केटी हराएको सूचनामा रमाउँदै नाजिर र सृष्टि


काठमाडौं ।

आगामी कातिक ३० गते रिलिज हुने फिल्म मिसिङः केटी हराएको सूचनाको पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा रेलको लिकमा फिल्मका नायक नाजिर हुसेन र नायिका सृष्टि श्रेष्ठलाई हात समाएर हिँडिरहेको अवस्थामा प्रस्तुत गरिएको छ।

कुर्ता सुरुवालमा सजिएकी सृष्टिले शरीरमा ह्याट लगाएर कालो ब्याग बोकेकी छन्। पृष्ठभूमिमा फिल्मका अर्का कलाकार दुरा सञ्जय गुप्ता मोटरसाइकलमा छन्। कालो चस्मा लगाएर काँधमा गाम्छा भिरेका सञ्जयले पान खाइरहेका सञ्जयको पछाडि जनकपुर–जयनगर रुटमा चल्ने रेलल छ। कलाकार र रेलको पृष्ठभूमिमा पहाड र तराईको दृश्य छ। पोस्टरमा नाजिर र सृष्टि एकअर्कामा रमाइरहेको देखिन्छ।

ट्री सिटी पिक्चर्सको ब्यानरमा निर्मित फिल्म ३२ वर्षअघिको डकु–ड्रामा उजेलीका निर्देशक दीपेन्द्र गौचनले निर्माण र निर्देशन गरेका छन्। फिल्ममा नाजिर, सृष्टि र सञ्जयसँगै रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनील कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, ओमप्रकाश कर्णलगायतले अभिनय गरेका छन् भने अमितेष शाह विशेष भूमिकामा छन्।

नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहर दास मुल, अनील राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सहकार्यकारी निर्माता रहेका छन्।

दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन रहेको फिल्ममा शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह र करुण थापाको शब्द रचना, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, राजीव कर्णको कोरियोग्राफी, अकी थेक्पाको कला निर्देशन, अमर महर्जनको छायांकन निर्देशन र निमेष श्रेष्ठको सम्पादन रहेको छ।