काठमाडौँ।
नोबेल पुरस्कार समितिले यो वर्ष चिकित्साशास्त्रतर्फको पुरस्कार अमेरिकी वैज्ञानिकद्वय भिक्टर एम्ब्रोस र ग्यारी रभ्कनलाई संयुक्त रूपमा दिने घोषणा गरेको छ।
उनीहरूलाई ‘माइक्रोआरएनए’ (microRNA)को आविष्कार र आनुवंशिक प्रणालीको नियमनमा त्यसको भूमिकाका लागि पुरस्कृत गर्ने निर्णय गरिएको नोबेल समितिले जनाएको छ।
विजेताले संयुक्त रूपमा १.१ करोड स्वीडिश क्रोनर (८.१० लाख पाउन्ड) नगद पुरस्कार र पदक पाउने छन्।
अहिलेसम्म ११४ जनाले चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार पाएका छन्।
एम्ब्रोस र रभ्कनले एक प्रजातिको सानो जुकामा आफ्नो अनुसन्धान गरेका थिए।
माइक्रोआरएनए जीनहरू बहुकोषीय जीवमा ५० करोड वर्षदेखि विकसित र विस्तारित हुँदै आएका छन्।
मानवजातिमा विभिन्न माइक्रोआरएनएका लागि १,००० वटाभन्दा बढी जीन भएको पत्ता लागिसकेको नोबेल समितिले जनाएको छ।
यस वर्षका पुरस्कार विजेताहरूले पत्ता लगाएअनुसार माइक्रोआरएनएले गर्ने जीन नियमन सबै बहुकोषीय जीवमा हुन्छ। आनुवंशिक सूचना डीएनएबाट ‘मेसिन्जर आरएनए’ (एमआरएनए)मा ‘ट्र्यान्स्क्रिप्शन’ नामक प्रक्रियामार्फत् प्रसारित हुन्छ।
त्यसपछि त्यस्तो सूचना प्रोटीन उत्पादनका लागि कोषभित्रको प्रणालीमा पुग्छ। डीनएनएमा सङ्गृहीत आनुवंशिक निर्देशनबमोजिम प्रोटीनको निर्माण हुने गरी त्यहाँ एमआरएनएको ‘ट्र्यान्स्लेशन’ हुन्छ।
बीसौँ शताब्दीको मध्यदेखि ती प्रक्रियाले कसरी काम गर्छन् भनेर अनुसन्धान हुँदै आएको छ।
माइक्रो आरएनएको महत्त्व के हो ?
एम्ब्रोस र रुभ्कनले पहिलो पटक माइक्रोआरएनएले गर्ने ‘जीन रेग्युलेशन’ पत्ता लगाएका हुन्।
जटिल संरचना भएका जीवहरूको उद्विकास यही विधिका कारण सम्भव भएको ठानिन्छ।
मानिसको प्रत्येक कोषमा डीनएनएभित्र आनुवंशिक सूचना हुन्छ। हड्डीका कोष, स्नायुकोष, चर्मकोष, सेतो रक्तकोष, मुटुको कोष र अन्य विभिन्न कोषले त्यस्तो सङ्केत अतिविशिष्ट किसिमले प्रयोग गर्छन्। अहिले पुरस्कृत वैज्ञानिकहरूको अनुसन्धानले त्यो कसरी हुन्छ भनेर व्याख्या गरेको छ।
वंशाणुशास्त्रमा भएका अध्ययनहरूले माइक्रोआरएनए नहुँदा कोष र तन्तुको विकास सामान्य रूपमा हुन नसक्ने देखाएका छन्। माइक्रोआरएनएले गर्ने नियमन मानिसमा असामान्य हुँदा क्यान्सर र जीनमा ‘म्यूटेशन’ (उत्परिवर्तन) हुन सक्ने देखिएको छ।
त्यसबाट जन्मजात श्रवणशक्ति गुम्ने तथा आँखा र हड्डीसम्बन्धी समस्याहरू हुन सक्छन्।
-बीबीसी
प्रतिक्रिया