– नेपाल संवत् राष्ट्रियताको भावलाई अभिवृद्धि गर्ने एउटा माध्यम हो ।
– शासकहरू दमनले यो आन्दोलनले व्यवस्था विरोधी, राष्ट्रियता र सामाजिक परिर्वतनको बृहत्तर अभियानसँग जोडिएको थियो।
–लोककल्याणकारी भावना, परिवर्तनकारी भावनाको कोणबाट पनि यो संवत्को अत्यन्त महत्वपूर्ण छ।
– सरकारीस्तरमा पनि अहिले नेपाल संवत् नयाँ वर्ष मनाउनुपर्दछ।
– नेपालप्रति सबैले अपनत्व लिए जसरी नेपालकै नाउँबाट स्थापित नेपाल संवत्मा पनि अपनत्व लिनुपर्दछ।
– यो अभियानबारे युवापुस्ताले बुझ्नु र बुझाउनु आवश्यक छ।
राजनीतिकर्मी तथा पूर्वमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ नेपाल संवत्को अभियान वा भिन्तुना आन्दोलनको शुरुआतदेखि क्रियाशील एक अग्रज व्यक्तित्व हुनुहुन्छ । उहाँकै अध्यक्षतामा यस वर्षको नेपाल संवत् ११४५ मनाउन न्हूँद समारोह समिति गठन गरिएको छ । राणाकालदेखि बन्द कोठामा मात्र मनाइने नेपाल संवत् नयाँ वर्ष २०३६ सालदेखि बृहत् सांस्कृतिक प्रदर्शन गरी मनाउन थालिएको हो । त्यसबेलादेखि शुरू भएको नेपाल संवत्को अभियान वा भिन्तुना आन्दोलनले नेपालको राजनीतिक, सामाजिक र भाषिक समानताको आन्दोलनमा पारेको प्रभाव विषयमा नेपाल समाचारपत्रका लागि सुनील महर्जनले गर्नु भएको कुराकानीको सम्पादित विवरणः–
४५ वर्ष अघिदेखि चलेको नेपाल संवत् अथवा भिन्तुना आन्दोलन वा अभियान अहिले कुन दिशातिर गइरहेको छ ?
नेपाल संवत् राष्ट्रिय, सरकारले यसलाई मान्यता दिनैपर्दछ भन्ने नेपाल संवत्को अथवा भिन्तुना आन्दोलन वा अभियान मुख्य माग हो । धेरै ठूलो संघर्षपछि यो मुख्य माग पूरा भइसकेको छ । यसलाई सकारात्मक रुपमा लिनुपर्दछ । तर, नेपाल संवत्को प्रयोगको व्यापकताका सम्बन्धमा गर्नुपर्ने कतिपय प्राविधिक कार्यहरू गर्न बाँकी नै छन् । प्रदेश सरकार र स्थानीय सरकारलाई यसको महत्व र प्रयोगको विषयमा बुझाउनुपर्ने, भएका निर्णयहरू केही कार्यान्वयन भइरहेको छ, केही कार्यान्वयन गर्न बाँकी छ। त्यसैले यस दिशामा भएका कार्यहरू अझै पर्याप्त हुन सकेको छैन ।
नेपाल संवत् वा भिन्तुना आन्दोलनले नेपालको राजनीतिमा के कस्तो प्रभाव पारेको छ ?
नेपाल संवत्को आन्दोलन शुरू हुँदा मुख्य रूपमा तीन वटा नारा दिएका थियौं । नेपाल संवत् राष्ट्रिय संवत् सरकारले यसलाई मान्यता दिनुपर्दछ पहिलो नारा थियो।दोस्रो,देशभित्रका सम्पूर्ण जाति, भाषालाई समान अधिकार दिनुपर्दछ र तेस्रो, नयाँ वर्षको शुभकामना (न्हूँदया भिन्तुना) छ, शुभकामना, सम्पूर्णलाई शुभकामना । यी तीनवटा नारा त्यतिबेला आधिकारिक रूपमा स्वीकृत गरेका थियौं । नेपाल संवत्को आन्दोलनले नेपालको राजनीतिमा निकै सकारात्मक प्रभाव पारेको छ। भिन्तुना आन्दोलन भनेको शुभकामना दिने आन्दोलन हो। तर, शुभकामना दिने अभियान समेत पञ्चायती व्यवस्थालाई सह्य भएन। त्यस विरुद्ध दमन हुन थाल्यो । त्यसपछि हामीले संघर्ष गर्नुपर्ने स्थिति उत्पन्न भयो । त्यस क्रममा पञ्चायती व्यवस्था समाप्त होस् भन्ने नारा दियौैं र त्यसका विरुद्ध संघर्ष गर्न बाध्यौं भयौं । यस अवस्थाले गर्दा प्रजातन्त्र पुनःबहालीको लागि भइरहेका आन्दोलनसँग नेपाल संवत्को आन्दोलन एकाकार भयो । तर विडम्बना, २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएको दश वर्षपछि पनि नेपालको संवत्को आन्दोलनले उठाएको माग पूरा भएन । बल्ल तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई हुँदा २०५६ मंसिर २ गते नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरियो । तर, नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउनको लागि अझै संघर्ष गर्नुपर्ने स्थिति बाँकी नै थियो । २९ वर्षको लगातारको संघर्ष र अभियान पछि २०६५ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिने औपचारिक निर्णय गर्यो । तर सरकारी निकायमा प्रयोगमा ल्याइएन । लगातारको जनदबाबपछि गत वर्ष प्रचण्ड नेतृत्व सरकारले सरकारी लेटर प्याडमा नेपाल संवत् प्रयोगमा ल्याइयो । अहिले अड्डा अदालतदेखि राज्यका अंग र निकायमा नेपाल संवत्को लेटरप्याडमा नेपाल संवत्को उल्लेख गर्दै आएको छ । यो पनि एउटा महत्वपूर्ण उपलब्धि हो।
यस अभियानले राष्ट्रियताको आन्दोलन जगाउनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। नेपाल संवत् स्वयं नेपालकै नाउँबाट रहेको गौरवमय संवत् हुन् । संसारमा देशको नाउँमा चलेको अरू कुनै संवत् छैन। हो, इस्वी संवत् वैज्ञानिक छ, तर देवीदेवताको नाउँमा चलेको हो । त्यसै गरी विक्रम संवत् भारतका राजा विक्रमादित्यको नाउँमा चलेको संवत् हो, यो न वैज्ञानिक छ, न व्यावहारिक छ । अरू विभिन्न संवत्हरू हेर्ने हो भने राष्ट्रकै गरिमासँग जोडिएको छैन । यसले गर्दा नेपाल संवत्प्रति प्रत्येक नेपालीहरुले गौरव गर्नुपर्दछ कि यसले राष्ट्रियतालाई बलियो बनाएको छ । पहिला, पहिला विदेशी कुटनीतिक नियोग र संयुक्त राष्ट्र संघमा समेत नेपाल डे मनाउँदा नेपाल संवत्को पहिलो दिनमा मनाउने गर्दथ्यो । अहिले त्यो चलन हराइसकेको छ ।
अतः नेपाल संवत्को नामले नै नेपालको पहिचान दिन्छ । त्यसले गर्दा राष्ट्रियताको भावलाई अभिवृद्धि गर्ने एउटा माध्यम नेपाल संवत् हुन्। यसले राष्ट्रियताको आन्दोलनलाई यसले सघाउने काम गरेको छ ।
यो आन्दोलनमा व्यवस्था परिवर्तनको कुरो शुरूदेखि जोडिएको थियो कि पछि आएर मात्र जोडिएको हो ?
व्यवस्था परिवर्तनको कुरो शुरूमा नभई पछि आएर जोडिएको हो । त्यतिबेला तीनवटा नारा दिएर यो अभियान शुरू भएको थियो । जब पञ्चायती निरंकुशतावादी सरकारले यो आन्दोलनमाथि दमन गर्यो तब यसमा पञ्चायती व्यवस्था विरोधीको आवाज मिसिएको थियो।शासकहरू दमनले यो आन्दोलनले व्यवस्था विरोधी, राष्ट्रियता र सामाजिक परिर्वतनको बृहत्तर अभियानसँग जोडिएको थियो । यसको मुख्य नेतृत्वकर्ता आदरणीय पद्मरत्न तुलाधर हुनुहुन्थ्यो । उहाँकै जोसिलो भाषणको प्रभावसँगै त्यसबारे धेरैभन्दा धेरै जनताको सहभागिता बढ्दै गएको थियो । त्यसपछि यसमा राजनीतिक दल, राजनीतिक कार्यकर्ताहरू ओइरिन थालेको थियो ।
यो अभियान र शासकीय व्यवस्थाबीच कस्तो सम्बन्ध रहेको छ ?
यो अभियानले उठाएको माग पञ्चायतकालमा पूरा हुनसक्ने स्थिति थिएन । त्यतिबेला नेपाल संवत् आन्दोलनलाई साम्प्रदायिक आन्दोलन भनिन्थ्यो । बहुदलीय प्रजातन्त्रकालमा शंखधर साख्वाः लाई राष्ट्रिय विभूति घोषणा गरियो, तर नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिने काम भएन। हो, त्यतिबेला प्रयास गरेको सम्भव थियो। पञ्चायतकालमा सहभागी भएका दलहरूको सरकार भएको बेला यसको महत्वलाई जुन गम्भीरताका बुझ्नुपर्ने थियो। त्यति हदसम्म बुझ्न प्रयास गरेन भनौं वा सकेन । पछि दोस्रो जनआन्दोलनपछि बनेको सरकारले नेपाल संवत्लाई राष्ट्रिय मान्यता प्रदान गर्यो । त्यतिबेला मा संघीयता, समावेशी, समानुपातिक र समान अधिकारको कुरो उठिरहेको थियो । शासन व्यवस्था शासकीय विचारले आन्दोलनलाई सकारात्मक वा नकारात्मक प्रभाव पार्ने तथ्यलाई यसका माग किस्ता किस्तामा पूरा भएको सन्दर्भमा पनि बुझ्न सकिन्छ ।
यो अभियानले सामाजिक परिवर्तनका क्षेत्रमा के प्रभाव पारेको छ ?
यो अभियानले सामाजिक परिवर्तनको क्षेत्रमा पनि महत्वपूर्ण प्रभाव पारेको छ। लिच्छिविकालमा शंखधर साख्वाः नामक एक जना व्यापारीले सबै ऋणीहरुको ऋणमोचन गरेर यो संवत् चलाएका थिए। तत्कालीन अवस्थामा नेपालमा शक संवत् चलिरहेको थियो । ऋणीहरुको ऋण मोचन गरेको खुशीयालीमा चलाएको यो संवत्को सन्दर्भ सारै सम्झिन लायक छ। सामाजिक परिर्वतनको सन्दर्भको कुरा गर्दा आर्थिक दासताबाट मुक्ति दिलाएको इतिहास सामन्त र पुँजीवादी शासकहरूबाट श्रमजीवी वर्गको मुक्तिको कुरा गर्नेहरूका लागि महत्वपूर्ण भएकोले पनि यस संवत्को अझ महत्वपूर्ण बनेको छ । लोककल्याणकारी भावना, परिर्वतनकारी भावनाको कोणबाट पनि यो संवत्को अत्यन्त महत्वपूर्ण छ । यसले गर्दा पनि नेपाल संवत् वा भिन्तुना आन्दोलन सामाजिक रूपान्तरणसँग पनि जोडिएको छ।
यो अभियानले नेपालको भाषिक आन्दोलनमा कस्तो प्रभाव पारेको छ ?
वस्तुतः यो अभियान नेपाल संवत् नयाँ वर्षको शुभकामना दिने सांस्कृतिक प्रदर्शन थियो । तर, यस अभियान बृहत् रूपमा सञ्चालन गर्ने मुख्य संस्था नेपाल भाषा मंका खलः भएकोले यसमा भाषिक कुराहरू पनि जोडिन पुगेको हो । नेपालभाषा बोल्नेहरूको साझा संस्थाको हिसाबले मंका खलःले भाषिक समान अधिकारको एजेन्डा बोक्दै आएको थियो । त्यही संस्थाले नेपाल संवत्को शुभकामना दिने अभियान शुरू गरेपछि यसमा भाषिक समानताको कुरो जोडिएको थियो । यस हिसाबले भाषिक समानताको आन्दोलनमा पनि नेपाल संवत्को अभियानले महत्वपूर्ण टेवा पुर्याएको छ ।
नेपाल संवत् राष्ट्रिय संवत्को रूपमा अब सरकारले गर्नुपर्ने के के कामहरू बाँकी छन् ?
अहिले जनस्तरमा नेपाल संवत् नयाँ वर्ष मनाइँदै आएको छ । जनस्तरबाट मनाउँदै जाउँला । तर, सरकारले राष्ट्रिय संवत्को रूपमा मान्यता दिइसकेपछि सरकारीस्तरमा पनि अहिले नेपाल संवत् नयाँ वर्ष मनाउनुपर्दछ । त्यस्तै, नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाको विषयमा अध्ययन अनुसन्धान हुन बाँकी छ। त्यसका लागि सरकारीस्तरमा शंखधर साख्वा प्रतिष्ठान गठन गरिनुपर्दछ । त्यसै गरी शंखधरको नाउँबाट राष्ट्रिय पुरस्कारहरू स्थापना गरिनुपर्दछ । यस्ता कार्यहरूसँगै नेपाल संवत्को प्रयोगहरू अनुगमन गर्नुपर्दछ । नेपाल संवत्को प्रयोग कहाँ कहाँ भयो ? के, के समस्याहरू आएका छन् ? यी कुराहरूको लेखाजोखा सरकारले गर्नुपर्दछ । त्यसबाहेक पनि नोटहरूमा नेपाल संवत्को प्रयोग गर्नुपर्दछ । राष्ट्रिय संवत भनेपछि यसको प्रयोगको क्षेत्र व्यापक हुनुपर्दछ । सिक्काहरूमा पनि यसको प्रयोग हुनुपर्दछ।
यही विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हालै ध्यानाकर्षण गराउँदा उहाँको प्रतिक्रिया के थियो ?
यस विषयमा प्रधानमन्त्रीको प्रतिक्रिया सकारात्मक नै थियो । सल्लाह गरेर यसमा ठोस काम गर्ने इच्छा उहाँले समितिका पदाधिकारीहरूसँगको भेटमा व्यक्त गर्नुभएको थियो ।
नेपालका विविध भाषा, जाति वा समुदायमाझ पनि नेपाल संवत् नयाँ वर्ष मनाउने स्थितिमा पुर्याउनेलाई न्हूँद समारोह समितिले कसरी लिइरहेको छ ?
यो प्रश्न नेपाल संवत्को अपनत्वसँग सम्बन्धित रहेको छ । गोर्खा राज्य विस्तार हुनुअघि नेपालमा बाइसे, चौबिसे राज्यहरू थिए। गोर्खा राज्यको विस्तारसँगै नेपाल आधुनिक राज्यमा परिणत भएपछि ती बाइसे, चौबिसे सबै राज्यहरूले नेपाल राज्यप्रति अपनत्व लिएका थिए । विभिन्न राज्य स्वतन्त्र भए पनि पछिल्लो कालमा हामी सबै नेपाली हौं भनेर अनुभूति गरेझै नेपाल देशप्रति सबैले अपनत्व लिएका थियो।नेपाल देशप्रति सबैले अपनत्व लिए जसरी नेपालकै नाउँबाट स्थापित नेपाल संवत्मा पनि अपनत्व लिनुपर्दछ। इस्वी संवत् नयाँ वर्ष सबैले मनाउँछन् । इस्वी संवत् मनाउन सबै भाषाभाषी र जातिहरू ठमेललगायत विभिन्न ठाउँमा हुने कन्र्सट हेर्न जान्छन् । कसैले पनि विदेशी संवत् भनेर भन्दैन। त्यसरी नेपाल संवत्लाई लिनुपर्यो। देशका सबै जातजाति र भाषाभाषी, राज्य सबैले यसको विशेषतालाई बुझेर नेपाल संवत् नयाँ वर्ष मनाउनुपर्दछ। यसको लागि पहल गर्ने, सक्रियता देखाएको नेवाः समुदायलाई धन्यवाद दिएर देशका सबै समुदायले यसप्रति अपनत्व लिनुपर्दछ, त्यसरी लिने वातावरण सबैले तयार गर्नुपर्दछ । फेरि यसको तिथिमिति सबैले प्रयोग गर्दै आइरहेको छ । त्यसैले नेपाल संवत्प्रति सबैले अपनत्व ग्रहण गर्नुपर्दछ, राज्यले अपनत्व लिएपछि जनताले अपनत्व लिन सहज नै हुनेछन्।
नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिएपछि यो अभियानभन्दा पनि बढी उत्सवको रूप हुँदै गएकोलाई के भन्नुहुन्छ ?
नेपाल संवत् नयाँ वर्ष उत्सवको रूपमा मनाउनु स्वाभाविक प्रक्रिया हो। ४४, ४५ वर्षको लगातारको संघर्षपछि नेपाल संवत् राष्ट्रिय मान्यता पाएकोमा यसबाट खुशी भई नाचगान, सांस्कृतिक झाँकी, प्रदर्शन गरी उत्सवका रूपमा मनाउनुलाई अन्यथा लिनुहुँदैन। नेपाल संवत्को आर्थिक वर्षको अन्तिम दिन लक्ष्मी पूजा पर्दछ। त्यो दिन वर्षको दिन आर्थिक हिसाब किताब गरी धनधान्यदेवी लक्ष्मीलाई पुजा गरिन्छ। पहिलो दिन म्हः पूजा गरिन्छ भने तेस्रो दिन दिदीबहिनी भेला गरेर किजापुजा अर्थात् भाइटिका हुने गर्दछ । यसले गर्दा स्वभाविक रूपमा रौनक, उत्सव हुने भइहाल्यो । फेरि जुनसुकै संवत्को नयाँ वर्ष पनि देशविदेश सबैतिर खुशीका साथ मनाउने गरिन्छ । यसलाई सकारात्मक रूपमा लिनुपर्दछ । हिजो पञ्चायत व्यवस्था विरोधी आन्दोलनसँग जोडिएको यो अभियानको मागलाई राज्यले मान्यता दिएपछि यो अभियानको स्वरूप त बदलिन्छन् नै । अब शुभकामना आदानप्रदानको काम राज्य, जनस्तर सबैतिरबाट हुनुपर्दछ ।
नेपाल संवत्ले राष्ट्रिय मान्यता पाएपछि यससँग जोडिएको भाषिक अधिकारको कुरोलाई अलग्याउनुपर्दछ भन्ने कुरो निस्किएको छ, यसलाई तपाईंले कसरी लिइरहनुभएको छ ?
नेपाल संवत् नयाँ वर्ष मनाउनेलाई व्यापक बनाउन भाषिक अधिकारलाई यसलाई अलग गरिनुपर्दछ भन्ने कुरो ठिकै हो । पञ्चायतकालमा नेपाल भाषा मंका खलःले यो अभियान शुरुआत गरेको बेला, भाषा, राजनीतिक अधिकारजम्मै जोडिएको थियो । जसले अभियान सञ्चालन गर्यो, उसले आफ्नो उद्देश्यपनि सँगसँगै अघि बढाउन खोज्छ नै । त्यसैले इतिहासमा जे गरियो,त्यो त्यति बेलाको आवश्यकता थियो । नेपाल संवत् नयाँ वर्ष मनाउने जिम्मा मंका खलःले छोडेको लामै समय भइसकेको छ। अहिले विभिन्न संघसंस्था मिलेर न्हूँद समारोह समिति गठन गरी नेपाल संवत् नयाँ वर्ष मनाउँदै आएको छ त्यसैले यसलाई विशुद्ध नयाँको वर्षका रूपमा उत्सव मनाउनु अहिलेको आवश्यकता पनि हो ।
नेपाल संवत् उत्सवसँगै अभियान अब कुन रूपमा लैजानुपर्ने खाँचो छ ?
नेपाल संवत्ले राष्ट्रकै पहिचानलाई प्रवद्र्धन गर्दै आएको छ। देशभित्र पनि बहुभाषा, बहुसंस्कृति भएकोले सबैको पहिचान स्थापित हुनुपर्दछ भन्ने कुरोलाई पनि यसले टेवा पुर्याएको छ। यो अभियान मुलुकको भाषा, जाति तथा सांस्कृतिक आन्दोलनको संवाहक बनेको छ। यो कुरो बुझ्ने बुझाउनुपर्ने खाँचो छ। आधुनिक युवापुस्ताले २०३६ सालदेखि यस अभियानको लागि भएको संघर्ष देख्ने कुरो आउँदैन । यो आन्दोलन शुरू हुँदा जन्मिएको मान्छे ४५ वर्ष भइसेकेको छ। यसको संघर्ष, कथा व्यथाबारे नयाँ पुस्ताले बुझ्नु आवश्यक छ । यसलाई मनोरञ्जनसँगै सांस्कृतिक अभियानका रूपमा लिएर जानुपर्दछ। देशको संस्कृतिलाई बचाउने, उन्नयन गर्ने वियषयमा युवापुस्तामा धेरैथोरै थाहा हुनुपर्दछ र थाहा पाउने वातावरण बनाउनुपर्दछ ।
प्रतिक्रिया