यौन शोषणको आरोपपछि खोसियो मास्टरको राष्ट्रिय पुरस्कार


एजेन्सी ।

नावालिग सहायकमाथि यौन शोषणको आरोप लागेपछि बलिउडका चर्चित कोरियोग्राफरको राष्ट्रिय फिल्म अवार्ड खोसिएको छ। कोरियोग्राफर जानी मास्टरको उत्कृष्ट कोरियोग्राफरको राष्ट्रिय पुरस्कार खोसिएको भारतको मिनिस्ट्री अफ इन्फर्मेसन एन्ड ब्रोडकास्टिङले जनाएको छ।

उनलाई सन् २०२२ मा रिलिज भएको धनुषको फिल्म तिरुचित्रम्बालमको मेघम करुकथा बोलको गीतमा गरेको कोरियोग्राफीका लागि राष्ट्रिय पुरस्कार प्रदान गरिएको थियो।

जानीविरुद्ध उनको सहायक कोरियोग्राफरको रूपमा काम गर्ने एक युवतीले १५ सेप्टेम्बरमा तेलंगानाको साइबराबाद रायदुर्गम प्रहरी स्टेसनमा उजुरी दर्ता गरेकी थिइन्। ती युवतीका अनुसार जानीले उनलाई मुम्बई र हैदराबादमा भएका विभिन्न प्रोजेक्टको सुटिङका क्रममा धम्की दिँदै यौन शोषण गरेका थिए भने हैदराबादस्थित जानीको घरमा पनि उनीमाथि यौन र्दुव्यवहार गरिएको थियो। युवतीले बयानमा जानीसँग आफ्नो भेट सन् २०१७ को एक कार्यक्रममा भएको र दुई वर्षपछि उनलाई सहायक कोरियोग्राफरको काम दिएको र सोही क्रममा आफूमाथि पटकपटक यौन शोषण गर्दैै आएको बताएकी छन्।

ती युवतीले यौन शोषण हुँदा आफ्नो उमेर १६ वर्षमात्र रहेको उजुरीमा उल्लेख गरेपछि सेप्टेम्बर १६ मा मुद्दा दर्ता गरी १९ सेप्टेम्बरमा जानी मास्टरलाई गोवाबाट पक्राउ गरिएको थियो। उनी हाल हैदाराबादको चंचलगुडा सेन्ट्रल जेलमा रहेका छन्। जानीले स्त्री–२ को गीत आई नही र पुष्पाको गीत श्रीवल्लीको पनि कोरियोग्राफ गरेका थिए।

उनले अक्टोबर ८ मा हुने राष्ट्रिय पुरस्कारका लागि धरौटीमा रिहा हुन माग गरेका थिए भने अदालतले उनलाई ६ देखि १० अक्टोबरसम्म धरौटीमा रिहा गर्न आदेश दिएको थियो।