शङ्खध्वनिका बारेमा सन् १९२८ मा जर्मनीको बर्लिन विश्वविद्यालयले एक अनुसन्धान गरेको थियो । सो अनुसन्धानबाट शङ्खध्वनि गर्दा कीटाणु नष्ट हुने कुरा पत्ता लागेको थियो ।
प्रतिसेकेन्ड २७ घनफिट शक्तिको जोडले बजाइएको शङ्खध्वनिले १ हजार २ सय फिटसम्म टाढा रहेका जीवाणु नष्ट हुन्छन् भने २ हजार ६ सय फिटसम्म टाढाका जीवाणु मूच्र्छित हुने कुरा सो अध्ययनले देखाएको थियो । यसका साथै औलो, हैजाका कीटाणु भगाउन र छारेरोग, मूच्र्छा पर्ने रोगका लागि पनि शङ्खध्वनि प्रभावकारी हुने बताइएको छ ।
यता धार्मिक दृष्टिले हेर्दा शङ्खलाई ब्रह्माण्डकै प्रतीक मानिन्छ । यसको आवाज ॐ को उच्चारण गर्दा आउने आवाजजस्तै हुन्छ । जसरी ॐ उच्चारण गरी भ्रामरी प्राणायाम गर्दा स्वास्थ्यलाभ हुने कुरा योगगुरु रामदेवले बताएका छन्, त्यसै गरी शङ्खको ओमकार आवाजका तरंगहरुले वातावरण कीटाणुरहित बनाउन मद्दत मिल्छ भने स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ ।
कुनै धार्मिक कार्य गर्दा बजाइने शङ्खको आवाजले त्यस बेलाको वातावरणलाई आत्मीयतासँग जोडेर प्रगाढता बनाइदिन्छ । साथै ध्यान केन्द्रित गराउन मद्दत गर्छ । जब ध्यान केन्द्रित हुन्छ, तब मन स्वच्छ एवं तनावमुक्त रहन मद्दत पुग्छ ।
शङ्खध्वनि हुने ठाउँमा प्रेतात्माहरु पनि रहन नसक्ने धर्मशास्त्रीहरुको मत छ । देवीभागवत महापुराणमा शङ्खको ध्वनिले भूतप्रेत भगाउने र देवताहरु खुशी हुने कुरा उल्लेख गरिएको छ । शङ्ख विष्णुको प्रिय बाजा भएकाले मृत शरीर घाटतर्फ लैजाँदा विष्णुका दूत आऊन् भनी शङ्ख बजाउने परम्परा छ ।
शङ्ख एकोहोरो बजाइयोस् वा दोहोरो, यसको आवाजले भूतप्रेत भाग्छन् र देवताहरुको आगमन हुन्छ भन्ने मान्यता छ । जोडसँग बजाएको शङ्खध्वनिबाट उत्पन्न तरंगले वातावरण कीटाणुरहित बनाउन मद्दत पुग्छ भन्ने कुरा माथि नै उल्लेख गरियो । शङ्खभस्मजस्ता आयुर्वेदिक औषधि पनि शङ्ख वा यस्तै वस्तुबाट बनाइने भएकाले शङ्ख आफैँ औषधिमय पनि छ । साथै यसको आवाज संगीतमय छ ।
संगीतमय आवाजबाट स्वास्थ्यलाभ लिन सकिन्छ, मन आनन्दित हुन्छ । शायद शङ्ख–घण्टकै आवाजको अनुशरण गरेर होला, अहिले विभिन्न आवाजलाई संगीतबद्ध गराएर यसबाट उपचार गरिने प्रविधि पनि विकास भइसकेको छ । स्मरण रहोस्, उच्च रक्तचाप भएका र अशक्तहरुले भने डाक्टरको सल्लाह लिएर मात्र शङ्ख बजाउनु उपयुक्त हुन्छ ।
प्रतिक्रिया