राजनीतिमा युवा सहभागिता नभएन देशको विकास पनि ओझेलमा पर्छ : शंकर पोखरेल


काठमाडौं ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको विकासका लागि बलिया राजनीतिक दल आवश्यक रहेको बताएका छन् ।

मंगलबार नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं ३ दाङको आयोजनामा पालिका कमिटीका नवनिर्वाचित नेताहरूलाई बधाई तथा प्रशिक्षण दिन तुलसीपुरमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले मुलुक निर्माणको लागि तीनवटा कुरा आवश्यक रहेको बताए । ‘मुलुक निर्माणका लागि दूरदर्शी नेतृत्व, बलिया राजनीतिक दल र राजनीतिक स्थायित्व आवश्यक छ, यी चिज दिन सक्यो भने मात्र मुलुक विकासको गतिमा अघि बढ्न सक्दछ’, पोखरेलले भने।


आज जो सबैभन्दा बढी गैरजिम्मेवार छ राजनीतिमा उही नै बढी चर्चामा आउने विडम्बनापूर्ण स्थिति भएको उनले बताए । बैङ्कबाट ऋण लिएर नतिर्ने, सहकारी ठग्नेहरू आज राजनीतिको चर्चामा रहेका पोखरेलको भनाइ छ । ‘जबसम्म अराजकहरू लोकप्रिय हुन्छन् समाजमा, तबसम्म त्यो समाजले प्रगति गर्न सक्दैन’, पोखरेलले भने । सामाजिक सञ्जालमा आज सबै खराब कुरा मात्र देखिने गरेका उनले बताए । सामाजिक सञ्जाल समाजका अराजकहरूले कब्जा गरेका कारण यो स्थिति आएको उनको धारणा छ ।


पोखरेलले युरोप, अमेरिकाको सपना देखेर मात्र नहुने बताउँदै देशलाई त्यस्तै बनाउन बलिया राजनीतिक दल आवश्यक रहेको बताउनुभयो । युरोप, अमेरिका बलिया राजनीतिक दलले बताएका उनले स्पष्ट पारे । प्रचारबाजहरूले देशमा विकास र समृद्धि दिन नसक्ने उनले बताए । लोकप्रियतावादका आधारमा दृष्टिकोण नभएकाहरू नेता बन्दा देश भड्खालोमा पर्ने पोखरेलले बताए ।


निराशाको बिचमा देशको विकास हनु नसक्ने पोखरेलले बताए। विकासको लागि आशा जाग्नै पर्ने र नागरिकमा आशा जगाउनु पर्ने पोखरेलले स्पष्ट पारे । ‘कुनै पनि देशको विकास र समृद्धि निराशामा हुनै सक्दैन’, उनले भने । देशमा केही पनि भएन भन्नेहरूले यो बिचमा भएका विकासका काम हेर्न उनले आग्रह गरे । भएका कुराको समेत चर्चा गर्न नसक्दा अराजकतावादीहरूका हाबी भएको पोखरेलले बताए । ‘हामी भएका कुराको पनि चर्चा गर्न नसक्ने भयौँ’, पोखरेलले भने ।

मुलुक बनाउनको लागि सकारात्मक कुरा जनताको बिचमा लैजानु पर्नेमा उनले जोड दिए । नकारात्मक कुराले मुलुकलाई उँधोगतिमा लैजान पोखरेलको भनाइ छ । कमजोरहरूले शासन गर्दा जनताको अपेक्षा पुरा गर्न नसकिने उनले बताए । त्यसैले मुलुकमा बलिया राजनीतिक दलले शासन गर्नुपर्छ भनेर एमाले र कांग्रेस मिलेर सरकार बनाएको पोखलेले स्पष्ट पारे ।
गठबन्धनले नीतिमा सम्झौता गराउने बताउँदै पोखरेलले नीतिमा सम्झौता गरेपछि विकास र समृद्धिको काम अघि नबढ्ने बताए। त्यसैले आउने चुनाव कांग्रेस र एमालेले एक्ला एक्लै चुनाव लड्ने घोषणा गरेका पोखरेलले बताए । आउने निर्वाचनमा नेकपा एमालेलाई निर्णायक शक्ति बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

पोखरेलले अब सानातिना पार्टीबाट देश नबन्ने बताए । देश बनाउने हो भने सबैलाई एमाले पार्टीमा आबद्ध हुन पोखरेलले आग्रह गर्नुभयो । पोखरेलले नेकपा एमालेलाई अब काम नगर्नेहरूको कमिटी होइन, काम गर्नेहरूको कमिटी बनाउनु पर्ने बताउनुभयो । कमिटी ओगटेर बस्ने परिपाटीलाई अब अन्त्य गर्नुपर्नेमा उनले जोड दिए । एमाले जनताका समस्यासँग जोडिनु पर्ने बताउँदै पोखरेलले एमालेका कमिटीले जनताका समस्यामा केन्द्रित भएर काम गर्नुपर्ने बताए । ‘कमिटीको काम जनताको समस्या समाधान गर्न भूमिका खेल्ने हो’, पोखरेलले भने ।


पोखरेलले सही नीतिले मात्र काम नगर्ने बताउँदै त्यसको सही ढङ्गले प्रयोग हुने पर्ने बताए । वैचारिक, राजनीतिक कामलाई पार्टी कामको महत्त्वपूर्ण विषय बनाएर अघि बढाउनु पर्नेमा उनले जोड दिए । जनीतिमा युवालाई जोड दिनुपर्ने बताउँदै उनले युवाको विदेश पलायन देशको लागि चुनौती भएको बताए। राजनीतिमा युवा सहभागिता भएन भने देशको विकास पनि ओझेलमा पर्ने पोखरेलले स्पष्ट पारे ।