दशैँ उत्सव बनोस्


नेपालीका चाडपर्वहरु क्रमशः आइरहेका छन्। महान् चाडको रुपमा रहेको बडा दशैँ पनि शुरु भएको छ तर जनतामा भने त्यति उत्साह देखिँदैन। हालै गएको बाढी र पहिरोका कारण मुलुक शोकमा डुबेको अवस्थामा सबै नेपालीले बडा दशैँ खुलेर मनाउन सकिरहेका छैनन्।

दैवी विपत्तिका कारण मुलुकका बागमती र कोशी प्रदेशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षतिसँगै मुलुक गम्भीर मोडमा उभिएको बेला आएको बडा दशैँ जनताले खुलेर मनाउन सक्ने अवस्था देखिएन। आम नेपालीले दशैँ हर्षोल्लासपूर्वक मनाउने वातावरण नै सिर्जना हुन नसकेपछि अधिकांश नेपालीमा निराशा छाएको छ। दूर दराजमा पुग्नुपर्ने नेपाली भारी वर्षासँगै आएको बाढीपहिरोले बाटोघाटो बगाएपछि आफ्नो थातथलोमा समेत पुग्न सक्ने अवस्था नहुँदा जुन ठाउँमा बसोबास गरेको हो त्यहीँ नै दशैँ मनाउने तयारीमा रहेका छन्।

संघीय राजधानीमा बसोबास गर्ने नेपालीको संख्या ठूलो छ । हरेक वर्ष राजधानी छोडेर आफ्नो थातथलो जानेको संख्या २० देखि २४ लाख हुने गरेकोमा यसपटक १० लाख मानिस पनि आफ्नो जन्मस्थान फर्कने अवस्था देखिँदैन। अहिलेसम्म ६ लाख मानिसले राजधानी छोडेको तथ्यांक देखिन्छ। दशैँको टीका नजिकिसकेको छ।

बजारमा भीडभाड देखिए पनि राजधानीलगायत मुख्य शहर छोडेर जानेको संख्या न्यून रहेपछि गाउँबस्तीमा दशैँको रौनकता देखिएको छैन । जसको कारण गाउँबस्तीको दशैँ पनि उल्लासमय नहुनेजस्तै देखिन्छ । वर्षमा एकपटक आउने चाडपर्वले आम नेपालीलाई एउटै सूत्रमा बाँध्ने काम गर्ने भएकाले अहिलेको विषम परिस्थितिमा पनि संयमित भएर दशैँ मनाउने वातावरण राज्यको तर्फबाट सिर्जना गरिनुपर्छ । बाढीपहिरोबाट पीडितहरुलाई पनि दशैँ मनाउने वातावरण सिर्जना गर्ने काममा सरकार चुक्नुहुँदैन । जनतामा बढ्दै गएको निराशा चिर्ने काम सरकारबाट तत्कालै हुन जरुरी छ । शोक र भोेकमा डुबेका नेपालीलाई मलहमपट्टी लगाउने काम सरकारको हो । सरकारले यसतर्फ ध्यान दिनुपर्ने देखिन्छ ।

देश–विदेशमा रहेका आम नेपालीले आफू जुन ठाउँमा बसेको भए पनि बडा दशैँलाई हर्षोल्लासपूर्वक मनाएर आफ्नो धर्म–संस्कृति जोगाउने कामबाट पछि हट्नुहुँदैन । नेपालीको मौलिक संस्कृतिको रुपमा रहेको यस पर्वलाई सबैले मिलेर मनाउन सके सुनमा सुगन्ध नै हुने देखिन्छ।

गाउँ छोडेर शहर पसेका र देश छोडेर मुग्लान पसेकाहरु आफ्नो थातथलो फर्कने वातावरण नभए पनि जुन ठाउँमा रहने हो त्यही ठाउँमा सकेसम्म आफन्त तथा साथीभाइ मिलेर यसलाई हर्षोल्लासपूर्वक मनाउने वातावरण मिलाउन सक्ने शक्ति मिलोस् भन्ने दुर्गा भवानीसँग प्रर्थना गरौँ । यसपटकको दशैँले नयाँ उल्लास ल्याउने काम गरोस् भन्ने कामना गर्दछौं । यस अवसरमा हाम्रा शुभचिन्तक, ग्राहक तथा विज्ञापनदातामा समेत बडा दशैँको शुभकामना व्यक्त गर्दछौं।