यो देश बनाउँछौँ भन्नेहरु धेरै आए, गए । करिब तीन दशकको कुरा गर्ने हो भने गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, माधवकुमार नेपाल, बाबुराम भट्टराई, खड्ग ओली, झलनाथ खनाल, शेरबहादुर देउवा आदि देश बनाउँछु भन्दै आएका हुन् ।
त्यसै गरी शहर बनाउँछु भन्नेहरु विद्यासुन्दर, पदमरत्न तुलाधर, केशव स्थापित आदिलाई उदाहरणका रुपमा लिन सकिन्छ । तर यी सब गए कहाँ ? गरे के त ? आए, खाए, गए भन्दा अरु केही छ त महोदय ? खान त राणाहरुले पनि खाए । केही भौतिक विकास पनि गरे । शाहहरु पनि आए । केही भौतिक विकास पनि गरे । तर आफ्नालाई खुवाए, आफूहरुले खाए अनि गए । त्यस्तै त भयो यो दलीय व्यवस्था पनि ।
महेन्द्रले दलीय व्यवस्था माटो र संस्कारले फापसिद्ध हुनेछैन भने । आखिर सत्य साबित बनाइदिए अरुले। अब सबैमाथि प्रश्नचिह्न पनि उठ्यो, उठाइयो, कहाँ छ निष्पक्षता ? कहाँ छ कानुनी राज ? झन्डै लोकतान्त्रिक व्यवस्थामा खराबीकै बाहुल्यता हुन्छ भन्ने सत्य साबित भइदियो। आखिर यत्रो वितृष्णा किन ? कहाँ पुर्याउँछ यसले देशलाई ? सोचेर निर्णय लिने अवस्था आइसक्यो । अब राजनीतिक चेतना बढाएर असलकर्मीलाई छानौँ, अन्यथा पश्चात्तापबाहेक अरु हात लाग्ने देखिँदैन। बेलैमा सचेत होऔँ ।
– यज्ञबहादुर कार्की, गुण्डु, भक्तपुर ।
प्रतिक्रिया