स्याङ्जा।
लहरै रोपिएका सयपत्री फूलका बिरुवा । कुनैमा हाँगा हालेर झपक्क परेका, कुनै हलल बढेर ढल्न आँटेका बिरुवाको स्याहारमा व्यस्त देखिन्छिन् फूल व्यवसायी ४८ वर्षीय सरस्वती भण्डारी । भण्डारीले दसैँ तिहार अवधिमा सयपत्री फूल बिक्रीबाट ५ लाख आम्दानी गरेकी छन् । स्याङ्जाको चापाकोट नगरपालिका– १ बेलडाँडाका किसान सरस्वती-तुल्सीराम भण्डारीले सयपत्री फूल तथा माला बिक्रीबाट ५ लाख बढी आम्दानी गर्न सफल भएकी हुन्। उनीहरुले दसैँ तथा तिहारका अवधिमा माला १ हजार ८ सय ४५ गोटा र फूल १ हजार ३ सय ७६ केजी बिक्री गरेका हुन्।
भण्डारीले आफूले फूल खेतीबाट मनग्य आम्दानी गर्न सकिने देखेपछि गाउँका युवालाई वैदेशिक रोजगारीमा जानुभन्दा स्वदेशमै कृषिबाट मनग्य आम्दानी गर्न सकिने सल्लाह दिन्छिन् । आफूहरु श्रीमान्, श्रीमती र बुहारीसहित फूल खेतीमा लागिरहेको बताउँदै भण्डारीले भनिन्, “जग्गा बाँझो छाडेर विदेश जानुभन्दा स्वदेशमै बसेर यस्तै फूल खेती गर्न सके आयआर्जनको बलियो आधार हुने अवस्था रहेको छ ।” फूल उत्पादनका लागि यहाँको माटो उपयुक्त रहेको उनको भनाइ छ । यहाँ उत्पादित फूल विदेश निर्यात गरेर पनि आम्दानी गर्न सक्ने सम्भावना रहेको छ ।
यस बर्ष फूल बिक्रीबाट ३ लाख ४४ हजार र माला बिक्रीबाट १ लाख ४७ हजार ६ सय गरी कूल ४ लाख ९१ हजार ६ सय आम्दानी गरेको उनले बताइन् । भण्डारीले फूलका थुङ्गा प्रतिकेजी २ सय ५० देखि ३ सय र माला प्रतिगोटा १ सय ५० सम्म बिक्री गरेकी हुन् । यहाँ उत्पादन भएको फूल तथा माला भैरहवा, नारायणगढ, बर्दघाटलगायतका बजार तथा स्थानीयस्तरमा पनि खपत भएको उनले बताइन् । “माग भएअनुसार माला तथा फूल उपलब्ध गराउन सकेनौंँ” उनले भनिन् , “सयपत्रीको व्यावसायिक उत्पादन तथा बजारीकरणमा सहज भयो, बजार राम्रो पायौंँ ।” बोटमा फूल फुल्ने क्रम जारी रहेको र मङ्सिरको महिनाभर उत्पादन लिन सकिने उनले बताइन् । यहाँ उत्पादन भएको फूलको माग भैरहवाबाट आएकाले केही दिनमै पठाउने तयारी भएको ब्यवसायी भण्डारीका छोरा रामचन्द्र भण्डारीले बताइन् ।
पेसाले कृषि प्राविधिक अध्ययन गरेका रामचन्द्रले फूलमा प्राविधिक पक्ष र बजारीकरणमा आमालाई सघाउँदै आएका छन् । “फूलका बोटबाट अझै उत्पादन लिन सकिन्छ” रामचन्द्रले भने, “अब उत्पादन हुनेमध्येको केही फूलको माग भईआएको र केही स्थानीयस्तरमा हुने विवाह, व्रतबन्ध, पूजाआजालगायतका धार्मिक तथा मेला महोत्सवहरुमा खपत हुनेछ ।” दसैँ तिहारको अवधिमा फूलको ब्यापारबाट झण्डै ५ लाख आम्दानी भएको र अब बिक्री हुने फूलबाट झण्डै २ लाख आम्दानी लिन सकिने दाबी रामचन्द्रको छ । बाँदरले अन्नबाली नष्ट गरिदिएपछि भण्डारीले विकल्पको रुपमा फूलखेती थालेका हुन् । फूलमा चापाकोट नगरपालिका र आसपासका गाउँ-नगरलाई आत्मनिर्भर गराउने उद्देश्यले फूल खेतीको क्षेत्र विस्तारको योजना रहेको भण्डारीले बताए । “फूल खेतीबाट हुने आम्दानी राम्रो छ, सिजनमा लाखौँको फूल बिक्री भइरहेको छ”, उनले भने ।
खेतबारीमा लगाएको अन्नबाली बाँदरले सखाप पारेपछि विकल्पको रुपमा फूल खेती गरेका भण्डारीले यसवर्षदेखि सयपत्री फूलको व्यावसायिक उत्पादन थालेका हुन् । “विगतमा मकै, गेडागुडी, मौसमी तथा बेमौसमी तरकारीसहितका अन्नबाली उत्पादन गर्दै आएका थियौँ” उनले भने, “पछिल्ला वर्षमा बाँदरले अन्नबाली सखापै पार्न थालेपछि अन्नबाली लगाउन छाडेर विकल्पको रुपमा फूल खेती थालेका हौंँ ।” भण्डारीले दसैँ, तिहारलाई लक्षित गरेर २ हजार बिरुवा सयपत्रीका फूल रोपेका थिए । स्थानीय जलपादेवी आधारभूत विद्यालयका प्रधानाध्यापकसमेत रहनुभएका सरस्वतीको श्रीमान् तुल्सीराम पनि विकल्पको रुपमा प्रयोग गरेको फूलखेतीमा बाँदरले क्षति नपु¥याएकाले आगामी वर्षदेखि अझै ठूलो परिमाणमा फूलको व्यावसायिक उत्पादन गर्ने तयारीमा रहेका छन् ।
भण्डारीको परिवारलाई घाम उदाएदेखि अस्ताएसम्म फूलबारीमा काम गर्न भ्याइनभ्याई हुन्छ । सरस्वतीले भनिन्, “फूलको हेरचाहमै दिन बित्छ, बिहान उठेदेखि नै फूलमा पानी हाल्यो, गोडमेल ग¥यो समय बितेको पत्तै हुँदैन ।” तिहारको बेलामा मात्र नभई अन्य समयमा पनि फूलको माग हुने गर्दछ । फूल राम्रो देखेर जिल्लामा आयोजना हुने जुनसुकै कार्यक्रममा पनि फूलका लागि निरन्तर फोन आउने गरेको सरस्वतीले भनिन, “यसरी आएको फोन र फूलले बजार पाउँदा पुष्प व्यवसायमा अझ उत्साहित बनाएको छ ।”
भण्डारीले विवाह, पूजा, विभिन्न सङ्घसंस्थाको औपचारिक तथा अनौपचारिक कार्यक्रममा उत्पादन गरेको सयपत्री फूलको माला खपत हुने गरेको बताइन् । “सार्वजनिक कार्यक्रममा अतिथि सत्कारका लागि खादाभन्दा मालाको माग बढ्दो छ,” उनले भनिन, “उत्पादनले बजार नपाउने चिन्ता छैन, मागअनुसार पु¥याउनै सकिएको छैन ।” पुष्प खेतीबाट पर्याप्त आम्दानी हुँदैन, बजार छैन भन्नेका लागि भण्डारी परिवार एक उदाहरण बनेका छन् ।
बजारमा मालाको अभाव देखिनु नेपाली किसानले व्यावसायिकरुपमा पुष्प खेती नगर्नुको उपज भएको भण्डारीको भनाइ छ । “कहिलेकाहीँ काम धेरै भएका बेला ज्यालामा पनि खेताला लगाउने गरेकी छु”, उनले भनिन्, “एक्लै भए पनि काम गर्न आनन्द लाग्छ, ढकमक्क फुलेका फूलको सुगन्धले एक्लोपनको आभास नै गराउँदैन ।” भण्डारी परिवारले आफूहरु जस्तो किसानलाई राज्यले कुनै किसिमको सहयोग नगरेको गुनासो गर्छन् । प्राविधिक सहयोगका साथै केही अनुदानको बन्दोबस्त राज्यस्तरबाट भए अरु पनि किसान व्यावसायिक फूल खेतीतर्फ आकर्षित हुने धारणा छोरा रामचन्द्रको छ ।
प्रतिक्रिया