भारतको लाइफ केयरलाई उपाधि


काठमाडौं ।

वीपी कोइराला स्मृति कप टी २० प्रतियोगिताको उपाधि भारतको लाइफ केयर क्रिकेट क्लबले जितेको छ। रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा सम्पन्न फाइनलमा लाइफ केयरले नेपालको नेक्सस रुपन्देही एघारलाई २१ रनले पराजित गर्दै उपाधि जित्यो ।

उपाधि जितेको लाइफ केयरले ५ लाख र उपविजेता नेक्सस रुपन्देहीले ३ लाख रुपैयाँ प्राप्त गरे। उपाधि जित्न १६५ रनको लक्ष्य पाएको नेक्सस रुपन्देहीले पुरै २० ओभर ब्याटिंग गरेपनि सबै विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । नेक्सस रुपन्देहीका कप्तान कृष्ण कार्कीले सर्वाधिक ३५ रन बनाए।

लाइफ केयरको बलिंगमा सक्षम शर्माले सर्वाधिक ३ विकेट लिए। यस अघि टस जितेर ब्याटिंग गरेको लाइफ केयरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६४ रन बनायो । लाइफ केयरका लागि शुभम लाम्बाले सर्वाधिक ३९ रन बनाए । त्यस्तै दिपक पुनियाले ३८ रन बनाए । नेक्सस रुपन्देहीको बलिंगमा दिपेश कंडेलले २ विकेट लिए।

प्रतियोगिताकै उत्कृष्ट खेलाडी तथा ब्याटर लाइफ केयरका दीपक पुनिया घोषित भए। उनले क्रमशः ३५ र २० गरी जम्मा ५५ हजार रुपैयाँ पुरस्कार पाए। त्यस्तै प्रतियोगिताकै उत्कृष्ट बलर नेक्सस रुपन्देहीका शाहब आलम घोषित भए।

उनले २० हजार रुपैयाँ पाए । फाइनल खेलको प्लेयर अफ द म्याच शुभम लाम्बा घोषित भए। ८ दिन चलेको प्रतियोगितामा ५ वटा दक्षिण एसियाली टेस्ट राष्ट्रका क्लब टिमहरु सहभागी रहेका थिए।