खोज उद्धार सकेर राहत र पुनःस्थापनमा जुट्यो सरकार

1.03k
Shares

काठमाडौं ।

सरकारका संयन्त्रहरू गत असोज ११ र १२ गते परेको अविरल वर्षासँगै आएको भीषण बाढीपहिरो तथा डुबानमा परेकाहरूको खोज उद्धार सकेर राहत तथा पुनःस्थापनमा जुटेको छ।

विपद्को समयमा प्रभावकारी काम गर्न नसकेको आलोचनापछि सरकारले सबै संयन्त्रहरूलाई त्यसतर्फ निर्देशन गरेका र राजनीतिक दलहरूले समेत पार्टीका कार्यक्रम छाडेर विपद्लाई प्राथमिकतामा राखेपछि खोज, उद्धार र राहतको कामले गति लिएको हो।

केही दिनयता गृहमन्त्री रमेश लेखक आफैं बाढीपीडितका समस्या बुझ्न प्रभावित क्षेत्र पुग्ने र त्यहाँको वास्तविकता बुझेर थप निर्णय लिने अभियानमा जुट्नुभएको छ। आइतबार ललितपुरका प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएका मन्त्री लेखकले सोमबार पनौती नगरपालिका–१२ कलाँती भूमिडाँडास्थित रोशी बजार क्षेत्र र बेथानचोक गाउँपालिका–४ स्थित पाटीखर्क, सलान्दुबगर र चलाल गणेस्थानका प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको थियो।

निरीक्षणका क्रममा मंगलबार सिन्धुलीको खुर्कोट प्रभावित क्षेत्र पुग्नुभएका गृहमन्त्री लेखकले अतिभारी वर्षाका कारण आएको विपद्बाट सबैभन्दा बढी क्षति भएको बीपी राजमार्ग अस्थायी रूपमा सञ्चालनमा ल्याउन सडक विभाग र नेपाली सेनाले काम गरिरहेको भन्दै एक हप्ताभित्रै यातायात सञ्चालनमा ल्याउने बताउनुभएको छ ।

उहाँले स्थानीय बासिन्दासँग त्यहाँ नागरिकको अवस्थाको बारेमा समेत जानकारी लिनुभएको छ । उद्धार, राहत र पछिल्लो समयमा नभएको पुनःस्थापनालगायतको विषयमा मन्त्री लेखकले स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र प्रमुख जिल्ला अधिकारीमार्फत जानकारी लिने गर्नुभएको छ।

साथै स्थानीय, प्रदेश र संघीय सरकारका प्रतिनिधिहरू खोज, उद्धार, खाद्यान्न, स्वास्थ्य सेवा र यातायात सेवालाई प्राथतिकताका साथ विपद्पीडितलाई राहत पुग्नेगरी योजना बनाउन र त्यको कार्यान्वयन गर्न मन्त्री लेखकले निर्देशन दिनुभएको छ । सरकारका प्रधानमन्त्रीले पनि विपद्को बेला बाढी प्रभावितहरूको आवश्यक सहयोगका लागि सरकार प्राथमिकताका साथ लागेको भन्दै यसमा निजी तथा सार्वजनिक क्षेत्रहरूसमेतले हातेमालो गर्नुपर्ने बताउनुभएको छ।

हालसम्म देशभर २ सय ४६ को ज्यान गएको छ भने ७८ जना घाइते भएका छन् । घाइतेहरूको उपचार सरकारले निःशुल्क गर्ने घोषणा गरेर उपचार भइरहेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार सोमबारसम्म १ सय ७८ घाइते भएका र १८ बेपत्ता रहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो । त्यस्तै, कुल १७ हजार १ सय ७४ जनाका सकुशल उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । सबैभन्दा ठूलो जनधनको क्षति वागमती प्रदेशमा भएको र त्यसमा पनि काठमाडौं उपत्यकामा धेरै क्षति भएको छ।

वागमतीमा मात्रै १ सय ३९ को मृत्यु भएको छ । मृतकमध्ये १ सय ७६ आश्रित परिवारलाई ‘विपद्पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड, २०७७’ बमोजिम राहत रकम उपलब्ध गराइएको छ । प्रभावित परिवारलाई नगद सहायता तथा राहत सामग्री वितरण जारी रहेको उहाँले जानकारी दिनुभयो। खोज उद्धारको कार्य करिब अन्तिम चरणमा पुगेको भन्दै अब राहत र पुनःस्थानका सन्दर्भमा सरकारले संवेदशशील रूपमा काम गरिरहेको दाबी गरेको छ।

हाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अहिलेसम्म १ अर्ब ५९ करोड ४१ लाख रुपियाँ जम्मा भएको छ। कोषमा जम्मा भएको रकम गृह मन्त्रालय रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गतको केन्द्रीय विपद् व्यवस्थापन कोषमार्फत जिल्ला विपद् व्यवस्थापन कोषमा पठाएर प्रभावितहरूलाई वितरण गर्ने तयारी भइरहेको सरकारले जानएको छ।

उक्त रकम मृतकका परिवारलाई तत्काल राहत दिन र अस्थायी आवास निर्माणका लागि खर्च गरिन्छ । मृतकका पाँच जनाभन्दा कम परिवार भएकालाई १५ हजार र त्यसभन्दा माथिका परिवारलाई तत्काल २० हजार प्रमुख जिल्ला अधिकारीमार्फत वितरण गर्ने व्यवस्था छ । त्यस्तै, अस्थायी आवास निर्माणका लागि ५० हजार दिइन्छ । भत्किएका घरहरूको पुनःनिर्माणका लागि भने अर्थ मन्त्रालयबाट छुट्टै बजेट विनियोजन हुनुपर्ने प्रावधान छ ।