रवि पक्राउको विरोधमा पोखरामा आज पनि रास्वपाको प्रदर्शन


काठमाडौँ।

पूर्वगृहमन्त्री एवं पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार पनि प्रदर्शन गरेको छ । पोखरास्थित पृथ्वीचोकमा रास्वपाका नेता तथा कार्यकर्ता जम्मा भएर लामिछानेको पक्राउको विरोधमा प्रदर्शन गरीरहेका छन् ।

प्रदर्शनमा उत्रिएका उनीहरुले सहकारी पीडितलाई न्याय दे, राजनीतिक प्रतिशोध अन्त्य गर, भ्रष्ट सरकार मुर्दावाद लगायतका नारा लगाएका छन् ।

आइतबार पनि सो पार्टीले सहिदचोकमा प्रदर्शन गरेको थियो ।

सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि शुक्रबार काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई आइतबार कास्की अदालत पेश गरिएको थियो ।

अदालतमा भएको थुनछेक बहसपछि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइएको छ ।