हङकङ सिक्सेसमा युएईसँग १ रनले हार्‍यो भारत


काठमाडौं ।

हङकङ सिक्सेसमा सयुंक्त अरब इमिरेट्स (युएई) ले भारतलाई पराजित गरेको छ। शनिबार बिहान सकिएको खेलमा युएईले भारतमाथि १ रनको रोमाञ्चक जित हासिल गरेको हो।

युएईले दिएको १३१ रनको लक्ष्य पछ्याएको भारतले ६ ओभरमा ४ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो । भारका लागि स्टुअर्ट बिन्नीले सर्वाधिक ४४ रन जोडे । कप्तान रोबिन उथप्पा ४३ रन बनाएर आउट भए। भरत चिपलीले २० रनको योगदान गरे।

युएईका लागि अकिफ राजा, संचित शर्मा र मुहम्मद जुहैबले समान एक/एक विकेट लिए। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको युएईले ६ ओभरको खेलमा ५ विकेट गुमाउँदै १३० रन बनाएको थियो। उसका लागि खालिद शाहले ४२ रन बनाए। यस्तै जाहुर खानले नटआउट ३७ रन बनाउँदा मुहम्मद जुहैबले १७ रन जोडे।

भारतका स्टुअर्ट बिन्नीले ३, शाहबाज नदीम र भरत चिपलीले १/१ विकेट लिए। यसअघि पहिलो खेलमा पाकिस्तानसँग ६ विकेटले पराजित भएको भारत हङकङ सिक्सेस क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ।