जब खसी आँसु झार्दै गोठतिर दौडियो

76.33k
Shares

दोलखा ।

दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर– ८ मिलघुुम्तिमा मार हान्न (काट्न) ठिक्क पारेको खसी लम्पसार परेर आँशु झार्न लागेपछि त्यहाँ रहेका सबै मानिसलाई भावुक बनाई दिएको छ ।

मार हान्न ठिक्क पारेको ठाँउबाट खसी आँसु झार्दै गोठतिर दौडिएपछि खसी धनी सपना आचार्यले उक्त खसीलाई अब नकाट्ने र बाँचुन्जेल पाल्ने बताएकी छन् । विजया दशीम २०८१ को महाअष्टमीको दिन शुक्रवार खसी धनी सपना आचार्यले गोठघर छर्पकुुबाट खसीलाई मारहान्न बसोबास रहेको मिलघुुम्तिमा लगेकी थिईन । सांस्कृतिक परम्परा अनुसार खसीलाई मार हान्नु अघि पर्साउनु पर्ने भएकोले उक्त खसीलाई पर्साउन धेरै पटक पानी छ्यापियो तर खसी पर्सेन ।


त्यहाँ उपस्थित केहीले दशैमा नपर्से पनि खसी काट्न हुने सल्लाह दिएपछि एकजनाले खुट्टा र अर्कोले टाउको समाएर मारहान्न खोज्दा खसी लम्पसार परेको खसी धनी सपना आचार्यले बताईन । दुई-तीन पटकनै खसी लम्पसार परेपछि सबैले अब काट्न हुदैन भनेर त्यसलाई छोडिदिएका थिए । त्यसरी मारहान्ने ठाँउबाट उम्किएको खसी आँसु झादै छर्पकुमा रहेको गोठमा पुगेको आचार्यको भनाई छ ।


स्थानीय समाजसेवी सुवास बिक्रम शिवाकोटी आफु मारहान्ने ठाँउमा जानलाग्दा खसी आँशुझार्दै गोठतिर गएको देखेको र आफुले पनि खसी धनिलाई अब त्यसलाई कहिल्यै नकाट्नु भनि सल्लाह दिएको बताउछन् ।

घरमै जन्मिएको उक्त खसीलाई सपना आचार्यको फरक क्षमता भएका जेठाजु रणबहादुर आचार्यले डेढ बर्षदेखी निक्कै माया गरेर पालेका थिए । आफुले पालेको खसी अब कहिल्यै नकाट्ने थाहा पाएपछि रणबहादुर समेत निक्कै खुशी देखिएको समाजसेवी शिवाकोटीले बताए ।
तस्विर– आँशुझार्दै गोठ झरेपछि रणबहादुर आचार्यसँग उक्त खसी ।