सडकका सबै भित्तामा रंगिन चित्र : १९ कलाकार परिचालित, ४ स्थानमा सकियो ३ मा बाँकी

4.98k
Shares

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले राजधानीको ४ स्थानको पर्खालमा मौलिक तथा प्राचीन महत्वका चित्रकलाबाट सुन्दरता थपेको छ। पहिलो चरणमा ४ स्थान पहिचान गरेको कामपाले सबै पर्खालमा कलात्मक चित्र तयार गरेको छ।

ती पर्खालमा बाटो हिँड्ने र अन्य व्यक्तिले फोटो सेसन गर्न समेत भ्याएका छन्। कामपाको सहयोगमा ललितकला प्रज्ञा प्रतिष्ठानले चित्र बनाएको हो । गुठी संस्थान, वडा समिति र स्थानीयको सहयोगमा आवश्यकताका आधारमा चित्र कोरेको हो।
प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र थुम्केलीले कामपाले जिम्मा दिएअनुसार चित्र तयार भएको बताउनुभयो।

उहाँका अनुसार हालसम्म राष्ट्रिय सभागृह, सुन्धारा, वाल्मीकि र वानेश्वरको छक्कुबक्कुको पर्खालमा चित्र कोर्ने काम सकिएको छ । बाँकी बबरमहल, दशरथ रंगशाला र कोटेश्वरस्थित सरस्वती पार्कमा काम अन्तिम चरणमा रहेको छ। सदस्य सचिव थुम्केलीले महानगरले तयार गरेको डिजाइनका आधारमा चित्र कोर्ने गरेको जानकारी दिनुभयो।

‘हामीले कलाकारका लागि सहयोग गरेका हौं, कामपाबाट आएको पारिश्रमिक कलाकारले नै पाउनेछन्। गुठी संस्थान, स्थानीय टोल सुधार समिति, वडा कार्यालय र विज्ञको सल्लाहमा कुन पर्खालमा कस्तो चित्र बनाउने भन्ने विषयमा कामपाले निर्णय गर्नेछ, सोही आधारमा चित्र तयार हुनेछ’ –सदस्यसचिव थुम्केलीले भन्नुभयो ।

कामपाले रंगशालाको भित्तामा खेल र खेलाडी, बबरमहलमा गुठी र कामपाको सल्लाहमा स्थानीय कला संस्कृति, सहरको सुन्दरता अभिवृद्धि गर्ने खालको चित्र तयार हुनेछ। चित्र तयार गर्न प्रमुख कलाकार दुुर्गाबहादुुर भण्डारीको संयोजनमा कलाकार परिचालित छन्।

भित्तामा विक्रम तामाङ, भद्रबहादुुर भण्डारी, शर्मिलादेवी तामाङ, सुुजिता चौधरी, जीवन तामाङ, टेकबहादुुर केप्छाकी मगर, सरोजकुुमार राई, प्रतिभा खड्का, प्रतीक्षा तिवारीको सहभागिता रहेको छ। चित्र कोर्न निवासविक्रम शाह, विक्कुकुमार थापा, सन्तोष गुरुङ, प्रमिस गुुरुङ, अनिल राई, रोहन कपाली, सुमन रानामगर, आशिष श्रेष्ठ, पीयूष यादव र सुुमन राई लागिपरेका छन्।

‘सबै चित्र कोर्न उनै कलाकार परिचालित हुनेछन्’ –प्रतिष्ठानका सदस्य सचिव थुम्केलीले जानकारी दिनुभयो।
भित्तामा चित्र कोर्न कामपा र प्रतिष्ठानबीच गत वर्ष फागुन फागुन १७ गते सम्झौता भएको थियो। सोही आधारमा वर्षायाममा रोकिएको चित्रकला पुनः शुरू गरेको हो । प्रतिष्ठानले कामपासँग वर्गफिटको आधारमा रकम तय गरिनेछ।

कामपाले पहिलो चरणमा सुन्धारा, नयाँ बानेश्वर, प्रदर्शनी मार्गका भित्तामा काम सम्पन्न भएका छन् । हाल अहिले कोटेश्वर सरस्वती पार्कमा विभिन्न फुटबल र फुटबलसँग सम्बन्धित व्यक्तिहरूको चित्र बनाउने कार्य भइरहेको छ। यसपछि त्रिपुरेश्वर रङ्गशाला, माइतीघरबाट बबरमहल जाँदा दायाँतर्फको भित्ता, बानेश्वर मीनभवन, लैनचौर समाज कल्याण परिषद्को भित्ताहरूमा चित्र कोरिनेछन्।

यसरी कोरिएका चित्र जोगाउन नागरिक तहबाट दायित्व निर्वाह हुने महानगरपालिकाले अपेक्षा गरेको छ। चित्र भएका भित्तामा नछुने, कुनै रङ्ग नछर्किने, पोस्टर वा कागज नटाँस्ने, चित्रसँग तस्बिर खिच्दा नटाँसिई अलग्गै खिच्न, अन्य कुनै वस्तुले नलेख्नेजस्ता काम महानगरपालिकाले नागरिकबाट गरेको अपेक्षा गरेको छ। नागरिक समाजकै अगुवासँगको सल्लाहको आधारमा चित्र तयार गरिएको कामपाको भनाइ छ।

महानगरले चित्र कोर्नुसँग सम्बन्धित जीवन्त संस्कार संस्कृतिको संरक्षण र प्रवद्र्धनका कार्यक्रम गाँसिएका छन्। त्यसैले यो केवल एकपटक सम्पन्न गरेर सकिने कार्यक्रम नभएर निरन्तर जारी रहने जनाएको छ।

काठमाडौंलाई चिनाउन, काठमाडौंका सम्पदाको भव्यता प्रदर्शन गर्न यसको महत्व रहेको छ। इतिहास, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्व कला, भाषा, साहित्य, शृंगार, रहनसहन, भेषभूषा, खानपान बिम्बित गर्छन्। जसलाई हरेक नेपालीले आत्मबोध गरेर स्वीकार्न सक्ने गरी पर्खालमा चित्र कोरिएको हो।