ज्वाइँसाबको भरोसा


काठमाडौं ।

लोकप्रिय हास्य अभिनेता जितु नेपालले जिन्दगीमा नसोचेको कुरा धेरै भएको छ। कलाकारितामा लागेर भयंकर होला भन्ने कहिल्यै नसोचेका उनी जिरे खुर्सानीबाट मुन्द्रेका रुपमा चम्किए।त्यसपाछि विज्ञापन र फिल्ममा पनि मज्जाले जमे। फिल्मको हिरो पनि भए।

छक्कापञ्जा सिरीजलगायतका फिल्ममा जमेका उनी यसअघि दुई फिल्ममा हिरोकारूपमा देखिए। अहिले फेरि भोलि बिहीबार अल नेपाल रिलिज हुन लागेको फिल्म ज्वाइँबमा हिरोका रूपमा देखिँदैछन्। सधैं नसोचेको कुरा पाएका जितुले घर ज्वाईंमा हिरो हुनु पनि नसोचेकै विषय थियो।

‘म हिरो हुँला भन्ने जिन्दगीमा कहिल्यै सोचेको थिइनँ। म कमेडी पेसामा छु। तर, मलाई सुहाउने पात्र खडा गरेर कथा लेखिएको भएर नै म यसमा हिरो भएर आएँ। म यसपछि सधैं हिरो भएर खेल्छु भन्ने होइन। आफूलाई फिट हुने चरित्र छ भने सानोठूलो जस्तोसुकै चरित्रमा काम गर्छु,’ जितु भन्छन्, ‘मेरो करियरमा यो फिल्म कोशढुंगा साबित हुन्छ भन्नेमा आशावादी छु। किनभने राम्रो कथावस्तुमा मलाई फिट भएको रोल छ। मैले निर्देशकले भनेअनुसार र कथाको मर्मअनुसार अभिनय गरेको छु। त्यसैले म यो फिल्मबाट उत्साहित पनि छु।’

जितु यसमा ज्वाइँसाब बनेर निती शाहको जोडीका रूपमा देखिँदैछन्। ‘यो फिल्मका लागि मलाई धेरै अघि नै कुरा आएको थियो र पहिले नै स्क्रिप्ट पढेको थिएँ। पहिलोभन्दा दोस्रो स्क्रिप्टमा धेरै परिवर्तन भएको रहेछ। ‘दोस्रो स्क्रिप्ट पढ्दा कथा मन पर्‍यो र खेलेँ।यसमा मेरो चरित्र र कथा रमाइलो छ’ फिल्ममा बेहुला भएर बेहुलीको घर भित्र्याइएको प्रसंग जोड्दै जितु भन्छन्,‘यो मेरो लागि पनि नौलो विषय हो। सामान्यतया दुलही दुलाहाको घरमा भित्रिन्छिन्, तर फिल्ममा ठीक उल्टो छ। यो अहिले चलि आएको फिल्मभन्दा फरक खालको छ। फिल्ममा हाम्रो घर, परिवारमा हुने घटनाक्रमलाई जोडिएको छ। त्यसैले दुःख पीडा भुलेर यो दशैंमा मनोरञ्जन लिनका ज्वाईंसाब सही फिल्म हुन्छ।’

फिल्ममा जितुको जोडी बनेकी निती शाहका अनुसार यसको स्क्रिप्ट सुनेको २० मिनेटमै उनी फिल्ममा काम गर्न उत्साहित भएकी थिइन्। ‘मैले स्क्रिप्ट सुनेको २० मिनेटमै फिल्ममा काम गर्छु भनेँ। मेरो क्यारेक्टर पनि राम्रो लागेकाले काम गर्न तयार भएँ। फिल्ममा अनुबन्धित भएपछि मात्र जितु नेपाल पनि हुनुुहुन्छ भन्ने थाहा पाएँ,’ नायिका शाहले सुनाइन्, ‘फिल्मको कथा मेरै वरपर घुमेकाले पनि यो फिल्म गर्नुपर्छ भन्ने मलाई लाग्यो। मेरो टोनमा अलिकति समस्या छ। त्यसैले प्रष्ट नेपाली बोल्न निकै मिहिनेत गरेकी छु,’ नितिले जितु नेपालको कामबाट प्रभावित भएको पनि बताइन्, ‘जितु दाई धेरै सिनियर आर्टिस्ट हुनुहुन्छ। तर, सेटमा म सिनियर हुँ भन्ने कहिल्यै देखाउनुभएन। बरु एकदमै सहजीकरण गर्नुभयो। ’

फिल्ममा अर्को मुख्य भूमिकामा छन् बुद्धि तामाङ। बुद्धिका अनुसार ज्वाईंसाबमा उनलाई जितु नेपाललाई बुस्ट गर्ने पात्रका रूपमा भेटिनेछ। ‘मेरो जितु दाईलाई बुस्ट गर्ने, सपोर्ट गर्ने क्यारेक्टर छ। उहाँलाई उकास्दै उकास्दै माथि लैजाने चरित्र मेरो छ,’ बुद्धिले सुनाए ‘फिल्म हेरिरहँदा मान्छेले मजा लिन्छन्। यसमा सामाजिक, मन छुने र हसाउने कथा छ।’

कमेडी रियालिटी शो कमेडी च्याम्पियनबाट उदाएका कलाकार हिमेश पन्तले फिल्मले हसाएको हसाइ गर्ने बताए। ‘ज्वाइ“साबको स्क्रिप्ट पढ्दा हासेको हासेकै भएँ। त्यसैले फिल्मले राम्रै गर्ने महसुस भएर यसमा जोडिएँ। यसको जस्तो कथा मैले यसअघि सुनेको थिइनँ,’ उनले भने।

वसन्त निरौलाद्वारा निर्देशित फिल्मा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दीपक आचार्यलगायत कलाकारले अभिनय गरेका छन्। ज्वाइँसाबसँगै भोलि नै छक्का पञ्जा र १२ गाउँ रिलिज हुँदैछन्।