नेपालमा विभिन्न समयमा भएका आन्तरिक द्वन्द्व, भूकम्प, बाढी पैरो, सडक दुर्घटना, विभिन्न घटना, दुर्घटनामा परि स्पाइनल इन्जुरी (मेरुदण्डको पक्षघात) को अवस्था विकराल छ । सरकारी काममा जाँदा अपांग मैत्री भवन, शौचालय, कुर्सी, बाटो छैन भने सडकमा सार्वजनिक सवारी साधन रोक्दै रोक्दैनन् ।
शारीरिक रुपमा अशक्त व्यक्तिहरुलाई समाजले हेर्ने दृष्टिकोण कठैबरा भन्ने र दया भाव बोल्ने भन्दा पनि उ आम मानव सरह सम्पूर्ण अधिकार प्राप्त मानव हो भन्ने व्यवहार हुनुपर्छ ।तर, त्यस्तो देखिँदैन।
गोकर्णेश्वर नगरपालिका १ अपांग पुनर्स्थापना केन्द्र माकलबारीका संस्थापक तथा पारिजात बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टंकराज काफ्ले भन्छन्। शहरमा त यस्तो अवस्था छ भने गाउँको अवस्था कस्तो होला ? उनी प्रश्न गर्छन्।
यही अवस्थालाई ध्यानमा राखेर सूर्य विनायकमा आफ्नै नेतृत्वमा सहकारी खोली अपांगता भएका व्यक्तिलाई सहज लगानी, बचत लगायतमा प्राथमिकता दिएको उनी बत्ताउँछन्। अपांगता भएका व्यक्तिले १ अरब ब्यालेन्सिट भएको सहकारीको नेतृत्व गरेको सफल सहकारी यही भएको उनको दाबी छ।
अध्यक्ष काफ्ले २२ बर्षको युवा हुँदा कालिकोटमा सडक सर्वे गर्ने क्रममा दुर्घटनामा परि अपांग भएको बताउँछन् । दुर्घटनापछि उनको ३ महिनापछि मात्र पूर्ण होस आएको र आफू ९ महिना सम्म त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमै बसेर उपचार गराएको बताउँछन् । त्यतिबेला काफ्लेलाई अब म केही गर्न सक्दिन जस्तो लाग्ने र कहिले मर्छु भन्ने निराशा आउँने, आत्महत्या गरौं जस्तो लाग्ने गरेको उनी सुनाउछन्। उनले आफू त्यो समयमा डिप्प्रेसनममै पुगेको बताउँछन्।
त्यसपछिका दिन मेरो परिवारले घर बाहिरको संसार, समाज र सम्भावना देखायो । वैशाखी टेकेर दिनमा ५ किलो मिटर हिँड्न थाले । दिन प्रतिदिन आत्मबल बढ्यो र सहज मानिससँग प्रतिस्पर्धा गर्ने भावनाको विकास भयो र प्रतिस्पर्धामा उत्रिए । अहिले चारपांग्रे बाईक प्रतिस्पर्धामा कुदाउँछु । कोही बिरामी भएको सुन्दा आफ्नो विगत सम्झन्छु र सबैभन्दा पहिला बिरामीको अवस्था बुझ्न आफै पुग्छु । दुःख पर्दा सच्चा सहयोग गर्ने समाजको खाँचोछ । पूरानो पुस्तामा भन्दा नयाँ पुस्तामा सहयोग र सम्मानको भावनाको विकास भएको पाइन्छ । हाम्रो प्रयासमा सहकारी खोलेर अपांगहरुलाई स्वावलम्बी बनाउने वातावरणको विकास गरेका छौ । सदस्यता दिँदा पनि छुटको व्यवस्था गरेका छौ । वार्षिक रुपमा राहत हुने गरी ५० हजार बराबरको सुविधा दिन्छौ । वास्तविक सहयोग गर्न कठीन छ । माकलबारीमा यस्तै बालबालिकाका लागि खोलिएको संस्थामा दाल, चामल, औषधि सहयोग गर्दै आएका छौ । कोभिडका बेला पनि औषधि, माक्स, खाद्यान्न सहयोग गरेका थियौ । अपांगहरुमा आत्मनिर्भर नभएसम्म व्यक्तिगत विकास हुँदैन । यसका लागि एकीकृत प्रणालीको विकास हुनुपर्छ ।’ उनी भन्छन्
राज्यले सहायक सामग्री अपांगता परिचयपत्रका आधारमा सहुलियत दरमा खरिद गर्न सक्ने व्यवस्था गर्नुपर्छ । चारपांग्रे मोटरसाईकल खरिद गर्न निकै झन्झटिलो छ । कानूनमा छुट छ तर प्रकृया निकै झन्झटिलो छ । यसलाई सहज बनाइनुपर्छ । राज्यले सामाजिक सुरक्षा भन्दा स्वरोजगार र उपचारमा नै सुविधा दिनुपर्छ । अंपागका नाममा एउटा औला नभएको वा पहुँचवालाले मात्र सुविधा पाएको छ । यो मानेमा शरीर सपाग तर मानसिक रुपमा अपांग भएका मानिस यो समाजमा धेरै छन् । अपांग दुईप्रकारका हुन्छन,नियमित औषधि सेवन गर्ने मानिस आँखाले नदेखिने डिसेवल हो भने देखिने गरी शरीर अपांग भएका अर्को हुन काफ्ले भन्छन । समाजले गर्ने व्यवहारका कारण अपांग भएका व्यक्तिहरु बढी घमन्डी र जिद्धि हुन्छन् । नेपालको कुल जनसंख्याको २ दशमलब ४ प्रतिशत अपांगता भएका व्यक्ति छन् । जसमा ६ हजार भन्दामाथि मेरुदण्डको पक्षघात भएका अंपागहरु रहेको काफ्ले बताउँछन् ।
प्रतिक्रिया