दुई दिनदेखि मन्थली–लुक्ला उडान ठप्प

5.17k
Shares

रामेछाप ।


दुईदिन यता मन्थली–लुक्ला उडान ठप्प भएको छ । मौसम खराव भएका कारण सोमबार यता मन्थली–लुक्ला उडान ठप्प भएको नागरिक उठ्यान प्रधिकरण रामेछापले जनाएको छ । खुम्बु क्षेत्रको खराब मौसमका भएका कारण उडान नहुँदा सगरमाथा क्षेत्रको भ्रमणका लागि आएका पर्यटकहरु मन्थलीमै रोकिएका छन् ।


शनिबारबाट मौसम खुलेपछि सुरु भएको उडान फेरी मौसम बिग्रिएपछि सोमबारबाट रोकिएको नागरिक उड्डयन कार्यालय रामेछाप मन्थलीका उप–प्रबन्धक हिरण्य साहले जानकारी दिए । उनका अनुसार खुम्बु क्षेत्रमा मौसम बिग्रिँदा सोमबारदेखि मन्थली–लुक्ला उडान हुन सकेको छैन ।

मन्थली–काठमाडौँ भने तालिका अनुसार नै उडान भइरहेको उनको भनाइ छ । यसअघि असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षा र त्यसपछि पटक पटक मौसममा आएको खराबीले सगरमाथा क्षेत्र घुम्न आएका पर्यटक प्रभावित भएका छन् । मौसम खराबीकै कारण असोज २३ गतेदेखि तीन दिनसम्म मन्थली–लुक्ला उडान ठप्प भएको थियो ।


मन्थलीबाट सीता, तारा र समिट एयरका जहाजहरूले सगरमाथा क्षेत्रको भ्रमणमा आएका विदेशी पर्यटकलाई लुक्ला पु¥याउने र ल्याउने गरिरहेका छन् । एउटा उडानमार्फत १४ देखि १८ जनासम्म पर्यटक मन्थली विमानस्थलबाट लुक्ला पुग्ने गरेका छन् । बिहानदेखि बेलुकासम्म मौसम खुलेको समयमा एक दिनमा यो रुटमा ६० वटासम्म उडान हुने गरेको नागरिक उड्डयन प्राधिकरण मन्थलीका उप–प्रबन्धक साहले बताए ।