आईसीसी विश्वकप लिग-२ मा आज अमेरिकासँग खेल्दै नेपाल


काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टिमले आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो पहिलो खेलमा आज अमेरिकाको सामना गर्दै छ। एकदिवसीय फर्म्याटमा हुने यो खेल नेपाली समय अनुसार आज राति ९: १५ बजेदेखि अमेरिकाको डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा सुरु हुने छ।

यस सिरिजको पहिलो खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ। क्यानले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको छ।

नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, ललित राजवंशी र सन्दीप लामिछाने रहेका छन् ।  देव खनाल र सागर ढकाललाई रिजर्भमा राखिएको छ।

नेपालले अक्टोबर २९ मा स्कटल्याण्डसँग, नोभेम्बर २ मा फेरी अमेरिकासँग र नोभेम्बर ४ मा फेरी स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ। लिग २ को अङ्क तालिकामा नेपाल सातौँ स्थानमा रहेको छ। नेपालले अहिलेसम्म खेलेका ८ खेलमा केवल एक खेल मात्र जितेको छ भने ६ खेलमा पराजित भएको छ।

जबकी एक खेल अनिर्णीत हुँदा अङ्क बाँडेको थियो। अहिलेसम्म १२ खेल खेल्दै १६ अङ्कसहित क्यानडा शीर्ष स्थानमा छ भने अमेरिका ९ खेलमा १२ अङ्कसहित दोस्रो स्थानमा रहेको छ। त्यस्तै नेदरल्याण्डस् ८ खेलमा १२ अङ्क हासिल गर्दै तेस्रो र स्कटल्याण्ड ८ खेलमा ११ अङ्क हासिल गर्दै चौथो स्थानमा छ भने नामिबिया १२ खेलमा १० अङ्क हासिल गर्दै पाँचौँ स्थानमा छ।