विद्यालयमा बाढीपहिरो : १८ विद्यार्थीको मृत्यु, २५ विद्यालयमा पूर्ण, १६८ मा आंशिक क्षति

1.13k
Shares

साढे २ लाख प्रभावित
–दशैंलगत्तै अस्थायी टहरा निर्माण गरी पढाइ शुरू गर्ने

काठमाडौं ।

दशदिनअघि आएको बाढी र पहिरोले १८ विद्यार्थीको मृत्यु भएको छ। मन्त्रालयले तयार गरेको अन्तिम तथ्यांकअनुसार बाढीमा परी करिब २ लाख ५० हजार विद्यार्थीको पठनपाठन प्रभावित भएको छ। बाढीपहिरोले ४१ स्थानीय तहमा क्षति पुगेको थियो।

मन्त्रालयले जिल्लास्थित शिक्षा समन्वय इकाइ, प्रदेश सरकार र स्थानीय तहले संकलन गरेको तथ्यांकलाई मन्त्रालयले एकीकृत गरी सार्वजनिक गरेको हो। बाढी र पहिरोमा परी २५ विद्यालय पूर्ण रूपमा क्षति भएको छ भने १ सय ६८ वटा विद्यालयमा आंशिक क्षति भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सूचना अधिकारी नारायणप्रसाद पोखरेलले क्षतिको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेको बताउनुभयो । ‘मन्त्रालयले विद्यालयमा दशैंलगत्तै कसरी पठनपाठन चालू गर्ने भन्ने विषयमा सोमबार ७७ वटै शिक्षा समन्वय इकाइ, प्रदेश, संघ र स्थानीय सरकारका अधिकारीबीच भर्चुअल छलफल भएको थियो ।

छलफलमा सबैको साझा धारणा तत्काल अस्थायी व्यवस्थापन गरेर भए पनि पढाइ सञ्चालन गर्न रहेको थियो’ –सूचना अधिकारी पोखरेलले भन्नुभयो । उहाँका अनुसार बैठकमा सबै निकायले आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाएका थिए। दशैं बिदा चलिरहेको छ, बिदापछि पढाइ शुरू गर्ने विषयमा छलफल केन्द्रित थियो।

शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरेर तत्काल पठनपाठन शुरू गर्ने विषयमा छलफल भएको बताउनुभयो। अधिकांश सरोकारवालाले विद्यार्थीको पुस्तक हराएको र घर डुबानमा परेकोले ड्रेसको अवस्थासमेत बिग्रिएको बताएका थिए।

मन्त्रालयको तथ्यांकअनुसार अखिल नेपाल फुटबल संघ एन्फाले फुटबल प्रशिक्षणमा छनौटमा परेका मकवानपुरको इन्द्र सरोवर गाउँपालिकाको सिस्नेरी बजारनजिक वत्सलादेवी माविमा अध्ययनरत ६ जना, ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको गोठभन्याङ माविका एकजना, काभ्रेको बनेपा नगरपालिकाको आशापुरेश्वर आधारभूत विद्यालय एक, तिमाल गाउँपालिकाको कुशेश्वर माविका एक, सर्वोद्वार माविमा अध्ययनरत दुई विद्यार्थीको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

तथ्यांकअनुसार काभ्रेको रोशी गाउँपालिकाको ज्वालादेवी आधारभूत विद्यालयका दुई, पनौती नगरपालिकाको श्रीराम माविका एक, बुटवलको कालिका माविको दुई, दोलखा भीमेश्वर नगरपालिकाको अल्पाइन माविका एक, भक्तपुर सूर्यविनायक नगरपालिकाको ज्योति माविका एक जना विद्यार्थीको बाढी र पहिरोमा परेर ज्यान गुमाएका छन्।

मन्त्रालयका अनुसार ललितपुरको ज्ञानज्योति आवि, गोदावरीको जनविकास मावि, बुद्ध मावि बाडेगाउँ, गणेश आधारभूत विद्यालय, हिमाली आधारभूत विद्यालय, गोदावरी आवासीय, नागदह आधारभूत विद्यालयको भवनमा क्षति भएको छ । त्यस्तै, काभ्रेपलान्चोकको नवज्योति आधारभूत, कालिका देवी, सिमभञ्ज्याङ, पञ्चकन्या मावि, भुमेस्थान मावि, फुल्चोकी, बाल कल्याण, ग्रामोदय आवि, भालेश्वर माविको भवनमा क्षति पुगेको मन्त्रालयले जनाएको छ। त्यस्तै, काभ्रेको कौशिक वैदिक गुरुकूल, कालीदेवी आविको एक–एक भवनमा पूर्ण क्षति भएको छ।

बाढीले सुर्खेतको भगवती माविको दुई, चितवनको मालपुर माविको एक, तनहुँको कालिका देवी आधारभूत, चन्द्रज्योति माविको एउटा भवनमा क्षति भएको छ । मन्त्रालयका अनुसार आठ कोठे भवन दुई वटामा पूर्ण क्षति भएको छ । यसमध्ये पहिरोले पुरिएको १३ वटा रहेको छ । बाढी पहिरोमा परेकामध्ये ५० जना शिक्षक र विद्यार्थीको उद्धार भएको सूचना अधिकारी पोखरेलले बताउनुभयो ।

शिक्षा विकास तथा मानव स्रोत केन्द्रका महानिर्देशक दीपक शर्माले पहिलो प्राथमिकता ध्वस्त भएका र बाढी र पहिरोको कारण क्षति पुगेका विद्यालयमा तत्काल टीएलसी निर्माण गरी पठन पाठन चालू गराउने रहेको छ। उहाँले सोही विषयमा बाढीपहिरो प्रभावित सबै जिल्लाको तथ्यांक संकलन शुरू भइरहेको बताउनुभयो। उहाँले भन्नुभयो–‘सोमबारको बैठकमा धेरै निर्णय भएका छन् त्यसलाई कार्यान्वयन गर्न सबै निकाय लाग्नुपर्ने अवस्था छ।’

अधिकांशमा पानी पसेर र कक्षाकोठा हिलाम्य भएर कक्षा सञ्चालन गर्न नसकेको हो । सबैभन्दा बढी काभ्रे र ललितपुर जिल्लाका विद्यालयमा बढी क्षति पुगेको छ । क्षतिको अवस्था अध्ययन गरी पुनर्निर्माण मन्त्रालयअन्तर्गत सीएलपीआईयूले गर्नेछ।