मेनुकाको तेजस्वी अप्सरा सार्वजनिक


काठमाडौं ।

गायिका मेनुका पौडेलको स्वरमा तेजस्वी अप्सरा बोलको गीत सार्वजनिक गरिएको छ। नेपाल सांगीतिक संघ र गीतकार संघ नेपालले हालै राजधानीमा आयोजना गरेको कार्यक्रममा गीतकार तथा साहित्यकार कालीप्रसाद रिजालले गीत सार्वजनिक गरेका हुन्।

मनोज खड्काको शब्द रचना, कल्याण सिंहको संगीत, दिक्षित पौडेलको एरेन्जमेन्ट र लुमन स्थापितको रेकर्डिङ रहेको गीतको भिडियो डिजाइन र सम्पादन संजीतकुमार घिसिङले गरेका छन्। गीतकार खड्काले दिवंगत आमा अप्सराको वार्षिकीको छेको पारेर आमाकै सम्झनामा गीत तयार पारेका हुन्।

गीतको भिडियो लिरिकल शैलीमा तयार पारिएको छ। भिडियोमा गायिका मेनुका, गीतकार मनोज र संगीतकार कल्याण समेटिएका छन्। गीतकार रिजालले खड्काको गीति लेखनको प्रशंसा गर्दै थप सिर्जनाको अपेक्षा गरेको बताए। संगीतकार शम्भुजीत बास्कोटाले तेजस्वी अप्सरा शब्द, संगीत र स्वरको संगमले सिंगारिएको चर्चा गरे।

अर्का गीतकार एसपी कोइरालाले यो गीतले साहित्य, समाज र संस्कृतिलाई जोडेको उल्लेख गरे। भारतमा रहेकी गायिका मेनुकाले अडियो सन्देश पठाउँदै एउटा राम्रो शब्दमा स्वर दिन पाएकोमा खुशी व्यक्त गरिन्।

गीतका गीतकार खड्काले आत्मीय व्यक्ति गुमाउँदाको पीडाको भावलाई समेटेर तेजस्वी अप्सरा लेखिएको बताए। ‘यो गीत मेरा लागि शब्द र मेलोडी मात्र भन्दा पनि पिस अफ हार्ट हो। आमा गुमाउँदाको पीडालाई गीतमा उतार्न प्रयास गरेको छु,’ उनले भने।

अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग यूएसएडको मुख्यालय वासिङ्टन डीसीमा कार्यरत खड्काले गीतमा सम्बन्धका पाटा, प्रेरणाका स्रोत, वैदेशिक रोजगारजस्ता समाजका आयामलाई मिहीन ढंगले गीतमा उतार्दै आएका छन्।