चेतन कार्कीको सम्झना


काठमाडौं ।

गीतकार, कवि, संस्कृतिविद् एवम् फिल्म निर्देशक चेतन कार्कीको ८६औं जन्मजयन्ती बिहीबार राजधानीमा मनाइएको छ।
चेतन कार्की प्रतिष्ठानले एक कार्यक्रम आयोजना गर्दै जन्मजयन्ती मनाएको हो।

अभिनेत्री मिथिला शर्मा बोहोराको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष एवम् निर्देशक मोहन निरौलाले स्वगात मन्तव्य राखेका थिए। प्रतिष्ठानका महासचिव एवम् कवि मुरारी सिग्देलले सञ्चालन गरेको कार्यक्रममा नृत्य निर्देशक भैरवबहादुर थापाले चेतन कार्कीलाई ६५ वर्षअघि देहरादुनमा भेटेको स्मरण गर्दै उनले फिल्म, साहित्य, तथा लोक साहित्यको क्षेत्रमा दिएको योगदानबारे चर्चा गरे। अभिनेता तथा निर्देशक नीर शाहले चेतनले साहित्य तथा आध्यात्मिक क्षेत्रमा दिएको योगदानबारे चर्चा गर्दै उनीप्रति श्रद्धञ्जली अर्पण गरे।

त्यस्तै, समालोचक गोविन्दमान सिंह कार्कीले चेतनको व्यक्तित्व र कृतित्वबारे प्रकाश पारे। साहित्कार राधेश्याम लेकालीले चेतनका ३ मुक्तक सुनाएर स्मरण गरेका थिए भने नेपाल मुक्तक संघका अध्यक्ष रामकाजी कोनेले मुक्तक विधाको उन्नयनमा चेतनको योगदानबारे चर्चा गरे।

गायिका ऋतु कँडेलले चेतनको सदाबाहार गीत कान्छी हे कान्छी बगाएकी थिइन् भने गायक प्रेमराजा महतले चेतनको फिल्म भुमरीको गीत गाएका थिए। चेननकी नातिनी मदालताश्री कार्कीले भावुक हुँदै स्व. हजुरबुवालाई श्रद्धाञ्जली अर्पण गरेकी थिइन्। राजनीतिक विश्लेशक डा. सुरेन्द्र केसीले चेतनले नेपाली साहित्य र फिल्म विधामा पुर्‍याएको योगदानबारे प्रकाश पारेका थिए। प्रतिष्ठानकी प्रमुख संरक्षिका चेतन कार्कीकी श्रीमती गंगा कार्कीले देहरादुनदेखि अन्तिम अवस्थासम्म पतिलाई गुमाउँदाको क्षण स्मरण गर्दै स्व.पतिलाई श्रद्धाञ्जली अर्पण गरिन्।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीलाई प्रतिष्ठानकी अध्यक्ष मिथिला शर्माले मायाको चिनो प्रदान गरिन्। १९९५ मा बहाटारी, थुम स्याङ्जामा जन्मिएका चेतन कार्कीको नेपाली साहित्य तथा फिल्म क्षेत्रमा अविस्मरणीय योगदान छ। चन्द्रमाया कार्की तथा जुद्धवीर कार्कीका सुपुत्र चेतन कार्कीको बाल्यकाल भारतको देहरादुनमा बितेको थियो।

उनले निर्देशन गरेको पहिलो फिल्म विश्वास हो भने त्यसपछि भुमरी र पहिलो प्रेम निर्देशन गरेका थिए। परिवर्तन, आत्मा बेचेको छैन, हनिमुन, ढलेको गिलासजस्ता उपन्यास तथा कल्पना टुट चुकी है (कविता–हिन्दी/उर्दू)सहित जुन निदाउन थाल्यो (कविता र गीति संग्रह), माया प्रीतिको चोखो कथा (गीत संग्रह), हत्केलाले सधै भरी सूर्य छेकिँदैन (मुक्तक संग्रह), हो देश मेरो पनि (गजल संग्रह), बसी बियालो (कथा संग्रह), दिल जिगरके टुक्रे (उर्दू मुक्तक) आदि रचना गरेका थिए।

२०१७ सालदेखि नै नेपाली रंमञ्चमा प्रवेश गरेका चेतनले कयौँ गीतको रचना गरेका छन्। उनको २०७८ साल जेठ २ गते निधन भएको थियो।