किशोरावस्थामा पनि व्यायाम गर्नुपर्छ र ?


काठमाडाैं ।

किशोरावस्थामा शरीर छरितो हुन्छ। प्रायः भ्यात्त भुँडी लागेको पनि हुँदैन । हिँड्ने डुल्ने पनि धेरै गरिन्छ । त्यसैले यो उमेरमा व्यायाम नगरे पनि हुन्छ होला भन्ने धेरैको सोचाइ हुन्छ। तर, वास्तवमा किशोरावस्थामा पनि नियमितरूपमा व्यायाम गर्न आवश्यक छ।

किशोरावस्था जीवनको एक महत्वपूर्ण चरण हो। यस चरणमा शारीरिक, मानसिक र भावनात्मक विकास तीव्र गतिमा भइरहेको हुन्छ। यस उमेरमा गरिने व्यायामले शारीरिक, मानसिक र भावनात्मक विकासमा धेरै नै सकारात्मक प्रभाव पार्न सक्छ। त्यसकारणले यो उमेरमा पनि व्यायाम गर्नु लाभदायक हुन्छ।

किशोरावस्थामा शारीरिक विकास तीव्र गतिमा हुन्छ, र यस विकासलाई सही दिशा दिनका लागि व्यायाम महत्वपूर्ण हुन्छ। व्यायाम भनेको शरीरको तौल घटाउनका लागि मात्र हो भनेर सोच्नुहुँदैन। व्यायमले अरू पनि धेरै लाभ दिन्छ। नियमित व्यायामले मांसपेशी बलियो बनाउँछ, हड्डीको घनत्व बढाउँछ र शरीरको तौललाई स्वस्थ तथा ठीक्क राख्न मद्दत गर्छ। व्यायामले मुटु र फोक्सोको स्वास्थ्यमा सुधार ल्याउँछ। यसले गर्दा किशोरकिशोरीमा मुटुरोग, मधुमेहरोग, उच्च कोलेस्ट्रोल र उच्च रक्तचापजस्ता दीर्घकालीन स्वास्थ्य समस्याको जोखिम कम हुन्छ।

यस्तैगरी किशोरावस्थामा गरिने व्यायामले मानसिक स्वास्थ्यमा पनि धेरै फाइदा पु¥याउँछ। शारीरिक गतिविधिले शरीरमा ‘एन्डोरफिन’ नामक रसायन उत्पादन गर्छ। यसले खुसीको भावना दिन्छ र तनाव कम गर्छ। किशोरावस्थामा तनाव, चिन्ता र डिप्रेसनको समस्या हुनसक्छ। नियमित व्यायाम गर्नाले यी समस्यालाई कम गर्न मद्दत गर्छ। साथै, व्यायामले आत्मविश्वास बढाउन पनि मद्दत गर्छ।

व्यायामले शरीरलाई सक्रिय र ऊर्जावान् बनाउँछ। साथै उनीहरूको दैनिक गतिविधिमा ऊर्जा प्रदान गर्छ। यसले उनीहरूलाई थकान महसुस हुन दिँदैन। साथै,व्यायामले मस्तिष्कमा रक्त प्रवाह बढाउँछ। यसले ध्यान केन्द्रित गर्न र सिक्ने क्षमतालाई सुधार गर्न मद्दत गर्छ। साथै,किशोरकिशोरीको अध्ययन र अन्य सिर्जनात्मक क्रियाकलापमा पनि योगदान पु¥याउँछ।
नियमित व्यायाम गर्नाले किशोरावस्थामा भविष्यमा स्वस्थ जीवनशैलीको आधार बनाउँछ। यस समयमा सिकेका स्वस्थ बानीले जीवनभर फाइदा पु¥याउँछ। नियमित व्यायामले जीवनभरि स्वस्थ रहन प्रेरित गर्छ र जीवनशैलीसँग सम्बन्धित रोगको जोखिम कम गर्छ।

समूहमा गरिने व्यायाम, खेलकुद र अन्य शारीरिक क्रियाकलापले किशोरकिशोरीको सामाजिक सीप विकास गर्न मद्दत गर्छ। यसले समूहमा काम गर्ने क्षमता, नेतृत्व कौशल र सहकार्य गर्न प्रेरित गर्छ। किशोरावस्थामा सामाजिक सम्बन्ध निर्माण गर्न र मजबुत बनाउन यस्ता गतिविधि लाभदायक हुन्छन्।

व्यायामले किशोरकिशोरीको भावनात्मक सन्तुलन कायम राख्न मद्दत गर्छ। शारीरिक गतिविधि गर्दा मस्तिष्कमा केही रसायन उत्पन्न हुन्छन्, जसले तनाव कम गर्छ र खुसीको अनुभूति दिन्छ। यसले उनीहरूलाई भावनात्मकरूपमा स्थिर राख्न र उनीहरूको भावनालाई सकारात्मक दिशामा लैजान पनि मद्दत गर्छ।

यसका साथै नियमित व्यायामले किशोरकिशोरीलाई समय व्यवस्थापन र अनुशासनको महत्व सिकाउँछ। व्यायामका लागि समय छुट्याउँदा उनीहरूले अध्ययन, खेल र अन्य गतिविधिका निम्ति सन्तुलितरूपमा समय व्यवस्थापन गर्न सिक्छन्। यसले उनीहरूको दैनिक कार्यतालिकालाई व्यवस्थित र अनुशासित बनाउन मद्दत गर्छ।