अस्ताइन् दुर्गमकी डाक्टर : प्रेमकला

44.84k
Shares

बाजुरा ।


आँसुको भेलमा डुबेको रहेछ जिन्दगी !
मेरो हाँसो मैले कुनै पल छर्न सकिन ! !
दुःख र बेदानमा डुबेको रहेछ जिन्दगी !
मेरो खुसी कुनै पल मैले पाउन सकिन….! ! दुर्गमका दुःखी पीडित असाह्य बिरामीको उपचारमै दिन बिताएकी दुर्गमकी डाक्टर उपमानले चिनिएकी सी.अहेव स्वर्गीय प्रेमकला मल्लले सन २०१८मा आफ्नो फेसबुक वालमा पीडा पोखेकी थिइन् । बिरामीको उपचारमै जीवन काटेकी मल्ल अविवाहित थिइन् ।


हिमाली गाउँपालिकाको रुगिन गाउँ जान कवाडीको उकालोमा हिँडिरहेका थियौँ । रुगिन स्वास्थ्य चौकीकी तत्कालिन् इन्चार्ज प्रेमकला मल्लले भनिन्, सर मलाई हतार छ , अगाडी जाँउ ? किन त्यस्तो हतार हामी पनि रुगिन नै जाने हो । तपाईँ पनि रुगिनको कार्यक्रममै जाने त होला नि ? उनले भनिन् हुन् त हो सर तर मरो सेवाग्राहीले तारनतार फोन गरिकन कति वेला पुग्नुहुन्छ भनेर सताइरहेकी छिन् । सायद तिनलाई सुत्केरी बेथाले च्यापेको होला ।

यति भन्दै प्रेमकला सिस्टर अगाडी कुदिन् । टन्टलापुर गर्मी कुवाडीको उकालो स्याँ फ्या गर्दै हामी पनि प्रेमकलाको पछिपछि लम्क्यौँ । करिब आधा घण्टा उकालो बाटो पार गरेपछि रुगिन गाउँ आयो । जीवनमा पहिलो पटक रुगिन स्वास्थ्य चौकी पुग्दा जीर्ण स्वास्थ्य चौकी भवन । अनि बाहिर चौरमा सुत्केरी बेथाले छटपटाएकी एक किशोरी पेट मुसार्दे पसिना पुछ्दै थिइन् । प्रेमकलाको स्वास्थ्य चौकीमा आगमन पछि उनकी स्याहारे ( स्वास्थ्य स्वयंसेविका ) कुण्डलादेबी शाहीले भनिन् अब यिनको ज्यान जोगिने भयो ।

हत्तपत्त ती युवतीको पाखुरा समातेर सी. अनमी प्रेमकलाले स्वास्थ्य चौकीको बर्थिंङ रुममा लगिन् । सामान्य चेकजाँच पछि गर्भको बच्चा र आमा दुवैको अवस्था सामान्य भएको बत्ताइन् । केही घण्टा पछि बच्चा पैदा हुन्छ नआत्तिनुस् म तपाईँसँगै हुनेछु, । स्वास्थ्य ईन्जार्ज प्रेमकलाले भनेपछि ती गर्भवती किशोरीले लामो श्वास फेरिन् । छिमेकी जिल्ला मुगुको खत्याड गाउँपालिका एक बिनबाट आएकी शर्मिला शाहीले चार घण्टा पैदल बाटो हिँडी गर्भ जाँच गराएकी थिइन् ।

त्यो उनको चौथो पटक थियो । स्वास्थ्य संस्थामा सुत्केरी भएमा ३८ सय रुपैयाँ पाइन्छ भन्ने गाउँकी महिलालाई थाह छ मल्लले भनेकी थिइन् । गर्भिणी शर्मिलाका श्रीमान् काठमाण्डौंमा तरकारी खेती गर्थे । घरमा बुढा सासू ससुरा छन् । उसै त गाउँमा महिलाको हेरचाह हुँदैन अझ श्रीमान् पनि बाहिर हुँदा महिलाको ज्यान जोखिममा हुन्छ । गर्भवती महिला शर्मिला त दुर्गमकी एक प्रतिनिधि पात्र मात्र हुन् । सबै महिलाको व्यथा यस्तै हो । यो दुर्गमको पिडा हो, उनले भनेकी थिइन् ।


बाजुराको साबिकको रुगिन, बिछ्या, कवाडी अनि छिमेकी जिल्ला मुगुको बिन, ह्याङ्गलु र हुम्लाको जिमाना लगायतका टाढा टाढाबाट रुगिन स्वास्थ्य चौकीमा बिरामी आउने गरेको उनले बत्ताइन् । महिना कम्तीमा १० देखि १५ वटा सुत्केरी बेथाका बिरामी आउँछन् । “रिफर गरौं बाटोमै घटना होला भन्ने डर नगरौं ज्यान जाने खतरा । कयौंपटक जोखिम मोलेर सुत्केरीको ज्यान जोगाएको स्वाास्थ्यचौकी इन्चार्ज मल्ल बताउँछिन् । अहिले कवाडीसम्म कच्ची मोटर बाटो पुग्दा केही राहत भएको उनले बत्ताइन् ।” दुर्गम ठाउँमा डाक्टर त के अहेव पनि बस्न मान्दैनन् ।


कयौंपटक अहेव, पारामेडिसिन नहुँदा उक्त काम पनि आफैले गरेकी छु । बाजुराको सर्वाधिक विकट बिछ्याँमा निरन्तर १५ वर्ष बस्दा एउटा अनमीले सबै काम गर्नु परेको स्वर्गीय मल्लको थियो । सयौं सुत्केरी र हजारौँ बिरामीको उपचार गरियो तर, आजसम्म मेरो कारण कसैको ज्यान नगएकोले खुसी पनि छु, मप्रतिको विश्वासले होला सुरक्षित सुत्केरी गराउन टाढा टाढाबाट गर्भवती महिला आउने गरेको सी.अनमी मल्लको भनाई थियो ।

सुत्केरी लगायत दर्जनौँ महिलाको ज्यान जोगाएको अनुभव रुगिन स्वास्थ्य इन्चार्ज मल्लले सुनाइन् । एसबिए तालिम प्राप्त आफू र बोर्ताकी पूर्णकला भण्डारी बाहेक कोही छैनन् । रातदिन नभनी यिनकै सेवामा छौं उनले भनेको मेरो मानसपटलमा अहिले पनि ताजै छ । दुर्गमकी डाक्टर भनेर चिनिने हिमाली गाउँपालिका वडा नं ४ फैतीकी प्रेमकला मल्लले रुगिन बिछ्याको स्वास्थ्य सेवामै २० वर्ष नोकरी गरेकी थिइन् ।

दुई दशकको जागिरे दौरानमा उनलाई कहिल्यै पनि सुगमको रोजाई भएन । १५ वर्ष त बाजुराको सर्वाधिक विकट साबिकको विच्छ्या स्वास्थ्य चौकीमै बिताइन् । “गाउँमा बिरामी पर्दा घरमै पुगेर स्वास्थ्य उपचार गरेको र स्वास्थ्य चौकीमा अहेव समेत नहुँदा पारामेडिसियनको काम गर्दाको अनुभव पनि छ । मासिकाको सरुवा नहुने अनमी भएपछि गाउँलेले सरुवा हुनै दिएनन् । जन्मथलो र कर्मथलो एउटै मनाएँ, परिस्थितिले विवाह बन्धनमा पनि बाँधिन पाइएन उनले भनेकी थिइन् । ”


मासिकाबाट सरकारी जागिरमा प्रवेश गरेकी प्रेमकला मल्लको २०७७ चैत्र २२ गते नेपाल सरकारको अधिकृत स्तर छैटौँ तह सिअनमी निरीक्षक पदमा पदोन्नति भएको थियो । दुई दशकसम्म निरन्तर दुर्गमका जनताको स्वास्थ्य सेवा गरेकै कारण प्रेमकलालाई जनताले दुर्गमकी डाक्टरको नामले चिन्छन् यो स्वाभाविक हो हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले भने । पछिल्लो समयमा हिमाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुखका रूपमा रहेर बाजुरेली दीन दुःखीको सेवामा तल्निन थिइन् ।


असोज ३० गते छिमेकी जिल्ला हुम्लाको तांजाकोटमा पूर्णिमामा लाग्ने दसैँ मेला भर्न गएकी थिइन्। उनलाई एक्कासि हर्ट अट्याक(हृदयघात) भयो । उपचारको लागि ताँजाकोटबाट एम्बुलेन्सबाट कोल्टी ल्याउने क्रममा मंगलबार बाटोमै मृत्यु भयो प्रमुख प्रशासकीय अधिकृत भण्डारीले भने ।

“अति पृयमिठो बोली ,सुशील स्वभाव कसै प्रतिरिसराग न भयकी म आफैले अध्यापन गरेकी ,हाल हिमाली गा पा स्वास्थ्य इन्चार्ज प्रेमकला मल्ल को असामयिक निधन ले हामी लाई अति पीडा भएको छ।सोका परेका सबै आपन्त र परिवार मा धैर्य हुन तथा मृत आत्माले बैकुन्ठ बास पावस भनी भगवान संग प्रार्थना छ। ”बाकी भन्ने शब्द नै रहेन भएन। राम नाम सत्य। ” प्रेमकलाका प्रातकाली गुरु रूपचन्द्र पाण्डेले सामाजिक सञ्जाल फेसबुक मार्फत उल्लेख गरेका छन् । “सयम ले बिन्ती लाउँदा पनि न मान्ने रैछ। 

निरन्तर ३६ वर्षसम्म सरकारी जागिरको सिलसिलामा दुर्गमका हजारौँ बिरामीको उपचारमा दिन बिताएकी प्रेमकला मल्ल आफैले सुलभ उपचार नपाउँदा यो संसारबाट अल्पआयूमै अस्ताउनु परेको छ ,उनका आफन्त एबं समाजसेवी दलबहादुर मल्ले भने ।

दुर्गमकै सेवामा तल्लीन, दुर्गममै देहः त्यागेकी प्रेमकलाको अन्तिम दाहसंस्कार भने, काठमाडाैं हुने छ उनले भने ।
उनको मृत्युको खबरले यति वेला सामाजिक सञ्जाल र बाजुरेली शोकाकुल भएका छन् । मेरो पनि एक विश्वस्त सूचनाको स्रोत गुमाउनु परेको छ । अस्ताइन् दुर्गमकी डाक्टर प्रेमकला ।