साफ महिला च्याम्पियनसिप: सेमिफाइनलमा भारतसँग भिड्दै नेपाल


काठमाडौं ।

साफ महिला च्याम्पियनसिपको सेमिफाइनलका खेल आज हुँदै छन्। आज पहिलो सेमिफाइनल खेल बङ्गलादेश र भुटानबीच दिउँसो साढे १ बजे दशरथ रङ्गशालामा हुने छ।

त्यस्तै दोस्रो सेमिफाइनल खेल नेपाल र भारतबीच साँझ साढे ६ बजेदेखि सुरु हुने छ।  समूह ए बाट बङ्गलादेश र भारत सेमिफाइनलमा पुगेका छन् भने समूह बी बाट नेपाल र भुटान सेमिफाइनलमा पुगेका हुन् ।

बङ्गलादेश समूह ए मा २ खेलमा ४ अङ्क हासिल गर्दै समूह विजेता बनेर सेमिफाइनल खेल्ने भएको हो। बङ्गलादेशले पाकिस्तानसँग १-१ को बराबरी खेलेको थियो भने भारतलाई ३-१ गोल अन्तरले पराजित गर्दै समूह विजेता बनेको थियो। त्यस्तै भारतले भने पाकिस्तानविरुद्ध ५-२ को जित निकालेको थियो । त्यस्तै समूह ए बाट पाकिस्तान भने तेस्रो हुँदै समूह चरणबाट बाहिरिएको थियो।

त्यस्तै समूह बी मा भने नेपाल समूह विजेता हुँदै सेमिफाइनलमा पुगेको छ। नेपालले ३ खेलमा ७ अङ्क हासिल गरेको छ। नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा माल्दिभ्सलाई ११-० ले र तेस्रो खेलमा श्रीलङ्कालाई ६-० ले पराजित गरेको थियो । नेपालले तिन खेलमा कुल १७ गोल गर्‍यो भने कुनै गोल खाएको छैन।

त्यस्तै भुटान भने ३ खेलमा ७ अङ्कनै हासिल गर्दै गोल अन्तरको आधारमा नेपालभन्दा पछि परेपछि उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ। भुटानले पहिलो खेलमा नेपालसँग गोल रहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलङ्कालाई ४-१ ले र तेस्रो खेलमा माल्दिभ्सलाई १३-० ले पराजित गरेको थियो।