काम लागेन सरकारी आश्वासन, निजीकरणको तयारीमा हेटौंडा कपडा र सिमेन्ट

940
Shares

हेटौंडा । 

सरकारले लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योग र समस्यामा रहेको हेटौंडा सिमेन्ट उद्योगको वर्गीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको छ ।

उक्त निर्णय ती उद्योगहरु निजीकरणका लागि प्रक्रिया शुरु भएको मानिएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा बसेको समिति बैठकले उद्योगहरुको वर्गीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको हो ।

निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका ती संस्थानको निजीकरण वर्गीकरणका निम्ति मन्त्रिपरिषषद्मा प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्बाट वर्गीकरण भएपछि सम्पत्ति तथा दायित्व मूल्यांकनका लागि विशेषज्ञसहित अध्ययन समिति गठन गरिनेछ । सम्पत्ति र दायित्व मूल्यांकनपछि विज्ञसहितको सुझावका आधारमा निजीकरणको ढाँचा र प्रक्रिया पहिचान गरी नेपाल सरकारसमक्ष सिफारिस गरिनेछ ।

सरकारले हरेक बजेटमा हेटौंडा कपडा उद्योग पुनर्संञ्चालन ल्याइने बताउँदै आएको छ । उद्योग सार्वजनिक–निजी साझेदारीमा सञ्चालनमा ल्याइने बजेटमार्फत् बताइएको हो । यसो भनिएको सातौंं पटक भएको थियो । आर्थिक वर्ष २०७८-०७९ को बजेटमा पनि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले नै यसबारे घोषणा गरेका थिए । उद्योग पुनर्संञ्चालनमा ल्याउन तत्कालीन प्रधानमन्त्री केपी शर्माओलीले वागमती प्रदेशसभा बैठकमा नयाँ मेसिन ल्याएर उद्योग चलाउने बताउन भ्याएका थिए ।

२०३६ सालमा चीन सरकारले करिब २० करोड लगानी गरेर स्थापना गरेको उद्योग २०५७ सालयता बन्द छ । चरम राजनीतिकरण र प्रशासनिक कमजोरीका कारण बन्द भएको उद्योग पुनर्संञ्चालन गर्ने भन्दै ७ उद्योग मन्त्रीले ‘प्रयास’ गरे । डा. बाबुराम भट्टराई अर्थमन्त्री हुँदा त ९ करोड अनुदान नै दिइयो । उक्त रकम खोलामा पानी बगेसरह बग्यो ।

२०७० सालमा तत्कालीन माओवादीको हेटौंडा महाधिवेशनका क्रममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्योग जसरी पनि सञ्चालन गरिछाड्ने भाषण गर्दा मन्त्रिपरिषद्ले उद्योग खारेज गरेर भवन र भौतिक पूर्वाधारबापत् रकम औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा शेयरका रुपमा लगानी गर्ने निर्णय गरेको थियो ।

निरन्तर घाटामा गएर उद्योग चल्नै नसक्ने अवस्था आएपछि २०५७ माघ १८ गते मन्त्रिपरिषद् निर्णयले कामदार र कर्मचारीलाई सामूहिक अवकास दिइ उद्योग बन्दको घोषणा ग¥यो । सरकारले २०६९ माघ १२ मा उद्योग खारेज गर्दै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई मूल्यांकन स्वीकृत गर्दै लिलाम गर्ने अधिकार दियो । लिलाम गर्न दिइएको अधिकार सदुपयोग गर्दै कार्यालयले मेसिनको ८ करोड १४ लाख २७ हजार ६ सय ५० रुपियाँ र भवन तथा भौतिक पूर्वाधारको ८ करोड १२ लाख २५ हजार रुपियाँ मूल्यांकन गरेको थियो । 

उद्योगले आव २०३५-०३६ देखि व्यावसायिक उत्पादन शुरु गरेको थियो । उद्योग सञ्चालनमा रहँदा करिब १ हजार २ सय महिलासहित १ हजार ५ सयभन्दा धेरैले एकै छानामुनि रोजगारी पाएका थिए ।

उत्पादन क्षमता विकास गर्नसके बजारमा हेटौंडा सिमेन्टकै दबदबा कायम रहने भए पनि पुरानो उत्पादन प्रविधिका कारण हेटौंडा सिमेन्ट धरासयी छ । जर्मन मोडलको प्रविधि रहेकाले सिमेन्ट उत्पादनका दृष्टिले उक्त प्रविधिलाई विश्वमा उत्कृष्ट मानिन्छ । किनकि, तोकिएको गुणस्तर मापदण्ड पुगेका कच्चापदार्र्थ मात्र प्रयोगशालाले स्वीकार गर्दछ । उद्योग हाल मर्मतका लागि भन्दै बन्द छ ।

२०३३ सालमा स्थापना भइ २०४२ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको उद्योगले स्थापनाकालमा नेपाल सरकारको जमानतमा एसियाली विकास बैंकबाट ७१ करोड ८८ लाख ८३ हजार २ सय ६८ ऋण लिएको थियो । 

भुकम्पका कारण क्षति भएका भौतिक संरचनामध्ये हेटौंडा सिमेन्ट प्रयोग भएका संरचनाहरुमा अन्य सिमेन्टको तुलनामा कम क्षति भएको प्राविधिक निरीक्षणबाट देखिएको उद्योगका पूर्वअध्यक्ष रघुरमण न्यौपानेले बताए ।

पूर्वअध्यक्ष न्यौपानेले जगेडा पुर्जाको आकाशिँदो मूल्य, कोइला र विद्युत्लगायत कच्चापदार्थको महंगो मूल्यका कारण बढेको उत्पादन लागतलाई दृष्टिगत् गरी कोइला, विद्युत् र मर्मतसम्भारमा हुने जगेडा पुर्जाको खपतमा न्यूनीकरण हुन नसक्नु उद्योगको समस्या रहेको बताए ।उद्योग सरकारी स्वामित्वको भएकाले सिमेन्टको बजार माग र आपूर्तिमा सन्तुलन कायम गर्न यसको अहम् भूमिका रहने भन्दै उनले निजीस्तरका सिमेन्ट उद्योगहरुबाट हुनसक्ने बजार एकाधिकारमाथि नियन्त्रण र नियमन गर्न सघाउ पु¥याएर हेटौंडा सिमेन्ट निरन्तर सञ्चालनका लागि योगदान पु¥याउनु आवश्यक भएको बताएका छन् ।

उद्योगले पछिल्ला वर्षहरुदेखि निरन्तर घाटा व्यहोर्दै आएको छ । उद्योगले आर्थिक वर्ष २०७५-०७६ देखि २०७८-०७९ सम्म ६५ करोड ४७ लाख १६ हजार ७ सय ८२ रुपियाँ नोक्सान व्यहोरेको तथ्यांक छ । आव २०७४-०७५ मा १६ करोड ३६ लाख नाफा कमाएको हेटौंडा सिमेन्ट त्यसपछि निरन्तर नोक्सानमा छ ।

धादिङस्थित जोगीमारा, मकवानपुरको आमभञ्ज्याङस्थित मजुवा, भैंसे र ओखरे खानीबाट चुनढुंगा ल्याएर उद्योगले सिमेन्ट उत्पादन गरिरहेको छ । मजुवा तथा जोगीमाराको चुनढुंगा उच्च गुणस्तरको मानिन्छ ।