काठमाडौं।
एन्टिमाइक्रोबियल रेसिस्टेन्ट (एमएमआर)लाई लिएर गरिएको रिपोर्टिङका आधारमा स्वास्थ्यखबरका धनबहादुर खड्का ’ग्लोबल एएमआर मिडिया अवार्ड २०२४’ बाट पुरस्कृत भएका छन् । ’अलार्मिङ एमएमआरः २१ एन्टिबायोटिक रेसिस्टेन्ट वन पेसेन्ट’ शीर्षकमा नेपाल लाइभ टुडे र त्यसअघि स्वास्थ्य खबरमा प्रकाशित ’प्रभावहिन बन्दै एन्टिबायोटिक’ बाट उक्त अवार्ड प्राप्त गरेका हुन् ।
विश्वका ३० देशका मिडियाकर्मी र संस्थाहरुको संगठन ’ग्लोबल एएमआर मिडिया अलाइन्स’ले पुरस्कार प्रदान गर्ने गरेको छ । विश्व स्वास्थ्य संगठन ६ वटा क्षेत्र छुट्याएर पुरस्कारका लागि प्रकाशित समाचार माग गरिएको थियो । हरेक क्षेत्रबाट प्रतिष्पर्धामा आएकामध्ये तीन उत्कृष्ट समाचारलाई छनोट गरिएको हो । छनोटका लागि एएमआरमा काम गरिरहेका विज्ञ, सरोकारवाला र हेल्थ तथा साइन्समा रिपोर्टिङ गरिरहेका वरिष्ठ पत्रकार सम्मिलित २२ जनाको जुरी कमिटी बनाइएको थियो । विश्वका ४३ देशबाट ४१३ वटा आवेदनबाट पुरस्कृतहरु छानिएका हुन् ।
बिहिबार भएको चौथो वार्षिक ग्लोबल मिडिया फोरममा उक्त अवार्ड घोषणा गरिएको हो । दक्षिण–पूर्वी एशियाबाट खड्कासहित तीनजना पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा बंगलादेशको ढाका ट्रिब्युनका पत्रकार नुरुल इस्लाम हसिब र भारतबाट प्रकाशित हुने इन्डियन एक्सप्रेसमा अनुराधा मास्क्रेनहस रहेका छन् ।
खड्का यही वर्ष सूर्तिजन्य पदार्थबिरुद्धको समाचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रदान गर्दै आएको ’ब्लुमवर्ग स्वास्थ्यमन्त्री पत्रकारिता पुरस्कार’बाट पनि पुरस्कृत भइसकेका अनुभवी व्यक्तित्व हुन । एएमआरमा उनले एक दशकदेखि लेखिरहेका छन् । ’एएमआरलाई विश्व स्वास्थ्य संगठनले विश्वका मुख्य १० स्वास्थ्य चुनौतीमा राखेको छ,’ खड्काले भने, ’त्यसैले यस विषयमा चासो बढेको हो । त्यही विषयमा लेखिएको समाचारले अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरेकोमा हौसला बढेको छ ।’ दुई दशकदेखि नयाँ एन्टिबायोटिकको खोज नहुनु र पुरानो एन्टिबायोटिक प्रभावहिन बन्दै गएका कारण मृत्युको संख्या बढिरहेको छ ।
एन्टिबायोटिकको सही उपयोगबाट मात्रै प्रभावकारिता कायम राख्न सकिने भएकाले सचेतना महत्वपूर्ण कार्य हो । एएमआरमा विश्व स्वास्थ्य संगठनलगायतले प्राथमिकतामा राखेर काम गरिरहेका छन् ।
प्रतिक्रिया