मिसेस नेपाल वर्ल्ड प्रतियोगीले देखाए ट्यालेन्ट


काठमाडौं ।

रिवन इन्टरटेनमेन्टले विवाहित नारीहरूको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२४ का प्रतियोगीबीच ट्यालेन्ट राउन्ड आयोजना गरेको छ।

राजधानीमा आयोजित ट्यालेन्ट राउन्डअन्तर्गत अन्तिम स्पर्धाका लागि छानिएका २९ प्रतियोगीले आफ्ना प्रतिभा प्रदर्शन गरेका छन्। ट्यालेन्ट शोमा प्रतियोगितामा सहभागी २९ विवाहित सुन्दरीले भाषण कला, चित्रकला, योगा, ड्रेस डिजाइनिङ, नृत्य, गायन, अभिनयलगायत प्रतिभा प्रदर्शन गरे।

कोरियोग्राफर अश्विनीकान्त झाको कोरियोग्राफीमा हुने प्रतियोगितामा अनिता मण्डल लामा दोङ, उषा किरण अधिकारी, सिर्जना व्यञ्जन्कार, अम्बिका गौतम, सुयशा राउत, डेनिला कार्की, सिमरन कार्की, सारा तामाङ, माया लामा, निर्मला कार्की, रेश्मा घिमिरे, नेहा कर्ण, सृष्टि अर्याल, दीपतारा लुइँटेल, किरण कार्की, बेली मोक्तान, अलिना घिमिरे, प्रगति श्रेष्ठ, ज्योति शर्मा, सुशीला केसी दाहाल, अनु कार्की, कोपिला गौतम, बिनिता ढकाल, नानु सिंह, प्रगति अमात्य, सृजना श्रेष्ठ, संगीता गौतम, दीपा विश्वकर्मा र सहारा तिमल्सिना आचार्य सहभागी छन्।

प्रतियोगितामा गृहिणीदेखि डक्टर, इन्जिनियर, बैंकर, मेनेजर, व्यवसायी, स्वास्थ्यसेवी, फेसन डिजाइनर, नर्स र २–२ पटक क्यान्सर जितेका महिलासम्मले स्पर्धा गर्दैछन्।

ट्यालेन्ट शोमा रंगकर्मी तथा अभिनेता वीरेन्द्र हमाल, अभिनेता तथा अधिवक्ता कृष्ण ढुंगाना, गायिक झुमा लिम्बू, अभिनेत्री सिर्जना अधिकारी, पत्रकार तथा गीतकार डब्बु क्षत्री, नृत्य निर्देशक जोगेन्द्र केसी र संगीतकार दीपक शर्मा निर्णायक रहेका थिए। प्रतियोगिताको आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले ट्यालेन्ट शोमा प्रतियोगीहरूले प्रदर्शन गरेको प्रतिभाका आधारमा मिसेस ट्यालेन्ट छानिने र त्यसको घोषणा आगामी आगामी कातिक १० गते राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने अन्तिम प्रतिस्पर्धाका दिन गरिने बताए।

यस वर्ष पनि मिसेस नेपाल वल्र्ड विजेताले अमेरिकामा हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धा मिसेस वर्ल्डमा सहभागिता जनाउने अवसर प्राप्त गर्ने छिन्। सोही मञ्चमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलको विजेतासमेत चयन गरिने भएको छ। यी उपाधि विजेतालाई सिंगापुरमा हुने प्रतियोगितामा सहभागिताका लागि अवसर मिलाइएको आयोजकले जानकारी गराएका छन्। प्रतियोगिता आइना गजुरेलको सहकोरियोग्राफी, रानी खरेल र सम्राट शाहको संयोजनमा सम्पन्न हुनेछ।