न्युजिल्यान्ड टी २० विश्व च्याम्पियन बन्यो

दक्षिण अफ्रिका लगातार दोस्रो फाइनलमा पराजित


काठमाडौं ।

न्युजिल्यान्डले दुबईमा आयोजित नवौं संस्करणको महिला टी २० विश्वकपको उपाधि जितेको छ । आइतबार भएको फाइनल खेलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ३२ रनले हराएको हो। न्युजिल्यान्डले १५९ रनको विजयी लक्ष्य दिएको जवाफमा दक्षिण अफ्रिकाले १२६ रन मात्रै बनाएको थियो।

दक्षिण अफ्रिकाको लागि कप्तान लाउरा वोलभार्टले सर्वाधिक ३३ रन तथा ताजमीन ब्रीट्सले १७ रन, कलो त्रयोनले १४ रन र एनेरी डेरेकसनले १० रन बनाउँदा अन्य ब्याटरहरूले दोहोरो अंकमा रन बनाउन सकेनन्। न्युजिल्यान्डका बलिङमा एमेलिया केर र रोजमेरी मेरले सर्वाधिक ३/३ विकेट लिए।

योसँगैं महिला टी २० विश्वकपमा न्युजिल्यान्ड चौथो टिमको रूपमा च्याम्पियन बनेको छ। यसअघि अस्टे«लियाले ६ पटक उपाधि जित्दा इंग्ल्यान्ड र वेस्ट इन्डिजले एक एक पटक उपाधि जितेका हुन्।

लगातार दोस्रो फाइनल खेलेको दक्षिण अफ्रिकाले भने यसपटक पनि उपाधि जित्न सकेन। गत विश्वकपको आयोजना दक्षिण अफ्रिकाले नै गरेपनि फाइनलमा अस्ट्रेलियासँग टिमले पराजयको सामना गर्नुपरेको थियो।

पहिले ब्याटिङमा न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५८ रन बनाएको थियो । न्युजिल्यान्डको ब्याटिङमा एमेलिया केरले सर्वाधिक ४३ रन जोडिन् भने ब्रूक हालीदेले ३८ रनको योगदान दिइन् ।

७० रनमा कप्तान सोफि डिभाइन (६ रन) तेस्रो विकेटको रुपमा आउट भएपछि केर र हालीदेले ब्याटिङ शसक्त बनाएका थिए। उनीहरुले चौथो विकेटका लागि ५७ रनको साझेदारी गरेका थिए। यही नै जितको आधार बनेको थियो।

दक्षिण अफ्रिकाका बलरमा ननकुलुलेको मलाबाले सर्वाधिक २ विकेट लिएकी थिइन् । उनले यो प्रतियोगितामा १२ विकेटसंख्या पुर्‍याएकी थिइन् ।