एकता कपूरलाई आमासहित प्रहरीमा हाजिर हुन आदेश


एजेन्सी ।

चर्चित भारतीय निर्मात्री एवम् निर्देशक एकता कपूर र उनकी आमा शोभा कपूरलाई मुम्बईं प्रहरीले सोधपुछका लागि बोलाएको छ। उनीहरूलाई आज बिहीबार हाजिर हुनका लागि प्रहरीले निर्देशन दिएको हो।

एकताको गन्दी बात वेब सिरिजकको सिजन–६ मा नाबालिगहरूको आपत्तिजनक दृश्य खिचेको आरोपमा हालै एकता र उनकी आमा शोभा कपूरविरुद्ध बोरिवलीको एमएचबी पुलिस स्टेसनमा पोक्सो ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

ओटीटीबाट प्रसारण हुने सो वेब सिरिजका लागि एकता र उनकी आमामाथि नाबालिगहरूको आपत्तिजनक दृश्य छायाकंन गरेको आरोप छ।

एकताको अल्ट डिजिटल मिडिया इन्टरटेनमेन्ट लिमिटेडले सामाजिक सञ्जालमा स्पष्टीकरण जारी गर्दै भनेको छ, ‘सुटिङका क्रममा उत्पादन कम्पनीले पोक्सो ऐनजस्ता सबै कानुनको पालना गर्छ। तर, नाबालिगको मामलामा जुन कुरा बाहिर आयो, त्यो सब गलत हो।’

साथै शोभा र एकता हरेक दिन सेटमा उपस्थित नहुने र उनीहरूबिना पनि काम सम्हाल्ने केही टोली रहेको बताइएको छ। मुद्दा अदालतमा भएकाले अनुसन्धानमा सहयोग गर्ने र कम्पनीलाई न्यायपालिकामाथि पूर्ण विश्वास रहेकोसमेत विज्ञप्तिमा जनाइएको छ।

उजुरीकर्ताले शृंलाको एक एपिसोडमा पोक्सो ऐनको नियम उल्लघन गर्दै केही दृश्य देखाइएको आरोप लगाएका छन्।