उपचारका क्रममा बालिकाको मृत्यु, तीन चिकित्सक प्रहरीको नियन्त्रणमा


काठमाडौँ।

डोटीको सुजङ अस्पतालका तीनजना चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ। हात भाँचिएर उपचारका लागि अस्पताल पुगेकी दिपायल सिलगढी नगरपालिका–३, की ९ वर्षीया रजनी भुलको बुधबार राति मृत्यु भएपछि उपचारमा संलग्न तीन चिकित्स डा. राजमणि यादव, डा. सुरेन्द्रकुमार चौधरी र डा. अभिषेक यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बुधबार राति करिब ८ बजे शल्यक्रिया गर्नका लागि सुइमार्फत एनेस्थेसिया दिइएकी बालिका होसमा नआएपछि चिकित्सकको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै मृतकका आफन्त र स्थानीयले अस्पताल तोडफोडमा उत्रिएका थिए।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार अस्पतालमा थप क्षति हुन नदिन र घटनाको थप अनुसन्धानका लागि उपचारमा संलग्न चिकित्सकलाई नियन्त्रणमा लिएको हो।

बेहोस पार्ने क्रममा दिइएको औषधिको असरले बालिकाको मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीको छ ।

मृतकका आफन्तले बालिकाको शव बुझ्न मानेका छैनन् ।