प्लास्टिकका माला र रङ्गिन मिठाइले भरिभराउ धादिङबेसी

8.46k
Shares

धादिङ। 

तिहारको बेलामा मिठाइ र फूलको सट्टामा प्रयोग गरिने प्लास्टिकको फूलले गर्दा तिहारको सौन्दर्यता करुप भएको छ । धादिङबेसी बजारमा २० भन्दा बढी पसलमा प्लास्टिकका माला विक्रिका लागि राखिएको छ भने यसको प्रयोग गरिएको धेरै घरहरु समेत भेटिएको छ ।

वातावरणीय स्वास्थ्यमा प्रतिकुल असर गर्ने प्लास्टिक यसबाट बनेको मालाले गर्दा गाउँघर र बजार फोहोर हुने गर्छ भने प्रयोग पछि सडेर नजाने हुनाले खेतबारीमा उत्पादन हुने अन्नबाली समेत उत्पादन नदिने वातावरणविदहरुको भनाइ छ ।

सयपत्री फूलको माला बिक्री नभएर किसानहरुले फल्नु पर्ने अवस्था आएपनि भारत चिनबाट आयात गरिएको प्लास्टिकको मालाले भने बेफाइदा गरेपनि निर्वाध व्यपार गरिरहेको फूलव्यापारी  राममाया तामाङले बताइन् ।

यता मानवीय स्वास्थ्यमा व्यापक बेफाइदा गरेपनि बजारभर तिहारको मौका छोपेर अखाद्य रङ मिसाइएका मिठाइको बिगबिगी भएपनि नियन्त्रणको प्रयास भएको छैन ।

मानिसलाई आकर्षण गर्न हालिएको रङले स्वास्थ्य प्रतिकुल असर गर्छ । रङ हालिएको खानेकुराले पेट दुख्ने, अपच हुने, तथा कडा रङ रहेछ भने क्यान्सर समेत हुने स्वास्थ्यकर्मीहरुको भनाइ छ।  तर, बजारभर सबै मिठाइ पसलमा रङ हालिएको मात्र ठिाइ भेटिएको भएपनि नियन्त्रणतर्फ कुनै कदम उठाइएको छैन ।

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले प्लास्टिक माला नियन्त्रणको काम नगरपालिकाको भएकोले नगरपालिकाले केही निर्णय गरेको जस्तो नलागेको बताए । खाद्यान्नमा रङ हालिएको यसको परीक्षण गर्न मन्त्रालयले गर्नुपर्ने भएकोले अहिले तत्काल नियन्त्रण गर्न नसकिएको घिमिरेले बताए ।

मिठाइमा रङ नहाले पनि मिठाइ बन्ने र स्वदमा कमी नहुने भएकोले मानिसको स्वास्थ्यमा असर गर्ने कुनैपनि रङ प्रयोग नगर्न आम व्यपारीहरुलाई आग्रह गर्दै रङ हालिएको मिठाइ नकिन्न र सचेत बन्न उपभोक्ताहरुलाई उपभोक्ता अधिकारकर्मी शिव सापकोटाले बताए ।