नेपाल पहिलो साफ उपाधि जित्ने तरखरमा


काठमाडौं ।

नेपाली महिला वा पुरुष राष्ट्रिय फुटबल टिमले अहिलेसम्म साफ च्याम्पियनसिपमा उपाधि जित्न सकेको छैन। यदि, आज हुने फाइनल जितेमा महिला राष्ट्रिय फुटबल टिमले करियरमा पहिलो साफ च्याम्पियनसिप उपाधि जित्नेछ।

सन् २०१० देखि नेपाली महिला फुटबल टिमले साफ च्याम्पियनसिपमा खेल्न थालेको हो। अहिलेसम्म ६ संस्करण सकियो तर, नेपाली टिमले उपविजेतामै चित्त बुझाइरहेको छ। नेपाली टिम गत संस्करणमा भारतलाई हराएर फाइनल पुगेपछि उपाधि जित्नेमा सबै आश्वस्त थिए । तर, फाइनलमा बंगलादेशी टिमसँग ३–१ ले हार्दै नेपाली टिम उपाधिबाट विमुख भएको थियो।


नेपाली टिम भारतसँग फाइनलमा ४ पटक हारेको छ । सन् २०१० मा बंगलादेशमा भएको प्रतियोगितामा भारतसँग नेपाल १–० ले हारेको थियो । दोस्रो संस्करण २०१२ मा श्रीलंकामा भएको थियो । त्यहाँ पनि भारत र नेपाल फाइनलमा पुगे । भारतले नेपाललाई ३–१ ले हराएर उपाधिबाट विमुख गर्‍यो।

सन् २०१४ मा पाकिस्तानमा भएको प्रतियोगितामा नेपाल भारतसँग नराम्ररी हा¥यो । फाइनलमा नेपाल ६–० ले हारेको थियो । यसपछि भारतमा भएको चौथो संस्करणमा नेपाल सेमिफाइनलमै पराजित भयो । पाँचौं संस्करणदेखि अहिले सातौं संस्करणसम्म लगातार नेपाल नै आयोजक बन्यो । पाँचौं र छैटो संस्करणमा नेपाल क्रमशः भारत र बंगलादेशसँग फाइनलमा पराजित भएको थियो ।

नेपाल आयोजक भएको यो लगातार तेस्रो अवसर हो । अहिले जस्तोसुकै भएपनि नेपालले उपाधि जित्नै पर्छ । नेपाली टिममा सावित्रा भण्डारी जस्ता विश्वस्तरीय खेलाडी छिन् । नेपालले अहिले उपाधि जित्नै पर्ने नेपाली टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा बताइन् ।

उनले भनिन्-‘गत संस्करणमा हामी बंगलादेशसँग पराजित भएका थियौं । तर यसलाई हामीले बदला लिने भन्दा पनि च्याम्पियन बन्ने अवसरका रूपमा लिएका छौं । अहिले पनि जित्न सकेनौ भने अझै ५–१० वर्ष पर्खनु पर्ने हुन्छ । त्यसैले जसरी पनि उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौं’।
साफ महिला च्याम्पियनसिपका नतिजा

फाइनलको टिकट १० हजार मात्रै बिक्री गरिने

अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेलको टिकट १० हजार मात्रै बिक्री गर्ने जनाएको छ । एन्फाले मंगलबार माउन्ट एभरेस्ट स्पोर्टस एन्ड इभेन्ट्स प्रालिसँगको सम्झौता रद्द गर्दै आफैं टिकट विक्री गर्ने जानकारी समेत दियो । माउन्ट एभरेस्टले टेन्डर प्रक्रियामार्फत ८० लाख रुपैयाँमा साफ च्याम्पियनसिपको टिकेटिङ अधिकार प्राप्त गरेको थियो ।

फाइनलको लागि टिकट बिक्री जावलाखेल खेल मैदान, एन्फा मुख्यालय र भद्रकालीस्थित आर्मी अफिसियल केन्द्रबाट लिन सकिने छ । टिकट विक्री आजै बिहान ८ बजेबाट सुरु हुनेछ । एन्फाले साधारण प्यारापिटतर्फ १० हजारमात्र टिकट विक्री गरिने बताएको छ । यसअघि नै ४ हजार एक सय टिकट विक्री भइसकेकोले अब ५ हजार ९०० वटा मात्रै टिकट बाँकी रहेको एन्फाले जनायो ।

एक जनाले साधारणतर्फ पाँच र भिआइपीतर्फ दुई वटा मात्रै टिकट लिन पाउने छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको नेपाल र भारतबीचको सेमिफाइनलमा क्षमताभन्दा बढी टिकट विक्री भएको र त्यसको छानबिन गर्दै एन्फाले सोमबार टिकट विक्रीमा रोक लगाएको थियो ।

म्याच रिपोर्ट अनुसार उक्त खेलमा करिब १८ हजार दर्शकलाई प्रवेश दिएको थियो । जबकी, दशरथ रंगशालामा करिब १५ हजार दर्शक क्षमता रहेको छ। साफ महिला च्याम्पियनसिपको उपाधिका लागि साँझ ६ बजेर ३० मिनेटमा नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन्।