५६ देशमा अध्ययन अनुमति, ७० विषय अध्ययन गर्न २७ हजारले लिए एनओसी

सबैभन्दा बढी जापान, त्यसपछि अमेरिका

3.67k
Shares

काठमाडौं ।

तीन महिनामा ३ हजार ६४ जनाले अमेरिका अध्ययन गर्न नो अब्जेक्सन लेटर (एनओसी) लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले साउन १ देखि भदौ ३० गतेसम्मको तथ्यांक सार्वजनिक गरी तीन महिना अवधिमा सबैभन्दा धेरै विद्यार्थी अमेरिका अध्ययन गर्न एनओसी लेटर लिएका छन्।

उक्त महिनामा ५६ देशमा अध्ययन अनुमति प्रदान गरेको छ । विदेश अध्ययन गर्न २७ हजार ७ सय २७ जना विद्यार्थीले ५६ देशमा अध्ययनका लागि मन्त्रालयबाट अध्ययन अनुमति लिएका हुन्। गत वर्ष ६६ वटा देशमा अध्ययन गर्न विद्यार्थीले अनुमति लिएका थिए । साउनदेखि असोजसम्म विदेश अध्ययन अनुमति लिनेमा सबैभन्दा बढी जापान जाने छन्।

जापानमा जापानिज भाषा अध्ययन गर्न भन्दै ९ हजार ९४ जनाले भर्ना गरेको उल्लेख छ । ती मध्ये ९ हजार ६ सय ३८ जनाले एनओसी लिएका छन् । वैदेशिक अध्ययनको लागि ७० विषयमा २७ हजार ४ सय २३ जनाले एनओसी लिन आवेदन दिएका थिए।

कम्प्युटर साइन्समा ९ सय ७५, विज्ञानमा १ हजार ५ सय ९, इन्फरमेसन टेक्नोलोजीमा १ हजार ५५, स्वास्थ्यमा १ हजार १ सय ४२, इन्जिनियरिङमा १ हजार १ सय ३९ जनाले आवेदन एनओसी लिन आवेदन दिएका थिए । मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार बिजनेसमा १ हजार ८ सय ६९, म्यानेजमेन्टमा ६ हजार ८ सय २९, एमडीएमएसमा ५ सय ८, विज्ञान तथा प्रविधिमा ८ सय २७ जनाले आवेदन दिएका थिए ।

बेलायत अध्ययनका लागि ५ हजार ४ सय ५३ जनाले एनओसी लिएका हुन् । मन्त्रालयका अनुसार बेलायत अध्ययन गर्न गत वर्षको तुलनामा बढी छन् । त्यस्तै, अमेरिकामा ३ हजार ६४, अस्ट्रेलियामा २ हजार २ सय ६६ छ। पछिल्लो समयमा अस्ट्रेलियाले अध्ययन गर्ने विद्यार्थीलाई कडाइ गरेपछि अस्ट्रेलियामा अध्ययन गर्न जानेको संख्या ह्वात्तै हटेको हो।

क्यानडामा अध्ययन गर्न एनओसी लिने तीन महिनामा ९ सय ११, भारतका लागि १ हजार ४ सय ४७ र चीनमा अध्ययन गर्न ३ सय ३८ जनाले अनुमति लिएको मन्त्रालयले जनाएको छ । युरोपियन मुलुक स्विजरल्यान्डको लागि १ सय १६, यूएईमा अध्ययन गर्न ६ सय ७१ जनाले एनओसी पाएका छन् ।

मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार थाइल्यान्ड १ सय १६, दक्षिण कोरियामा ९ सय ९४, कतारमा ३९, माल्टा १ सय ९५, जर्मनी ३ सय ३०, फ्रान्स ५ सय १९, फिनल्यान्ड २ सय ३६, डेनमार्क ३ सय १८ साइप्रसमा अध्ययन गर्न १ सय १२ जनाले एनओसी लिएका छन्।

१४ देशमा १–१ जनाले मात्र अध्ययनको लागि आवेदन दिएका छन्। अधिकांश विद्यार्थीले युरोपमा पढाइसँगै रोजगारीको अवसर पाउने भएपछि युरोपियन मुलुकमा अध्ययन अनुमतिको लागि आवेदन दिएका छन्। अधिकांशले विज्ञान र प्रविधि र आईटी विषय अध्ययन अनुमति मागेका छन्।