बीपी राजमार्गमा आज साँझदेखि ठूला गाडी पनि चल्ने


काठमाडाैं ।

आज (सोमबार) बेलुकादेखि बीपी राजमार्गमा ठूला गाडीहरूसमेत चल्ने भएका छन् ।

वर्षासँगैको बाढीपहिरोले क्षतिग्रस्त राजमार्गमा नयाँ ट्र्याक खुलाएर आजदेखि ठूला सवारीसाधन चलाउन लागिएको सडक डिभिजन भक्तपुरले जनाएको छ।

राजमार्गमा केही दिनअघिदेखि साना सवारीसाधन चल्न दिइएको थियो । चौकीडाँडा र माम्ती खोला नजिकको डाइभर्सन आज साँझसम्म सुधार भइसक्ने र त्यसपछि सञ्चालन अनुमति प्राप्त गरेका सबै प्रकारका सवारीसाधन सञ्चालन हुन सक्ने डिभिजनले जनाएको छ ।

सडक खुला भए पनि क्षतिग्रस्त राजमार्ग क्षेत्रमा सुख्खा पहिरो झर्ने सम्भावना कायमै रहेको भन्दै डिभिजनले रातिको समयमा भने यो क्षेत्रमा यात्रा नगर्न अनुरोध गरेको छ ।

असोज ११ र १२ गतेको वर्षाले राजमार्ग अवरुद्ध थियो । राजमार्गअन्तर्गत काभ्रेको भकुण्डेबेसीदेखि वर्षेखोला खण्डको ८ किलोमिटर पूर्ण रूपमा बगाएको कार्यालयले जनाएको छ ।​