रविलाई एमालेको जवाफ- सरकार मरेको होइन, सक्रिय भएको छ


काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले आफू पक्राउ पर्न थालेपछि दिएको अभिव्यक्तिलाई लिएर सत्तारुढ नेकपा एमालेका नेताले जवाफ फर्काएका छन् ।

लामिछानेले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि ‘सरकार मरेको र आफूलाई जुठो परेको’ अभिव्यक्ति दिएपछि एमाले नेता विष्णु रिजालले जवाफ फर्काएका हुन् ।

‘सरकार मरेको होइन, सक्रिय भएको छ,’ उनले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा लेखेका छन्, ‘रवि लामिछानेलाई पक्राउ गर्न पुर्जी जारी हुनु न खुसीको कुरा हो न दुःखको । कानुनले आफ्नो बाटो लिन्छ, लिनुपर्छ ।’

यसअघि लामछिानेले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत सरकार मरेको र आफूहरूलाई जुठो परेको प्रतिक्रिया दिएका थिए।