छ।
शाहीले बेग्लै घटनाको रिसइबी साँध्न ललितपुर प्रहरीले पूर्वाग्राही भएर अनुसन्धान गरेको उक्त अनुसन्धान तथा परिसरले बनाएको छानबिनमा पनि चित्त नबुझेको भन्दै गृह मन्त्रालयमा उजुरी दिइकी थिइन् । सोही विषयलाई आधार मानेर सीआईबीले अनुसन्धान गरेको हो।
प्रहरी प्रधान कार्यालयले एसएसपी दीपेन्द्र घर्ती क्षेत्री (जीसी) को नेतृत्वमा छानबिन समिति गठन गरेको छ। सोही समितिले ललितपुर परिसरले गरेको छानबिनको पुनः छानबिन शुरू गरेको हो। आरोपित शाहीले डीएसपी अधिकारीको समितिले सोधपुछका लागि बोलाउँदासमेत अटेर गरी बयान दिन इन्कार गरेकी थिइन् । सो घटनामा संलग्न रहेको आरोपमा शाहीकी सवारी चालक प्रहरी हवल्दार महेन्द्र हमाल, इटहरीकी सुष्मा विक, ताज स्लाम र भीमादेवी थापालाई पक्राउ गरेको थियो । अर्का आरोपित दर्शन पोखरेल फरार छन् ।
एक व्यवसायीलाई भैंसेपाटी प्रभागमा ल्याएर रकम बार्गेनिङ गरेको र उनीसँग ३० लाख रुपियाँ लिएर छाडिएको आरोप छ। उक्त रकम प्रहरीकै सोधमा भिमादेवीको खातामा जम्मा गरेका आरोप छ। सुष्मा विकलाई भेट्न इटहरी पुगेका ललितपुरका व्यवसायीलाई पछि उनीहरूले बलात्कारको मुद्दा लगाइदिने भन्दै रकम बार्गेनिङ गरेका थिए।
गृह मन्त्रालयले उनलाई असोज १८ गते निलम्बन गरेसँगै पक्राउ गर्न ललितपुर जिल्ला अदालतबाट पुर्जी जारी भयो, तर निलम्बनमा परेको ३८ दिन पुगिसक्यो, उनी पक्राउ परेकी छैनन्।
प्रतिक्रिया