तामाकोशी जलविद्युत केन्द्र आंशिक सञ्चालनको तयारीमा

13.07k
Shares

दोलखा।

गत असोज ११ र १२ गतेको अविरल वर्षा पछि आएको बाढी– पहिरोले क्षतिग्रस्त बनाई पूर्ण रुपमा बन्द रहेको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रलाई कार्तिक तेस्रो सातासम्म आंशिक रुपमा सञ्चालन गर्ने तयारी रहेको केन्द्रले जनाएको छ ।

अविरल वर्षा पछिको बाढी– पहिरोले केन्द्रको हेडवर्क कन्ट्रोल भवन पूर्ण रुपमा क्षति भएको थियो भने बालुवा थिग्राउने पोखरी र पानी बग्ने नहरको करिब २५ प्रतिशत भाग पूर्ण रुपमा क्षति भएको थियो । बाढी– पहिरोमा परी नेपाली सेनाका दुुई जवान र केन्द्रका दुुई कर्मचारीको ज्यान समेत गएको थियो ।

आगामी एक साता भित्र बाढी– पहिरोले क्षति गरेको स्थानमा जम्मा भएको ढुुङ्गा र फोहरहरु सफा गरी हाललाई विद्युत् केन्द्रमा रहेको दुुई वटा बालुवा थिग्राउने पोखरी मध्ये आंशिकरुपमा क्षति भएको एउटा बालुवा थिग्राउने पोखरी तथा पानी बग्ने नहरको सामान्य सिभिल मर्मत गरी कार्तिकको तेस्रो सातसम्म रन अफ द रिभर मोडलमा विद्युत् केन्द्रलाई आशंक रुपमा सञ्चालन गर्ने तयारी भईरहेको केन्द्रको प्रमुुख प्रबन्धक पूर्ण गोपाल रञ्जितले बताए । मर्मतमा संलग्न निर्माण कम्पनिले सोचेअनुसार काम नगरेकोले आंशिक उत्पादनमा ढिलाइ भएको केन्द्रका कर्मचारीहरुको भनाई छ । क्षतिग्रस्त आयोजना मर्मतको काम एसएसइसी हाई हिमालय जेभिले गरिरहेको छ । 

त्यसरी आंशिक सञ्चालनको क्रममा कार्तिकमा ३०० सय मेगावाट, मंसिरमा १७२ मेगावाट, पुुषमा १२३ मेगावाट, माघमा १०० मेगावाट, फागुनमा ९२ मेगावाट र चैत्रमा १०३ मेगावाट विद्युत् उत्पादन हुने प्रमुख प्रबन्धक पूर्ण गोपाल रञ्जितले बताए । त्यसको लागि आफू  लगायत केन्द्रका कर्मचारीहरु दशै र तिहारको समेत पर्बाह नगरी चौविसै घण्टा फिल्डमै खटिएको उनको भनाई छ । 

बाढी– पहिरोबाट केन्द्रको हेडवर्क कन्ट्रोल भवनमा रहेको सम्पूर्ण विद्युतिय उपकरणहरु पूर्ण रुपमा क्षति भएको, मेकानिकल उपकरणहरुमा गेट तथा हाईड्रोलिक सिस्टममा क्षति पुगेको, केन्द्रमा पुग्ने गोगर– लामाबगर सडक खण्डको ५० मीटर सडक पूर्ण रुपमा क्षति भएको, केन्द्रबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्ने गोगर– खिम्ती २२० के.भी. प्रशारणलाईनको सिंगटी स्थित चप्लेटीमा रहेको ४६ नम्बरको टावरमा समेत क्षति भएको केन्द्रले जनाएको छ ।

बाढी– पहिरोका कारण उत्पादन पूर्ण रुपमा बन्द भएपछि असोजमा ८५ करोड छ लाख ४७ हजार नौ सय ३० रुपैयाँ नोक्सान भएको र कार्तिक महिनामा पनि विद्युत् उत्पादन गर्न नसकिए थप ८५ करोड ९० लाख ९६ हजार रुपैयाँ नोक्सान हुने प्रमुख प्रबन्धक पूर्ण गोपाल रञ्जितले बताए ।

क्षति भएको केन्द्रको हेडवर्क कन्ट्रोल भवन तथा बालुवा थिग्राउने पोखरीलाई पूर्ननिर्माण गरी विद्युत् केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक काम सुुरु भई सकेको र त्यसको लागि नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी एनईए इन्जिनियरीङकम्पनि लिमिटेडलाई परामर्श दाताको रुपमा नियुक्त गरिएको केन्द्रले जनाएको छ । 

केन्द्रले बाढी– पहिरोबाट भएको क्षतिको लागि राष्ट्रिय विमा कम्पनी लिमिटेडलाई एक अरब ७९ करोड छ लाख ९६ हजार सात सय ८५ रुपैयाँ विमादावी पेस गरिएको केन्द्रको प्रमुख प्रबन्धक पूर्ण गोपाल रञ्जितले बताए ।