स्वर्ण विजेता बक्सिङ टोलीको भव्य स्वागत 


काठमाडौँ । 

नेपाल बक्सिङ महासंघका पदाधिकारीहरुले बहराइनको मानामामा भएको आईएसएफ जिम्नासाइड गेम्समा स्वर्ण पदक विजेता बक्सिङ खेलाडी र प्रशिक्षकलाई सम्मान सहित भव्य स्वागत गरेको छ। 

बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले, महासचिव मन भण्डारी लगायत अन्य पदाधिकारीहरुले एक कार्यक्रमबीच भव्य स्वागत गरेका हुन् । प्रतियोगितामा नेपाललाई बक्सिङको पुरुष ८० केजीमुनि नोर्बु थेन्डुप लामा र महिला ५४ केजीमुनि स्वस्तिका तिरुवाले स्वर्ण पदक दिलाएका थिए ।  उक्त प्रतियोगितामा बक्सिङकै पुरुष ४६ केजीमुनि रोहित जनाला र ८० केजीमुनि सूर्यान वैद्यले पनि कांस्य हात पारे । टोलीको प्रशिक्षक दीपक महर्जन रहेका छन् ।

प्रतियोगितामा नेपालले ५ खेलमा सहभागिता जनाएकोमा बक्सिङ र तेक्वान्दोमा पदक जित्न सफल भयो । यी २ खेलसहित नेपालले टेबलटेनिस, ब्याडमिन्टन र पुरुष थ्री बाइ थ्री बास्केटबलमा भाग लिएको थियो । नेपालले बक्सिङमा समान २–२ स्वर्ण र कांस्य तथा तेक्वान्दोमा समान १–१ स्वर्ण, रजत र कांस्य हात पार्‍यो ।