तेक्वान्दोकी अञ्जलीलाई अस्ट्रेलियामा स्वर्ण


काठमाडौं ।

नेपालकी अञ्जली तामाङले अस्ट्रेलियामा भएको भिक्टोरिया स्टेट केपीएनपी ओपन तेक्वान्दो सिरिजमा स्वर्ण पदक जितेकी छन्।

अस्ट्रेलियाको भिक्टोरिया राज्यमा भएको तेक्वान्दो सिरिजमा अञ्जलीले ग्यरोगीतर्फ महिला ६२ केजी तौलसमूहमा स्वर्ण जितेकी हुन् । भिक्टोरियास्थित क्रेगबर्न स्पोटर्स स्टेडियममा भएको फाइनलमा अञ्जलीले अस्ट्रेलियाकै फिडोर पाकलाई १२–३ स्कोरले हराइन् । सेमिफाइनलमा पनि उनले अस्ट्रेलियाकै इसाबेल पाभियालाई १५–५ ले हराउँदै फाइनलमा स्थान बनाएकी थिइन् । त्यसअघि उनले पहिलो चरणमा नेपालकी सन्ध्या सिंहबाट बाई पाएकी थिइन् ।

अञ्जलीले लामो समयदेखि ४९ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्दै आइरहेकी छन् । उनले चीनमा सम्पन्न १९औं एसियन गेम्समा पनि यसै तौलसमूहमा प्रतिस्पर्धा गरेकी थिइन्। उक्त एसियन गेम्समा अञ्जलीले एक फाइटसमेत जितेकी थिइन् । तर, अन्तिम आठमा भने उनी थाइल्यान्डकी पानिपाक वाङफातानकितसँग पराजित भइन्। पानिपाकले सोही एसियाडमा स्वर्ण पदक पनि जितेकी थिइन्।