अमेरिकाविरुद्धको टी-२० सिरिज नेपालद्वारा क्लिनस्विप


काठमाडौं ।

नेपालले अमेरिकाविरुद्धको टी-२० सिरिज क्लिनस्विप गरेको छ। टी-२० सिरिजको तेस्रो खेलमा नेपालले ८ विकेटको सहज जित हासिल गर्दै नेपालले सिरिज क्लिनस्विप गरेको हो।

अमेरिकाले दिएको १५७ रनको लक्ष्य पछ्याएको नेपालले १८.३ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। नेपालका लागि असिफ सेखले अर्धशतक प्रहार गरेका थिए। आसिफले टी-२० क्रिकेटमा छैटौं अर्धशतक बनाएका हुन्। त्यस्तै अनिल शाहले १३, कुशल भुर्तेलले अविजित ४० र कुशल मल्लले अविजित ४४ रन बनाएका थिए।

त्यस्तै अमेरिकाका बलर जुआनोय ड्राइसडाले र जसदीप सिंहले एक एक विकेट लिएका थिए। यस अघि टस जितेर पहिला ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा ५ विकेट गुमाउँदै १५६ रन बनाएको थियो। अमेरिकाका लागि साइतेजा मुकर्मल्लाले सर्वाधिक ६८ रन बनाएका थिए भने मिलिंद कुमारले ४३ रन बनाएका थिए।

त्यस्तै नेपाली बलर सोमपाल कामीले ३ विकेट लिएका थिए भने रिजन ढकाल र ललित राजबंशीले एक एक विकेट लिएका थिए। योसँगै नेपालले ३ खेलको सिरिज ३-० ले जितेको छ।

नेपालको टी-२० क्रिकेट इतिहासमा कुनै पनि सिरिज क्लीन स्वीप गरेको यो पहिलो पटक हो। नेपालले अब अमेरिका र स्कटल्याण्डसहितको आईसीसी विश्वकप लिग-२ को सिरिज खेल्ने छ।