संयुक्त बुकिङ काउन्टरको नाममा देशैभर ठगी

यात्रुसँग मनलागी रकम असुली

2.91k
Shares

काठमाडौं ।

देशैभरि चोकचोकमा संयुक्त बुकिङ काउन्टरको नाममा यात्रु ठग्ने गरेको पाइएको छ । सरकारी कार्यालयमा दर्ताबिना नै सञ्चालनमा रहेका यस्ता काउन्टरले यात्रुको रेकर्ड नराखी नै मनलाग्दी रकम असुल गर्ने गरेका हुन् ।

पूर्वपश्चिम राजमार्गलगायत देशैभरि रहेका धेरैजसो चोकमा दर्ताबिनाका काउन्टरले यात्रु ठग्ने गरेको यात्रुहरूले गुनासो गरेका छन् । गत मंगलवार सर्लाहीको हरिवनबाट सिन्धुली जान लागेकी मिश्रा भण्डारीले टिकट काट्ने काउन्टरवालाले कहिले २ सय ५० कहिले ३ सय भाडा लिने गरेको बताउनुभयो।

उहाँले काउन्टरमा भाडा दरसमेत नटाँसिँदा जति भने पनि भाडा दिनुपरेको बताउनुभयो । यसरी टिकट काट्दा यात्रुलाई सानो टुक्रा चिटजस्तो कागज दिइने गरेको छ। काउन्टरवालासँग यात्रुको कुनै रेकर्ड हुँदैन । यदि, दुर्घटना हुँदासमेत यात्रुको कुनै तथ्यांक रहँदैन। यसरी कुनै आधिकारिक रेकर्र्ड नराखी टिकट काट्नु काउन्टरवालाको ठगी रहेको प्रस्ट हुने यात्रुहरूले गुनासो गरेका छन्।

राजमार्गमा रहेका अधिकांश बुकिङ काउन्टरले यात्रुप्रति दादागिरी शैलीमा रकम असुल गर्ने गरेका छन्। उनीहरूसँग कसैले प्रश्न गरेमा गालीगलौजसमेत गर्ने गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले टिकट काट्ने कार्य अनलाइन नगर्दा र प्रशासन निरीह हुँदाको परिणाम यात्रु र व्यवसायी दुवै ठगिनु परेको बताउनुभयो । उहाँले बिचौलियालाई खुसी नपार्दा चोकबाट सवारी हिँडाउन पनि मुस्किल पर्ने गरेको बताउनुभयो। यस्तो कार्य नियन्त्रण गर्ने मुख्य उपाय अनलाइन बुकिङ नै रहेको व्यवसायीको भनाइ छ।

प्रत्येक चोकचोकमा रहने काउन्टरमध्ये कुनै बसवालाले अनुमति दिएका छन् भने कुनै आफूखुसी सबै सवारीसाधनको टिकट काट्ने गरेका छन्। सबै यात्रुवाहक सवारीको टिकट काट्ने सबैजसो ‘संयुक्त बुकिङ काउन्टर’ले यात्रुलाई ठग्ने गरेको पाइएको छ। चोकबाट यात्रु सीधै गाडीमा चढ्न खोजे गाडीको ढोकामा गएर काउन्टर सञ्चालक बस्ने गरेका छन्।

जुन बेला यात्रुले चोक र बाटो पनि काउन्टरवालाको निजीजस्तो महसुस गर्ने गर्दछन्। चाडमा जसरी पनि घर जानैपर्ने भएकाले यात्रुहरूले महँगो भाडा दिन बाध्य हुनुपरेको छ।

त्यसै गरी उपभोक्तावादीहरूले यात्रुहरू बुकिङ काउन्टरको नाममा ठगिँदा पनि गृह प्रशासनले नियन्त्रणमा कुनै पहल नगर्नु मिलेमतो हुन सक्ने बताएका छन्। उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले राजमार्गका चोकचोकमा बिनादर्ता अवैधानिक रूपमा यात्रुसँग जथाभावी रकम असुल गर्नु कानुनी राज्यको खिलाप रहेको बताउनुभयो।

गैरकानुनी रूपमा रकम असुल गर्ने कार्य बन्द गर्ने दायित्व प्रहरी प्रशासनको रहेको पनि अध्यक्ष तिमल्सिनाले बताउनुभएको छ।